भर्खरै :

क्वारेन्टाइनमा ‘संवेदनशीलता अपनाइएन’

– अतुल मिश्र
भक्तपुरस्थित क्वारेन्टाइनमा संवेदनशीलता नअपनाएकोप्रति चिकित्सकहरूले चासो व्यक्त गरेका छन् । क्वारेन्टाइनजस्तो संवेदनशील क्षेत्रमा त्यहीँ रहेका व्यक्तिले सावधानी नअपनाउँदा सङ्क्रमण फैलन सक्ने उनीहरूले चेतावनी दिएका छन् । उनीहरूका अनुसार दुई व्यक्तिबीच न्यूनतम ६ फिटको दूरी हुनुपर्छ, नियमितरूपमा हात धुनुपर्छ, श्वासप्रश्वासम्बन्धी स्वच्छता अपनाउनुपर्छ । ‘तर यी प्रक्रिया क्वारेन्टाइनमा अपनाइएको पाइएन, एक चिकित्सकले भने ।
नोवल कोरोना भाइरस प्रभावित चीनको उहानबाट उद्धार गरी ल्याइएका १७५ नेपाली भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा बनाइएको क्वारेन्टाइनमा छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको टोलीले सोमबार उनीहरूको घाँटीको ¥याल र ‘नेजल स्वाब’ को नमुना सङ्गलन गरेको छ । “एकदमै नजिकबाट घुलमिल गर्ने गरेको र एउटै बोटलबाट पालैपालो पानी पिएको पाइयो । एउटै चुरोट धेरै जनाले तानेको पायौँ ।”, टोलीमा सहभागी एकले भने ।
क्वारेन्टाइनमा राख्दा सम्भव भए हरेक व्यक्तिलाई एउटा कोठा र शौचालय राखिनुपर्ने चिकित्सकले सुझाव दिएका छन् । एउटा कोठामा राख्नुपर्ने भए दुई बेडबीच दुई मिटरभन्दा बढी दूरी राख्नुपर्ने र एक–अर्काको सामान प्रयोग गर्न नहुने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. विवेककुमार लालले बताए ।
“हातले आँखा, मुख, नाक कोट्याउने र छोइरहने गर्नुभएन । शौच गरेपछि र खाना–खाजा खानुअघि मात्र होइन साबुन पानी वा स्यानिटाइजरले पटकपटक हात धुनुपर्छ । एक–अर्काबीच संवाद÷सम्पर्क गर्दा न्यूनतम् दूरी कायम राख्नु जरूरी हुन्छ । यो सङ्क्रमण मुख, श्वास आदिबाट निस्कने र पानीको थोपा (बाफ) बाट फैलिने भएकोले व्यक्तिबीच कम्तीमा ६ फिटको दूरी रहनुपर्छ ।” उहाँले भन्नुभयो ।
–कान्तिपुर, ७ फागुन २०७६ बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *