भर्खरै :

एभरेष्ट इङ्गलिस स्कूलको ३७ औँ वार्षिकोत्सव समारोह

भक्तपुर, १ फागुन । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा एभरेष्ट इङ्गलिस स्कूलको ३७ औँ वार्षिकोत्सव समारोहको अवसरमा पुरस्कार वितरण तथा पुस्तक हस्तान्तरण कार्यक्रम बिहीबार सम्पन्न भयो ।
विद्यालयको उत्तरोत्तर प्रगतिको कामना गर्दै नगर प्रमुख प्रजापतिले भक्तपुर शैक्षिक क्षेत्रमा अगाडि बढिरहेको जिल्ला भएको बताउँदै भक्तपुरको एउटै परिवारमा ६ जनासम्म इन्जिनियर उत्पादन भएको बताउनुभयो ।
भक्तपुरलाई शैक्षिक गन्तव्यस्थलको रूपमा विकास गर्न यहाँका निजी तथा सार्वजनिक विद्यालयको भूमिका रहेको बताउँदै प्रमुख प्रजापतिले देशमा शिशुस्याहार केन्द्रदेखि कलेज सञ्चालन गर्ने देशकै पहिलो नगरपालिका भक्तपुर नपा भएको बताउनुभयो ।
प्रमुख प्रजापतिले शासक दलका नेताहरूमा दूरदर्शी सोचको कमी भएको औँल्याउनुभयो ।
भक्तपुर नपाले समाजकेन्द्रित भएर तल्लो वर्गको हितमा काम गरिरहेको उल्लेख गर्दै उहाँले देशको निम्ति नमुना र उदाहरणीय काम भक्तपुर नपाले गरिरहेको बताउनुभयो ।
एभरेष्ट इ. स्कूलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले स्वागत मन्तव्य राख्दै विद्यालय स्थापनाको ३८ वर्षदेखि विद्यालयको सर्वाङ्गीण हितको निम्ति काम गरिरहेको बताउनुभयो । एभरेष्ट जन्म दिन कोषबाट सङ्कलित रकमलाई विद्यालयले विभिन्न सामाजिक कार्य र विद्यालयहरूलाई शैक्षिक सामग्री प्रदान गरी सहयोग गर्दै आएको उहाँले बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि प्रजापतिले विभिन्न विद्यालयका प्रतिनिधिहरूलाई पुस्तक हस्तान्तरण र विद्यालयका उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *