भर्खरै :

के बोलिभियामा प्रजातन्त्र पुनर्बहाली हुनसक्ला ?

 प्रकाश
दक्षिण अमेरिकी देश बोलिभियामा गत नोभेम्बर १० तारिखका दिन जननिर्वाचित राष्ट्रपति ते मोरालेस आयोमालाई जबरजस्ती राजीनामा गर्न लगाएपछि दक्षिणपन्थीहरूको सत्ता विप्लवबाट आएको सरकारले शासन गरिरहेको छ । सङ्क्रमणकालीन सरकारका रूपमा आएको दक्षिणपन्थी नेतृ जियानिन एनेजको नेतृत्वमा बनेको सरकार भने देशको अस्थिरता लम्ब्याउँदै आफ्नो कार्यकाल बढाउने खेलमा लागेको देखिएको छ । तीन महिनाभित्र फेब्रुअरीमै नयाँ राष्ट्रपतीय निर्वाचन गराउनुपर्ने सरकारले सिनेटले निर्वाचनसम्बन्धी कानुन संशोधन गरेको मितिलाई आधार मानेर तीन महिनापछि सारेर आउँदो मे ३ सम्म निर्वाचन सा¥यो ।

त्यसको कारण निर्वाचनमा पुनः नेता ते मोरालेसको पार्टी समाजवादउन्मुख आन्दोलन पार्टी–मासले निर्वाचन जित्ला भन्ने डर हो । निर्वाचनका लागि त्यहाँका जनताको मुख्य पार्टी मासले उम्मेदवार घोषणा गरिसकेको छ । गत डिसेम्बरको अन्तिम साता अर्जेन्टिनाको राजधानी ब्युनसआयर्समा भएको पार्टीको राष्ट्रिय सम्मेलनले पार्टी नेता एवं पूर्व अर्थमन्त्री लुइस आर्सेलाई राष्ट्रपति उम्मेवार र पूर्व विदेशमन्त्री डेविड चोकेह्वान्कालाई उपराष्ट्रपति उम्मेदवार बनाउने निर्णय गरेको थियो । तर, सत्ता विप्लव गरेका दक्षिणपन्थीहरूले साझा उम्मेदवार तय गर्न सकेका छैनन् ।

वर्तमान सङ्क्रमणकालीन राष्ट्रपति एनेज आफैँ राष्ट्रपति उम्मेदवार बन्ने तीव्र आकाङ्क्षा देखाइरहेकी छिन् तर निकै कम प्रतिशत मात्र मत प्राप्त गरेको डेमोक्राटस पार्टीकी नेतृ एनेजको आकाङ्क्षालाई सत्ता विप्लवमा मुख्य भूमिका निर्वाह गरेका पूर्वराष्ट्रपति कार्लोस मेसा र सान्ताक्रुज युथ लिगका नेता लुइस फर्नाण्डो कामाचोले ‘एनेजको महत्वाकाङ्क्षा’ भनी अस्वीकार गरेका छन् ।

दक्षिणपन्थी राजनीतिक शक्तिहरूबीच साझा उम्मेदवार तय हुन नसकेको अवस्थाले पनि वर्तमान सरकार राजनीतिक अस्थिरता र संवैधानिक सङ्कट ल्याएर शासन लम्ब्याउने खेलमा लागेको धेरैको विश्लेषण छ । सत्ताविप्लवबाट आएको सरकार हुनाले सङ्क्रमणकालीन राष्ट्रपतिलाई धेरै ल्याटिन अमेरिकी देशहरू र युरोपेली देशहरूले मान्यता दिएका छैनन् र खुला हृदयले स्वागत गरेका छैनन् । त्यसैको छटपटाहटमा एनेज सरकारले क्युवा, मेक्सिको, भेनेजुयला र अर्जेन्टिनासित कूटनीतिक सम्बन्ध तोडेको छ भने पूर्वराष्ट्रपति मोरालेसले प्यालेस्टिनी जनताको नरसंहारविरुद्ध सम्बन्ध तोडेको देश इजरायलसित कूटनीतिक सम्बन्ध पुनःस्थापना गरेको छ । सरकारको घरेलु राजनीतिको छाया विदेश नीति र सम्बन्धमा पर्ने तथ्य बोलिभियाको त्यस घटनाले पनि पुष्टि गरेको छ ।
बोलिभियाको वर्तमान सरकारले फेब्रुअरी २ का दिन पूर्वराष्ट्रपति ते मोरालेसका कानुनी प्रतिनिधि अधिवक्ता प्याट्रिसिया हार्मोसालाई पक्राउ ग¥यो र सार्वजनिक सुरक्षा ऐनअन्तर्गत ६ महिना कैद गर्ने निर्णय ग¥यो । पक्राउको बेला अधिवक्ता हार्मोसा राजधानी लापाजमा बसेर मे ३ मा नै हुने सिनेटको निर्वाचनमा पूर्वराष्ट्रपति मोरालेसको उम्मेदवारीका निम्ति कागजात तयार गर्दै थिइन् ।

कानुन व्यवसायीमाथि समेत सार्वजनिक सुरक्षा ऐनको प्रयोग गरी थुनामा राख्ने सरकारको निर्णयले बोलिभियामा विधिको शासनको सुनिश्चितता र कोही पनि सरकारको कोपभाजनबाट सुरक्षित छैन भन्ने सन्देश दिएको छ । त्यसो त देशमा शान्ति र ठूलो गृहयुद्धको अवस्थालाई टार्न पदत्याग गरेका बोलिभियाका पहिलो आदिवासी राष्ट्रपति मोरालेस आयोमालाई पक्राउ गरेर झूटा मुद्दामा जेल राख्ने योजना सत्ता विप्लव गरेका दक्षिणपन्थीहरूको थियो ।

त्यसैले राष्ट्रपति मोरालेसले पहिल्यै मेक्सिकोमा राजनीतिक शरण लिनुभयो र पछि बोलिभियाको छिमेकी देश अर्जेन्टिनामा वामपन्थी सरकार आएपछि अर्जेन्टिनामा शरण लिएर त्यहीबाट राजनीति सञ्चालन गरिरहनुभएको छ । मोरालेसको स्वतन्त्रता कुण्ठित गर्न बोलिभियाका अल्पमतमा रहेका दक्षिणपन्थीहरूमात्र नभई संरा अमेरिकी प्रशासनसमेत लागेको छ ।

संरा अमेरिकाको सीआईएभित्रको लागूऔषध नियन्त्रण ब्युरोले झूटो सिर्जित प्रमाणका आधारमा मोरालेस र उनका सहकर्मी पूर्वउपराष्ट्रपति अल्भारो लिनेरा गार्सियाविरुद्ध फाइल तयार गरी एक सङ्घीय अमेरिकी अदालतमा पेश गरी उहाँहरूविरुद्ध पक्राउ पुर्जीसमेत निकालिसकेको समाचार सार्वजनिक भएकै हो । संरा अमेरिकाले विगतमा पनि क्यारिबियाली र दक्षिण अमेरिकी देशका कैयौँ संरा अमेरिकाविरोधी नेताहरूलाई संरा अमेरिकाको सङ्घीय आगूऔषध तस्करीविरुद्धको कानुनको आधारमा पक्राउ गरी (अपहरण गरी) बेपत्ता पारेको थियो ।

त्यसको एउटा उदाहरण सन् १९८९ मा अमेरिकी कोपभाजनको शिकार बनेका पनामाका राष्ट्रपति म्यानुयल नोरियगालाई १९९२ मा एक अमेरिकी अदालतले आगूऔषध तस्करीमा दोषी भएको भन्दै ४० वर्ष कैदको सजाय गरिएको थियो । अहिले नोरियगाको अवस्था कहाँ के कस्तो छ केही पनि सार्वजनिक गरिएको छैन ।
मोरालेसविरुद्ध मात्र होइन दक्षिणपन्थी सङ्क्रमणकालीन सिङ्गो मास पार्टीविरुद्ध नै केन्द्रित भएको देखिन्छ । भर्खरै फेब्रुअरी ७, २०२० का दिन मास पार्टीबाट सांसद निर्वाचित गुस्ताभो तोरिक्कोलाई राजधानी लापाजबाट पक्राउ गरेको छ । एनेजको शासनले तोरिक्कोमाथि पृथकतावादी र आतङ्कवादी गतिविधि गरेको आरोप लगाएको छ । दक्षिणपन्थी सडक हुलदङ्गा र श्वेत आतङ्कको समयमा सांसद तोरिक्कोले जनतालाई सङ्गठित गरेर हुलदङ्गाको प्रतिरोधको नेतृत्व गरेका थिए । सरकारी वकिलसमक्ष बयान दिंदै सांसद तोरिक्कोले आफूसित पृथकतावादको कुनै भावना नभएको र जनसमुदायलाई हिंसाबाट बचाउन सामुदायिक प्रतिरोधका क्रियाकलापबाहेक कुनैखाले आतङ्कवादी क्रियाकलाप नगरेको बताए । तोरिक्कोले आफू समाजवादी कार्यकर्ता भएको र समाजवादी हुनु नै अपराध हो भने पनि आफू जीवनपर्यन्त समाजवादी रहने पनि बताए ।
केही हप्ताअगाडि मात्र पूर्वअर्थमन्त्री तथा मास पार्टीको तर्फबाट आगामी निर्वाचनमा राष्ट्रपतीय उम्मेदवार लुइस आर्सेलाई पनि अर्जेन्टिनाबाट बोलिभिया छिर्नेबित्तिकै पक्राउ गर्न खोजिएको थियो । हजारौँ समर्थकहरूबाट स्वागत गरिएका आर्सेले आफू देश छोडेर कतै नजाने र महान्यायाधिवक्ता कार्यालयले बोलाएकै समयमा उपस्थित हुने भन्दै राहदानीसमेत प्रहरीलाई बुझाएपछि पक्राउ गर्ने षड्यन्त्र असफल भएको थियो ।

जनवरी २८ का दिन महान्यायाधिवक्ताको कार्यालयमा उपस्थित भएर नेता आर्सेले आफूमाथि लगाइएका आरोपको कानुनीरूपमा खण्डन गरेका थिए । आर्सेमाथि जनजाति जनता तथा किसान विकास कोषमा भ्रष्टाचारको आरोप लगाइएको थियो । आर्सेले अर्थमन्त्रीका रूपमा संसद्ले पारित गरेको बजेटअनुसार उक्त कोषलाई बजेट उपलब्ध गराउनुबाहेक कानुन बमोजिम थप कुनै भूमिका हुनैनसक्ने हुनाले उक्त संस्थामा भ्रष्टाचार भए नै पनि आफू जवाफदेही नभएको स्पष्ट पारेका थिए । वास्तवमा त्यो आर्सेको उम्मेदवारीलाई रोक्ने षडयन्त्रको पहिलो भाग मात्र हो ।
यसरी कुनै पनि क्रियाकलापले निर्वाचन भाँडिने अवस्था नभएपछि एनेजको सरकारले दक्षिणपन्थी सशस्त्र अर्धसैन्य समूह वा गुरिल्ला समूहहरूलाई खुमखुला गाउँसहरमा घुम्ने स्वतन्त्रता दिइरहेको छ । त्यसको उद्देश्य भनेकै देशमा सामाजिक हिंसा मच्चाउन लगाउनु र देशलाई राजनीतिक अस्थिरतातर्फ धकेल्नु र त्यसैको आडमा घोषित निर्वाचन हुन नदिनु हो । दक्षिणपन्थी अर्थात् पुँजीवादी राजनीति कतिसम्म घृणित षडयन्त्रले भरिएका हुन्छन् भनी बुझ्न एण्डिज पर्वतमालाको देश बोलिभियाको पछिल्लो राजनीतिक घटनाक्रम मात्र नियाले पुग्छ ।
तर, पूर्वराष्ट्रपति मोरालेसले बोलिभियाली जनताको एकता भाँड्ने उद्देश्यले परिचालित दक्षिणपन्थी सशस्त्र अर्धसैन्य समूहहरूलाई बोलिभियाली जनताले नसहने बताउँदै जनतासित शान्ति र हिंसात्मक गतिविधि हुन नदिन धैर्य राख्न आह्वान गरेका छन् । ती आदिवासी नेताले वर्तमान सत्ताविप्लवबाट आएको सरकारको शासनबाट मास पार्टीका नेता–कार्यकर्ता र कैयौँ निर्दोष जनतालाई अनाहक ठूलो सास्ती दिइरहेको पनि स्पष्ट पारेका छन् ।
एनेज सरकारका प्रजातन्त्र र नागरिक स्वतन्त्रताविरोधी कदमहरूले बोलिभियाली र न्यायप्रेमी विश्व जनमानसमा के बोलिभियामा प्रजातन्त्र पुनर्बहाली हुनसक्ला ? भन्ने आशङ्का प्रबल हुँदै गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *