भर्खरै :

शासक दलका नेताहरूले आत्मसमर्पण गर्दा

शासक दलका नेताहरूले आत्मसमर्पण गर्दा

एमालेका अध्यक्ष केपी ओलीले एमाले सम्पर्क विशेष सङ्गठन कमिटीद्वारा असोज २५ गते आयोजित मिसन पार्टी जागरण तथा अगुवा कार्यकर्ता भेलामा भने, “बहादुरी कमाएका नेपालीले घर–सम्पत्ति जलाउनेलाई साथ दिए । नेपाली जाति यति घटिया ढङ्गले प्रस्तुत हुन्छ भनेर मैले कल्पना गर्न सकेको थिइनँ । नेपाली जनतामा कान छाम्ने होइन, कान छैन भनेर कुद्ने चलन रहेछ, देखियो । स्टन्टबाजी पनि बुझ्दैनन्, नेपाली जनता !” आदि ।
बेलायती साम्राज्यवादको दलालजस्तै भएको जहानियाँ राणा शासनविरुद्ध जीवन बलिदान दिने शहीदहरूको प्रतिमामा फूलमाला चढाएर सिंहदरबारको कार्यकक्षमा तीनपटक कार्यभार सम्हालेका ओलीलाई गतवर्ष भदौ २४ गते अपराह्न १ः३० बजे सेनालाई राजीनामा बुझाएर १२ दिन बेपत्ता हुनु हुँदैन भन्ने अडान कसरी भएन ? तीन दिनपछि भदौ २६ गते राष्ट्रपति र सेनापतिलाई संविधानविपरीत पूर्वप्रधानन्यायाधीशलाई अन्तरिम सरकारको नेतृत्व दिने गरी सिफारिस दिन हुँदैन भन्ने अडान ओलीमा कसरी भएन ?
ओलीले जनतालाई ‘घर सम्पत्ति जलाउनेलाई साथ दिने’, ‘घटिया’, ‘कान छैन भनेर कुद्ने’, ‘स्टन्टबाजी नबुझ्ने’ भनी असन्तुष्टि पोख्नु आफ्नो नेतृत्व असक्षमता देखाउनु हो । ओलीको एमालेले धेरै अगाडि नै आठलाख युवा सदस्य भएको दाबी गरेको थियो । प्रतिनिधिसभाको निर्वाचनमा एमालेले २५–२६ लाख मतसमेत पु¥याएको थियो । ‘मनमोहन मजदुर भवन’ निर्माण गर्न एमालेले देशभरि चन्दा उठाएको थियो । गतवर्ष भदौ २३ र २४ गतेको विध्वंस हेर्दा ओलीले एमालेका लाखौँ सङ्ख्यामा भएका कार्यकर्ता र समर्थकहरूलाई ‘घटिया नहुनू’, ‘कान छैन भनी नकुद्नू, ‘स्टन्टबाजी बुझ्नू’ भनी सिकाएको देखिएन । सरकारी निकाय आफ्नो मातहत राख्न नसकेको कारण घर सम्पत्ति जलाउनेले मौका पाएको पनि के ओलीको असक्षमता होइन ?
गतवर्ष भदौ २४ गते बिहान ओलीले प्रधानमन्त्री पदबाट राजीनामा नदिने अडान राखेका थिए । देशभर आगजनीसँगै आफू बसेको सरकारी निवास बालुवाटार समेतका भवन जलाइएपछि अपराह्न १ः३० बजे सेनालाई राजीनामा बुझाएर ओली १२ दिन बेपत्ता किन भए ? भदौ २६ गते ओलीले राष्ट्रपति र सेनापतिलाई सैनिक व्यारेकबाटै नयाँ प्रधानमन्त्री नियुक्ति गर्न सहमति किन दिए ? ओलीका यी सबै गतिविधि ‘घटिया’, ‘कान छैन भनी कुद्ने’, ‘स्टन्टबाजी नबुझ्ने’ नभए के हो ? के ओलीका कार्यकर्ताहरू नै घर सम्पत्ति जलाउन पुगेको होइन ?
वि.सं १९९७ मा जहानियाँ राणा शासनले गंगालाल, धर्मभक्त, शुक्रराज शास्त्री र दशरथ चन्दलगायत अमर शहीदहरूलाई माफी मागे ज्यान सजाय नदिने बताएका थिए । तर, अमर शहीदहरू जहानियाँ राणा शासनसँग झुकेनन्, माफी मागेनन् । एथेन्सका दार्शनिक सोक्रेटिज (सुकरात) लाई आजभन्दा २४२४ वर्षअघि सरकारसँग प्रश्न गर्ने, युवाहरूलाई सङ्गठित गर्ने भनी तत्कालीन एथेन्स सरकारले आरोप लगाउँदै हेमलक विष पिलाएर हत्या ग¥यो । यसअघि सुकरातलाई भाग्ने सुझाव पनि दिइयो तर उनले आफू नभाग्ने बरु आफूले स्वीकारेको दर्शनप्रति बफादार रहने अडान लिए र हेमलक विष पिउन उनी तयार भए ।
गतवर्ष भदौ २३ गते प्रधानमन्त्री ओली जेनजी भनिएकाहरूको प्रदर्शनमा २–४ सयमात्र आउने भनी ढुक्क बसे । सो दिन ओलीका गृहमन्त्री नेकाका रमेश लेखकसमेत भदौ २३ गते गृहसचिवसहित सिंहदरबारमा राज्य व्यवस्था समितिको बैठकमा पुगे । त्यसबेला सङ्घीय संसद् भवन तोडफोड र गोली चल्न सुरु भइसकेको थियो । ओलीले सेना, प्रहरी, सशस्त्र, गुप्तचर, निजामतिमार्फत ठीक ठीक सूचना कसरी पाएनन् ? के ओलीले ३–३ पटक प्रम पद सम्हालेको अपरिपक्व सावित भयो ? अपरिपक्व भएर ओली ३–३ पटक प्रम किन बने ? ओलीलाई पटक पटक प्रम बन्न पठाउने सिङ्गो एमाले यसको दोषी किन होइन ? गृहमन्त्रीको राजीनामा लगत्तै ओलीले अर्को गृहमन्त्री नियुक्ति गरी स्थिति सम्हाल्न दिनुपर्नेमा किन दिएनन् ?
जेनजी प्रदर्शनमा घुसपैठ भएको तत्कालीन प्रम ओलीलाई कसरी थाहा भएन ? टीओबी, बारबरा, अमेरिकन युथ काउन्सिल, हामी नेपालीलगायतको जेनजी प्रदर्शनमा घुसपैठ कसरी थाहा भएन ?जेनजी प्रदर्शनमा मादक पदार्थ खाएका, गेरु वस्त्रधारी, त्रिशुलमा नेपाली झन्डा बेरेका कसरी घुसे ? यी सबै विषयको सूचना तत्कालीन प्रम ओलीलाई कसरी भएन ? कसको विश्वासमा ओली प्रम बन्न गएका हुन् ? ती विश्वासघातीहरू कहाँ गए ?
कार्की आयोगको प्रतिवेदनमा उल्लेख भएअनुसार भदौ २४ गते बिहान सुधन जङ्गीअड्डा भेटघाटमा गएको तत्कालीन ओलीलाई कसरी थाहा भएन ? भदौ २३ र २४ गतेको उपद्रोलाई सूक्ष्म अध्ययन गर्दा बहुदलीय व्यवस्था पुनःस्थापनायता एमालेले राष्ट्रिय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूमा आफ्ना लाखौँलाख कार्यकर्तालाई जागीर खुवाएको नै गलत साबित भयो । सरकारको समानान्तर विदेशी बजेट खर्च गर्ने आईएनजीओ र एनजीओलाई नियन्त्रण नगर्ने ओली कसरी दोषी होइनन् ?
नेकाका राष्ट्रपति रामचन्द्र पौडेलले तत्कालीन प्रम ओलीको राजीनामा हस्ताक्षर रुजु नै नगरी स्वीकृत गरेको र संविधानविपरीत पूर्वप्रधानन्यायाधीशलाई अन्तरिम सरकारको प्रममा नियुक्ति गरेको संविधानको उलङ्घन नै हो । राष्ट्रपति पौडेलले बडो जुक्तिले संविधान पालना गरेको असत्य सावित भयो । किनभने, संविधानमा पूर्वप्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउन नहुने स्पष्ट प्रावधान छ । के राष्ट्रपति पौडेल सेनासँग रोएर पदमा टाँसिरहेका हुन् ?
भदौ २६ गते राति ११ः३० बजे कफ्र्युको समयमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले अस्कल कलेजअगाडि कोसँग भेटेर अन्तरिम सरकारको प्रधानमन्त्री हुने सुनिश्चित गरे ? यो अझै सार्वजनिक भएको छैन, हुनु आवश्यक छ ।
चीनको अभिन्न अङ्ग तिब्बत विखण्डन गर्न संरा अमेरिकी सहयोगमा भारत आश्रयमा बसेका दलाई लामाले अन्तरिम सरकारका प्रधानमन्त्री कार्कीलाई किन बधाई पठाए ? रास्वपाको सरकार गठनलगत्तै काठमाडौँको एउटा विद्यालयमा युरोपका केही राजदूतहरूसमेतको उपस्थितिमा दलाई लामाको ९१ औँ जन्मदिवस मनाउने काम कसरी भयो ? रास्वपा सरकारले तिब्बत टुक्र्याउन चाहने ३९ देशका प्रतिनिधिहरूलाई काठमाडौँमा अन्तर्राष्ट्रिय सम्मेलन गराउने सहमति किन दियो ? यी प्रश्नहरूको जवाफ रास्वपाले किन दिएन ? के चीनले रास्वपा सरकारलाई ‘टाढाको नातेदारभन्दा नजिकको छिमेकी असल हुने’ बताएपछि मात्र तिब्बत टुक्राउने अन्तर्राष्ट्रिय सम्मेलन स्थगित भएको हो ? के रास्वपा सरकार नेपाललाई युक्रेनको जस्तो स्थितिमा पु¥याउन चाहन्छ ? यी प्रश्नहरूको जवाफ पनि नेपाली जनताले खोज्नु जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *