सन्दर्भ : क्रिस हानी जन्म दिवस (जून २८) – अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी – ४
- असार १५, २०८३
– दानबहादुर कपाली
नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल भावनामा अघि बढ्ने नेताहरू हुन् । उनीहरू आफूहरूले फुक्नेबित्तिकै सबथोक हुन्छन् भन्ने ठान्छन् । उनीहरूले फुकेको आधारमा नेपालमा सबथोक भइसक्नुपर्ने थियो । यहाँ भ्रष्टाचार अन्त्य हुनुपर्ने थियो । घर–घरमा ग्यास पुग्नुपर्ने थियो । गाउँ–गाउँमा विकासको मुहान फुट्नुपर्ने थियो । कुनै पनि नेपाली भोक, रोग र शोकले मर्नुपर्दैनथ्यो । सबै नेपालीले पढ्ने अवसरमात्र होइन दश जोड दुईसम्म निःशुल्क शिक्षा भइसक्नुपर्ने थियो । तर, प्रम ओली र पार्टी अध्यक्ष दाहालले बोलेजस्तै कुनै भएनन् । फुकेपछि सबथोक हुने उनीहरूको सोचाइ नै गलत रह्यो ।
आइतबार राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक बस्यो । बैठकमा प्रम केपी ओलीले भन्नुभयो, “हाम्रो काम अत्यन्तै ढिलासुस्ती भयो । पुँजीगत खर्च अत्यन्त ढिलो भएको छ । वैदेशिक लगानीका आयोजनाहरू तीव्रगतिले अघि बढ्न सकेनन् ।” कुनै कार्यक्रमको उद्घाटन या शिलान्यास गर्नेबित्तिकै अभियानको युग सुरु भएको ठान्ने ओलीको बोलीले आफैँलाई धिक्कारिरहेको छ । उनको अभिव्यक्तिले विकास प्रक्रिया अघि नबढेको प्रस्ट भयो । पुँजीगत खर्च पनि सन्तोषजनक भएन । वैदेशिक योजनाको लगानी पनि चित्तबुझ्दो नभएको उनैले स्वीकारे ।
काम गर्न र गराउन भन्नुपर्छ, घच्घच्याउनुपर्छ, मार्ग निर्देश गर्नुपर्छ । तर, बोल्नेबित्तिकै कुनै काम हुन्छ भन्ने होइन । बोल्नेमा प्रम ओली र अध्यक्ष दाहाल कमजोर छैनन् । उनीहरू दुवै नेता शङ्कामा लङ्का पनि उडाउँछन् । कहिले भावनामा डुब्छन् त कहिले आवेगमा पारो चढाउँछन् । धर्ती फाट्ने कुरा गरेर जनतालाई कहिले जुरुक्क उचाल्ने र कहिले थचार्न पछि नपर्ने ती नेताहरूमा दाहाल बरोबर शिर निहु¥याउँछन्, आत्मग्लानीको अनुभव गर्छन् र प्रायश्चित गर्छन् । नेता दाहालले झैँ प्रायश्चित नगर्ने प्रम ओली भने गल्ती गरे पनि, गल्ती बोले पनि त्यति प्रायश्चित गर्दैनन् । आफ्नो शिर ठाडै पारेर गल्ती ढाकछोप गर्छन् । यसरी नै यी दुई अध्यक्षको जीवन कटिरहेको छ ।
विकासको गति निर्देशनले मात्र अघि बढ्दैन । विकास अघि बढाउन विकासको जिम्मा लिएका कर्मचारीदेखि मन्त्री र प्राविधिकहरू इमानदार हुनुपर्छ । देश र जनताप्रति जवाफदेही हुनुपर्छ । दलगत र व्यक्तिगत स्वार्थ छोडेर देश र जनताको सेवा गर्ने भावना हुनुपर्छ । कुराभन्दा काम बढी गर्नुपर्छ । निःस्वार्थी र दूरदर्शी हुनुपर्छ । देशभक्त हुनुपर्छ । पदको दुरूपयोग गरेर अकुत सम्पति कमाउने लोभ छोड्नुपर्छ । हरेकले पदअनुसारको जिम्मेवारी पूरा गर्नुपर्छ । योजनाको काम ठीक समयमा सही तरिकाले गर्नुपर्छ । विकास देखाएर अकुत सम्पति कमाउनेहरूको सम्पति छानबिन गर्नुपर्छ । छानबिनको आधारमा दोषी ठहरिएका व्यक्तिहरूमाथि कारबाही हुनुपर्छ । अनिमात्र देशको विकासमा टेवा पुग्छ र काम फत्ते हुन्छ ।
Leave a Reply