भर्खरै :

शिक्षा वैज्ञानिक र उत्पादन श्रमसित जोडिएको हुनुपर्छ

भक्तपुर, ८ फागुन । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित) ले नेपाल सरकारले संरा अमेरिकासित गरेको भनिएको एमसीसी सम्झौता संसद्बाट कुनै हालतमा पारित गर्न नहुने र नेपालमा अमेरिकी सेना आउने वातावरण बन्न दिन नहुने बताउनुभएको छ ।
भक्तपुरस्थित आदर्श आजाद माविको ६० औँ र आदर्श आजाद कलेजको ११ औँ वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रममा अध्यक्ष बिजुक्छेँले जहाँ जहाँ संरा अमेरिका पसेको छ त्यहाँ त्यहाँ हत्या, हिंसा र ध्वंश मच्चाएको छ भन्नुभयो ।
संरा अमेरिकी साम्राज्यवादले आफ्नो कुरा नमानेपछि आफैँले तयार गरेका कठपुतलीहरूलाई पनि बाँकी राख्दैनन् भन्ने कुरा दक्षिण कोरियाका तानाशाह सिंगमन रि, दक्षिण भियतनामका शासक थु की तथा इराकका राष्ट्रपति सद्दाम हुसेनको जीवनीले स्पष्ट पार्ने उहाँले बताउनुभयो ।
संरा अमेरिकाले पनामा नहर कब्जा गर्न त्यहाँका राष्ट्रपति म्यानुयल नोरियगा र तेल कुवा कब्जा गर्न लिवियाका नेता कर्णेल गद्दाफीलगायत कैयौँ अरू देशका नेताहरूलार्ई हत्या गरेको बताउँदै उहाँले संरा अमेरिकालाई पस्ने वातावरण बनाएर नेपालका शासकहरूले आफ्नै काल खोजिरहेका त छैनन् ? भनी प्रश्न उठाउनुभयो ।
अध्यक्ष बिजुक्छेँले शिक्षा वैज्ञानिक र उत्पादन श्रमसित जोडिएको हुनुपर्ने आवश्यकता औँल्याउँदै त्यसो नहुँदा उच्च शिक्षा हासिल गरेका धेरै विद्यार्थी शिक्षित बेरोजगार बनिरहेका छन् भन्नुभयो ।
आफूूले कोरोना भाइरसको महामारी अमेरिकी साम्राज्यवादको किटाणु युद्ध हुनसक्छ भन्दा केही पत्रकार, लेखकहरूले त्यसलाई चीनभक्ति देखेकोमा खेद व्यक्त गर्दै उनीहरूले विश्व इतिहास नपढेको र अमेरिकी साम्राज्यवादले गरेको किटाणु तथा विषाणु युद्धबारे जानकार नभएको साबित भएको बताउनुभयो ।
कार्यक्रममा कलेज व्यवस्थापन समितिका अध्यक्ष उद्धव सुजखूले भक्तपुरलाई शिक्षा र ज्ञानविज्ञानको केन्द्र बनाउने उद्देश्यले भक्तपुरका शिक्षाप्रेमीहरू लागिरहेका छन् तर उमावि र कलेजहरूको सम्बन्धन प्राप्त गर्न निकै सङ्घर्ष गर्नुपरेको बताउनुभयो ।
उहाँले बहुदलीय प्रजातन्त्र र लोकतान्त्रिक गणतन्त्रका शासकहरूमा पनि शिक्षाबारे पञ्चायती दृष्टिकोण र प्रवृत्ति कायमै रहेको बताउनुभयो ।
प्राध्यापक समाज नेपालका सदस्य इ. सुनिल दुवालले संरा अमेरिकाको इन्डो प्यासिफिक रणनीतिको अङ्गको रूपमा आएको एमसीसी सम्झौता नेपालको सार्वभौमिकता, असंलग्न परराष्ट्र नीति र संविधानकै विरूद्ध भएकोले यसलाई सरकारले खारेज गर्नुपर्छ भन्नुभयो ।
उहाँले सरकारले ख्वप विश्वविद्यालयको विधेयक अगाडि नबढाई भक्तपुरवासीको सपना र भावनाको अपमान गरिरहेको बताउनुभयो ।
भनपा वडा नं ५ का वडा अध्यक्ष प्रेमगोपाल कर्माचार्य, नगर शिक्षा शाखा प्रमुख हरिप्रसाद निरौला, सार्वजनिक विद्यालय संयुक्त परीक्षा समितिका अध्यक्ष एवं बासु माविका प्राचार्य अम्बिका न्याइच्याई र विद्यार्थी प्रतिनिधि मञ्जु बोहजूले पनि मन्तव्य राख्नुभएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विश्वराम कवांको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्राचार्य श्रीकृष्ण किसीले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो भने सहायक प्राचार्य राजेन्द्रबहादुर कायष्ठले स्वागत तथा अर्का सहायक प्राचार्य चक्रबहादुर चाकतुले धन्यवादज्ञापन मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि तथा अतिथिहरूबाट विभिन्न तह र गतिविधिका उत्कृष्ट छात्रछात्राहरूलाई पुरस्कार वितरण भएको थियो । औपचारिक समारोहपश्चात् विद्यालय र कलेजका विद्यार्थीहरूको सांस्कृतिक कार्यक्रम पनि भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *