भर्खरै :

प्रदेश सरकारको चाल ः माल पाएर के गर्नु चाल पाए पो

हेटौँडा, २९ माघ । वाग्मती प्रदेशको प्रदेशसभाको बैठक बुधबार सम्पन्न भयो । बैठकमा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले दुई वर्ष समय बिताएको प्रदेश सरकारले उल्लेख्य उपलब्धि हासिल गर्न नसकेको बताउनुभयो ।
सांसद गोसाईले भन्नुभयो, “प्रदेश सरकारको कार्यशैली हेर्दा ‘माल पाएर के गर्नु चाल पाए पो ¤’ भन्ने उखान चरितार्थ भइरहेको छ । प्रदेश सरकारको उपस्थिति कहाँ छ ? के जनताले अनुभव गर्ने गरी कुनै एउटा काम भएको छ ?”
उहाँले भन्नुभयो, “सदनलाई पङ्गु बनाउने काम कतैबाट नहोस् । शासक दल शक्ति पृथकीकरणको सिद्धान्तको अवज्ञा किन गर्छ ? बारम्बार किन अपरिपक्वता प्रदर्शन गर्छ ? जनताको न्यायोचित आवाजको बेवास्ता गर्नु गैरजिम्मेवारीपन हो ।
बालुवाटारको जग्गा काण्डमा कुनै पनि दोषीलाई कुनै पनि बहानामा उन्मुक्ति पाउन नहुने धारणा राख्दै सांसद गोसाईले अहिलेसम्म सरकारमा गएका दलहरू नै भ्रष्टाचारको निम्ति जिम्मेवार छन् । जनताको आँखा दूरबीन सरह हुन्छ भन्दै उहाँले भ्रष्टाचारीहरू जनताबाट दण्डित हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “भ्रष्टलाई गंगाजलले धुने काम नहोस् ।”
सासंद गोसाईले प्रजातान्त्रिक दाबी गर्ने सरकार र तिनका मन्त्रीहरू जग्गा काण्ड, भ्रष्टाचारका काण्डमा बारम्बार मुछिएको घटनाले शासक दलले उदाङ्गो पार्दै लगेको बारे चर्चा गर्दै जनताले पञ्चायत र हालसम्मका सरकारबीच मौलिक भिन्नता नपाएको प्रस्ट पार्नुभयो ।
खोकना र बुङमतिका जनतामाथि ठूलो अन्याय भइरहेको चर्चा गर्दै उहाँले संस्कृति, सभ्यतामाथिको प्रहार सह्य नहुने प्रस्ट पार्नुभयो । उहाँले भन्नुभयो, “ विकासको नाममा जनताको उठिबास प्रजातान्त्रिक चरित्रविपरीत हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *