भर्खरै :

ऋण नतिरेपछि भैरवकुण्ड हाइड्रोपावर लिलामीमा

काठमाडौँ, ८ फागुन । सिन्धुपाल्चोकमा आयोजना स्थल रहेको एक जलविद्युत् आयोजना लिलामीमा पर्ने भएको छ । आयोजनाका लागि लिइएको ऋण तिर्न अटेर गरेको भन्दै बैङ्कले लिलामीको सूचना निकालेको हो ।
आयोजनामा कूल रु. ४० करोड लगानी गरेका बैङ्कले बिहीबारएक सार्वजनिक सूचना प्रकाशित गरी आयोजना लिलामी गर्ने जानकारी दिएका छन् । सञ्चालकको विवादका कारण बैङ्क तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्न नसकेपछि भैरवकुण्ड हाइड्रोपावर लिमिटेड लिलामी हुने भएको जनाइएको छ ।
सो आयोजनालाई सानिमा बैङ्कको नेतृत्वमा बैङ्क अफ कमाठमाडौँ, एनएमबी बैङ्क, एनआइसी एशिया बैङ्क, मञ्जुश्री फाइनान्स र ग्लोबल आइएमई बैङ्कले ऋण लगानी गरेका छन् । पटकपटक ऋण तिर्न ताकेता गर्दा आयोजनाका कुनै पनि प्रवद्र्धक सम्पर्कमा नआएपछि लिलामी गर्न लागिएको सूचनामा उल्लेख छ ।
यसअघि गत पुस १६ गते ती बैङ्कले सूचना प्रकाशित गरी ३५ दिनभित्र ऋण तिर्न आउन आग्रह गरेका थिए । सो आग्रहलाई अस्वीकार गरेको भन्दै बैङ्कले आज पुनःसूचनामार्फत आगामी १५ दिनभित्र आयोजना लिलामी गर्ने बताएका हुन् ।
सिन्धुपाल्चोकको लार्चामा सञ्चालनमा रहेको भैरवकुण्ड हाइड्रोपावर लिमिटेडले तीन मेगावाट क्षमताको भैरवकुण्ड खोला साना जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ । जुरेको पहिरो, भूकम्प, हेडवक्र्समा आएको पहिरो र भोटेकोशीको बाढीले क्षति पुगेको परियोजना पुनःनिर्माण सम्पन्न गरेर पुनःसञ्चालनमा आएको थियो ।
कर्जाको सुरक्षणका लागि बैङ्कमा धितो रहेको परियोजनालगायत चलअचल सम्पत्ति लिलामी हुने सूचनामा उल्लेख छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको कम्पनी रजिष्ट्रारको कार्यालयमा सो कम्पनी २०५९÷६० मा दर्ता भएको देखिन्छ ।
बैङ्कबाट ऋण लिँदा कम्पनीले सिन्धुपाल्चोकको साविक तातोपानी गाविसका विभिन्न कित्ता जग्गा र सो जग्गाको तीन मेगावाट क्षमताको आयोजना, सम्पूर्ण घर तथा टहरा, उपकरण, मेशिनरी तथा चलअचल सम्पत्ति धितो राखेको छ । बैङ्कले सो आयोजना २३ जना सञ्चालकलाई कालोसूचीमा राखिने जनाएको छ । प्राकृतिक विपदका कारण समस्यामा परेको सो आयोजनाबाट उत्पादित विद्युत् ३४ किलोमिटर लामो ३३ केभी क्षमताको प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणको लामोसाँघु सबस्टेसनमा जोडिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *