भर्खरै :

सकियो पुस्तक प्रदर्शनी

भक्तपुर, ४ फागुन । आरम्भ नेपालको आयोजनामा भएको तीनदिने पुस्तक प्रदर्शन आइतबार सकियो । प्रदर्शनमा झन्डै २५ हजार सहभागीले अवलोकन गरेको आयोजकले जनाएको छ । प्रदर्शनमा सहभागी प्रकाशकहरूले तीन दिनमा ६ लाखभन्दा बढीको पुस्तक बिक्री गरेको आयोजक समितिका अध्यक्ष बालकृष्ण बनमालाले बताउनुभयो ।
आइतबार आयोजित समापन कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव तथा प्रतिनिधिसभा सदस्य प्रेम सुवालले पुस्तक प्रदर्शनीले सबै उमेर समूहका मानिसबीच पठन संस्कृति विकासमा मद्दत गर्ने गरेको आशा व्यक्त गर्नुभयो ।
उहाँले नयाँ पुस्ताले विद्यालय र विश्वविद्यालयको पाठ्यपुस्तकमा मात्र सीमित भएर नपुग्ने धारणा राख्नुभयो ।
सांसद सुवालले पुस्तक प्रदर्शनीको नियमित आयोजनाको लागि आग्रह गर्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले नयाँ पुस्तकलाई पुस्तक अध्ययनमा आकर्षित गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले पुस्तक अध्ययनले मानिसलाई पूर्ण बन्न मद्दत गर्ने बताउनुभयो । कार्यक्रममा सहभागी प्रकाशकहरूको तर्फबाट साझा प्रकाशनका महेश्वर थापाले पुस्तक प्रदर्शनी नियमित आयोजनाको लागि आग्रह गर्नुभयो ।
आरम्भ नेपालका अध्यक्ष बालकृष्ण बनमालाको सभापतित्वमा भएको कार्यक्रममा प्रदर्शनी आयोजक समितिका संयोजक केपी तुईतुईले पनि बोल्नुभएको थियो ।
आइतबार प्रदर्शनीअन्तर्गत आयोजित बाल कविता प्रतियोगितामा आयुष नेपाल प्रथम, सृष्टि वन द्वितीय, साजन श्रेष्ठ तृतीय, अञ्जना आचार्य सान्त्वना पुरस्कार जित्न सफल भए । कार्यक्रममा कवि दामोदर सुवाल, आशाकुमार चिंकबञ्जार, सूर्यप्रसाद लाकौल, कान्छा बासुकला, हरिसुन्दर छुकांलगायतको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *