भर्खरै :

६ महिना पनि टिकेन कालोपत्र

– दीपक बोहरा
तुलसीपुर, ७ फागुन । दाङको तुलसीपुरस्थित हेमन्तपुर–टरिगाउँ सडकखण्डमा कालोपत्र गरेको ६ महिना नपुग्दै उप्किएको छ ।
कालोपत्र उप्किएपछि पूर्वाधार विकास कार्यालय दाङले सम्बन्धित निर्माण कम्पनीलाई सडक मर्मतका लागि पत्रसमेत पठाइसकेको जनाएको छ । “केही ठाउँमा कालोपत्र उप्किएको छ, उप्किएको ठाउँमा हामीले मर्मतका लागि पत्र पठाएका छौँ”, कार्यालय प्रमुख वासुदेव भण्डारीले भन्नुभयो । जाडो मौसममा कालोपत्र गर्दा त्यो दिगो हुँदैन, पुनः उप्किहाल्छ, त्यसैले जाडो मौसम सकिएसँगै उनीहरूले काम सुरु गर्छन् ।
उक्त सडकखण्डको साइपुर–जहदागाउँँखण्डमा यस्तो समस्या देखिएको छ । गएको आवको अन्तिमतिर उक्त सडकको कालोपत्र निर्माणको काम पूरा भएको हो । तर, ६ महिना नपुग्दै विभिन्न स्थानमा उप्किएको तथा चर्किएको छ । प्रदेश नं ५ सरकारको करिब रु. २ करोड २० लाख लागतमा उक्त सडकखण्डमा कालोपत्र गरिएको हो । हेमन्तपुर–मानपुर–टरिगाउँ सडकखण्डलाई तीन भागमा विभाजन गरेर कालोपत्र गरिएको थियो । फरक–फरक तीन निर्माण कम्पनीले उक्त सडकखण्डमा कालोपत्र गरेका थिए ।
तीमध्ये झरना निर्माण सेवाले कालोपत्र गरेको स्थानमा त्यस्तो समस्या देखिएको प्रमुख भण्डारीले बताउनुभयो । उहाँका अनुसार सोही निर्माण कम्पनीलाई उप्केको तथा चर्किएको स्थानमा पुनः कालोपत्र गर्न पत्र काटिएको छ । कुनै पनि निर्माण कम्पनीले निर्माण पूरा गरेको एक वर्षसम्म बिग्रिएको, भत्किएको अवस्थामा पुनः मर्मत गर्नुपर्ने भन्दै सोहीअनुसार उक्त कम्पनीलाई मर्मतका लागि पत्र पठाइसकेको उहाँको भनाइ थियो । “कुनै पनि निर्माण कम्पनीले निर्माण पूरा गरेको एक वर्षभित्र बिग्रियो, भत्कियो भने पुनःनिर्माण गरिदिनुपर्छ”, उहाँले भन्नुभयो । अन्यथा उनीहरूको धरौटी जफत हुन्छ ।
यो नियतवशभन्दा पनि प्राविधिक त्रुटि भएको भन्दै यसलाई निर्माण कम्पनीले तुरुन्त मर्मत गर्नुपर्ने इन्जिनियर चन्द्र शाहले बताउनुभयो । “यो धेरै ठूलो कमजोरी होइन, सबै ठाउँमा शतप्रतिशत राम्रो हुन्छ भन्ने छैन”, उहाँले भन्नुभयो । केही समस्या पक्कै भएको छ, यसमा निर्माण व्यवसायीले गल्ती स्वीकार गरेर पुनः मर्मत गर्नुपर्छ ।
उक्त सडकको छेउतिर बढी ‘फिलिङ’ भएकाले पनि चर्किएको हुनसक्ने उहाँको भनाइ छ । “उक्त सडकमा कालोपत्र गर्दा फिलिङ थियो”, उहाँले भन्नुभयो । फिलिङ बढी भए पनि यसरी कालोपत्र चर्किने, उत्रिने हुन्छ, यो जानाजान गरिएको गल्ती हो जस्तो लाग्दैन ।
अर्कोतर्फ उक्त सडकमा १८÷२० टनका सवारी हिँड्नसक्ने क्षमता भएको भए पनि ४०÷५० टन क्षमता भएका टिपर चल्दा यस्तो समस्या भएको हुनसक्ने उहाँले बताउनुभयो । त्यस्तै पर्खाल नहुँदा पनि यसरी कालोपत्र उप्किएर जाने गरेको उहाँको भनाइ छ । सोही सडकमा छ मिटर कालोपत्र गरिएको थियो । कालोपत्रको जिम्मा डेरी निर्माण सेवा, झरना निर्माण सेवा र चाँदनी निर्माण सेवाले लिएका थिए । अहिले सडकको कालोपत्र उत्रिएको कल्भर्ट तथा नाला भएको स्थानमा सम्बन्धित निर्माण कम्पनीले ग्राभेल हालेर टालटुल पारेका छन् ।
यसअघि पनि झरना निर्माण सेवाले जिम्मा लिएको तुलसीपुरको दुधरास–सक्राम–छिल्लीकोट सडकखण्डमा ग्राभेलको सट्टा हिलो माटो हालेपछि स्थानीयवासीले व्यापक विरोध गरेका थिए ।
अन्योलमा प्रदेशस्तरीय कार्यालय
अहिले प्रदेश नं ५ ले छुट्याएका योजना कुन कार्यालयले हेर्ने भन्ने पनि अन्योल छ । केही योजना प्यूठानस्थित प्रदेश सडक डिभिजन कार्यालयले हेर्दै आएको छ भने केही योजना पूर्वाधार विकास कार्यालय दाङले हेर्दै आएको छ । “प्रदेशले हामीलाई जुन योजना हेर्न भनी जिम्मा दिन्छ, ती योजना हेर्दै आएका छौँ”, इन्जिनियर शाहले भन्नुभयो । केही प्यूठानले हेर्दै आएको छ, केही दाङले हेर्दै आएको छ । यसले दाङका प्रदेशस्तरीय अन्य सडक निर्माणको समेत प्रभावकारी निगरानी हुनसकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *