भर्खरै :

प्रम ओलीको उत्तरको चिरफार

क्रिश्चिना
प्रधानमन्त्री ओलीले ३ फागुनको दिन संसद्मा सांसदहरूको प्रश्नमा दिएका उत्तरको चिरफार गर्नु आवश्यक छ । उहाँको उत्तरबारे ‘विपक्षीलाई कटाक्ष’ ‘आफ्नै शैलीमा व्यङ्ग्य’ (नयाँ पत्रिका, ४ फागुन २०७६) भन्दै केही प्रचार माध्यमले टिप्पणी गरे भने केहीले हास्यव्यङ्ग्यका कलाकारको रूपमा उल्लेख गरे । तर, सच्चाइ के हो भने काठमाडौँमा केही दिनदेखि सञ्चालित ‘कमेडियनहरूको प्रतिस्पर्धा’ मा ‘कमेडियन’हरूले ओलीकै नक्कल र उनीप्रति नै व्यङ्ग्य गरे । केही शब्दको प्रयोगले मन छुनु, गम्भीर हुनु र आनन्द दिनु एउटा विषय हो तर प्रधानमन्त्रीको हाँसउठ्दो उत्तरले दर्जा पाउँदैन बरु हास्य कलाकारहरूको ‘क्लब’ को गफको रूपमा लिन सांसदहरू, दर्शक दीर्घामा बस्ने नागरिक, टीभीका दर्शक र रेडियोका स्रोताहरू बाध्य भए ।
प्रधानमन्त्रीले हाँस्नु हुन्न, खानु हुन्न र रिसाउनु हुन्न भन्ने होइन बरु उनको उत्तर हास्य कलाकारहरूको जस्तो उल्टा, सिधा र शब्दसँगको खेल हुनु हुन्न । प्रधानमन्त्रीको पदमा बसेपछि कुनै व्यक्ति ‘सर्वज्ञ’ हुने र उसले बोलेको हरेक ‘वाक्य’ सरकारको निर्णय र घोषणा हुने गर्दैन । त्यसैले प्रम ओलीका उत्तरहरूको चिरफार गर्नु आवश्यक हुन्छ ।
विषयहरू यी हुन् ः
१) नेमकिपाका सांसद प्रेम सुवालको प्रश्नको जवाफमा प्रधानमन्त्रीले भने, “भक्तपुर मेरो पनि जिल्ला हो… अन्त विवाद होला भनेर मैले मेरै जिल्लामा पठाएँ ।”
प्रम ओलीको उत्तर निम्न कारणले अनुपयुक्त छ –
क) पहिलो, भक्तपुर देशको सबभन्दा सानो र घना जनसङ्ख्या भएको जिल्ला हो ।
ख) विद्युत् प्राधिकरणका ती भवनहरू ‘क्वारेन्टाइन’ को निम्ति वा टेकुजस्तो अस्पतालको निम्ति बनाइएको होइन ।
ग) त्यस ठाउँमा ‘क्वारेन्टाइन’ को निम्ति प्रयोग गर्न निरङ्कुश राणा शाहीले जस्तो प्रमले व्यक्तिगत निर्णय गर्ने होइन, विशेषज्ञहरूको निर्णयबाट गर्नुपर्ने हो र यदि गरिएको भए ती विशेषज्ञहरू को – को हुन् जनताले थाहा पाउने अधिकार राख्छन् ।
घ) प्रजातन्त्रमा स्थानीय जनतासँग छलफल आवश्यक छ, त्यो भएको छैन । सेनाको ब्यारेक र बस्ती एकदम नजिक छ । बरु राणा कालमा क्षयरोगको स्वास्थ्य निवाससमेत बस्तीभन्दा टाढा टोखाको जङ्गलमा बनाइएको थियो । कोरोना भाइरसबारे थप भनिरहनुपर्ने विषय होइन, प्रमको उत्तर प्रधानमन्त्रीको जस्तो भएन, लिखित भाषण हुनुपथ्र्याे । यसबारे एमाले र माओवादी दलका नेता र कार्यकर्ताहरूले गम्भीररूपले छलफल गर्नु आवश्यक छ ।
ङ) २ फागुनको ‘नयाँ पत्रिका’ अनुसार हुपेइबाट फर्काइएकाहरूलाई क्वारेन्टाइनमा राख्न ल्याउँदा ५६ वर्षअघिको ऐनअनुसार कारबाही गर्ने भएको छ । तर, समयअनुसार बन्दोबस्त गर्न सरकार असफल छ ।
२) प्रम ओलीको ‘भक्तपुर मेरो पनि जिल्ला हो’ भन्ने उत्तर देशको प्रधानमन्त्रीको नभई झापाका एक अराजनैतिक व्यक्तिको उत्तरजस्तै अनुत्तरदायी भनाइ हो । प्रधानमन्त्रीले सरकारको, संस्थाको निर्णयको रूपमा बोल्ने हो – व्यक्ति भएर होइन । थप कुरा निम्न छन् –
क) कसैले कुनै देश वा जिल्लामा घर बनाउँदैमा ‘यो देश मेरो हो ’ र ‘यो जिल्ला मेरो पनि हो’ भन्ने जस्ता अर्घेल्याइँ यस सन्दर्भमा पूर्णरूपले अनुत्तरदायी हो । किनभने, केही नेपालीले अमेरिका, बेलायत वा अरू देशमा पनि जग्गा जमिन किनेर घर बनाएका छन् र नागरिकता पाएका छन् । वर्षाैँपछि पनि ती नेपालीहरूले ‘नेपाली’ हो भन्ने भावना सुन्दै र भोग्दै आएका छन् । यस अर्थमा घर जग्गा र नागरिकता पाउँदैमा कुनै व्यक्तिको भावनामा नयाँ देश वा जिल्ला रहन्छ भन्ने होइन बरु उसको भावनामा निर्भर रहन्छ किनभने मानिस चिन्तन र भावना बोकेको प्राणी हो ।
ख) सम्भवतः प्रम ओलीको मनमा ‘मैले काठमाडौँकी नेवार केटीसँग विवाह’ गरेको हुँदा ‘म पनि उत्यकावासी वा नागरिक हुँ’ भन्ने होला ¤ सत्य त्यही हो भने धेरै विदेशीले नेपाली चेलीहरू विवाह गरेका छन् तर ती सबै ज्वाइँहरू नेपाली र नेपाली नागरिक होइनन्, व्यवहार र ऐन–कानुन वा संविधानले पनि त्यही भन्छ ।
ग) विदेशी नागरिकले आफ्नो नागरिकता नत्यागेसम्म नेपालको नागरिकता प्राप्त गर्न सक्दैन । त्यस्तै ओलीलाई झापा, भक्तपुर वा घर जग्गा किनेका अन्य जिल्लाहरू सबै ठाउँमा मत खसाल्न पाउने अधिकार देशको ऐन–कानुनले दिँदैन । त्यसको निम्ति आफूले कुन जिल्ला र कुन निर्वाचन क्षेत्रको मतदान केन्द्रमा मतदान गर्ने हो पहिले नै सूचित गर्नुपर्ने हुन्छ ।
यसकारण, प्रधानमन्त्री पदको निम्ति ओठे जवाफ र निरङ्कुश उत्तर शोभनीय हुँदैन ।
३) संसद्मा प्रधानमन्त्रीले सम्बोधनमा भने, “एकै दिनमा रोम पनि बनेको थिएन ।’ (अन्नपूर्ण–४ फागुन २०७६)
प्रधानमन्त्री ओलीलाई राम्रै ज्ञान होला – एक समय भक्तपुर हाम्रो देशको रोम थियो । भक्तपुरलाई थाइल्यान्डको सुवर्ण मन्दिर, पेकिङको पेगोडा, राजकीय गृष्म दरबार, काशीको घाट, जापानको सर्वाेत्कृष्ट कलाकृति, कम्बोडियाको अङ्करवाटको कलाकृतिसँग तुलना गरिएको थियो ।
यहाँ प्रश्न रोमको होइन, बरु देशको दुई वर्षीय विकास निर्माण र सरकारको कार्यान्वयनमा देखिएको असफलताबारे हो । उदाहरण निम्न छन् ः
क) ‘विकास आयोजना र ठेक्का व्यवस्थापनमा महा भद्रगोल’, ‘साढे २९ अर्ब डुबाउने अवस्थामा’, (राजधानी, २ फागुन २०७६) ‘अख्तियार अध्ययन प्रतिवेदन’ अनुसार १ हजार बढी आयोजना अझै रूग्ण अवस्थामा छन् ।
ख) अर्थतन्त्रमा अलमल, २ वर्षभित्रै सक्ने भनिएको पुनर्निर्माण बल्ल ६२ प्रतिशत, वैज्ञानिक भूमि सुधार घोषणामै सीमित, प्रदूषण घटाउन वास्ता गरिएन, सहरभरि हानिकारक कण, आत्मनिर्भर हुने भनिएकै खाद्यवस्तुमा बाहिरियो अर्बाँै रुपैयाँ– यो थियो ओलीका २ वर्ष ¤ (कान्तिपुर २ फागुन २०७६)
ग) अख्तियार भन्छ, ‘अझै १२०० आयोजना रुग्ण’ ‘क्रमागत अवस्थामा रहेका १२ सय दुईवटा रुग्ण ठेक्का सम्झौतामध्ये ४९ वटाको मात्र म्याद थपसम्बन्धी निर्णय भएको छ । ११ सय ५३ वटा क्रमागत देखिएका ठेक्का सम्झौताको हालसम्म पनि म्याद थपसम्बन्धी कुनै निर्णय भएको छैन ।’ (नागरिक आर्थिक, २ फागुन २०७६)
घ) ‘केन्द्रको विकास खर्च ७ महिनामा १९ प्रतिशत’ प्रदेशका १६ प्रतिशतमात्र’ आर्थिक वर्षको सात महिनामा विकास खर्च नगन्य, फेरि पनि असारे विकासको प्रतिक्षा, (नयाँ पत्रिका, २ फागुन २०७६)
४) प्रम ओलीले ‘जनताले अनुभूति गर्ने गरी नै मुलुक विकास र समृद्धितर्फ अघि बढेको’ दाबी गरे । (नयाँ पत्रिका, ४ फागुन २०७६) तर तथ्य निम्न ढङ्गले फरक छ –
क) राष्ट्रिय गौरवको जतिसुकै मुखले बखान गरे पनि परिणाम फरक छ । ‘गौरवका आयोजना घोषणा भएको ८ वर्ष बित्यो तर २२ मध्ये एउटै सम्पन्न भएनन् ।’ आयोजनाको कुल लागत नै ३ खर्ब बढेर साढे १६ खर्बबाट १९ खर्ब पुग्यो । हालसम्म ३ खर्बमात्र खर्च भयो । (अर्थपत्रिका, २७ माघ २०७६)
५) सरकारको सुशासन र बन्दोबस्तको भ्रमको बखान राम्रो तर व्यवहारमा ‘आठ–आठ हजार डलर लिएर बालबालिका विदेश पठाउने कारोबारमा सरकार ।’ धर्म सन्तानको नाममा २० वर्षमा २६ सय ३३ बालबालिका विदेश पठाएर सरकारले सङ्कलन ग¥यो, दुई करोड १० लाख ६४ हजार डलर, तर ती बालबालिका कहाँ कुन अवस्थामा छन् भनेर सोधखोज गर्ने कुनै संयन्त्र छैन । (नयाँ पत्रिका, २७ माघ २०७६)
६) एमसीसीबारे जनतामा विरोध व्यापक छ । तर, प्रम ओलीले ‘सभामुखले प्रस्ताव गर्नासाथ पास हुन्छ एमसीसी’ भने । (नागरिक, ४ फागुन २०७६) “विवाद आफ्नो ठाउँमा छ तर एमसीसी सम्झौता अगाडि बढ्छ ।” तर, एमसीसीबारे बोल्दा भने कसैले ताली बजाएनन् । ‘वाइडबडी, न्यारोबडी र ट्रस्टको छानबिन, लोकतन्त्रलगायत विषय उठाउँदा नेकपाका सांसदले ताली बजाएका थिए । (कान्तिपुर, ४ फागुन २०७६) यी सबै कारणले ‘सरकार सही बाटोमा छ ।… सफलता हाम्रै हातमा छ ।…. मुलुक समृद्धितर्फ अग्रसर छ’ आदि । नेपालीमा एक उखान छ – ‘नङ्गा नाचे हजार दाउ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *