भर्खरै :

 पश्चिमा चिन्तन र नेपाली मिडियामा असंवेदनशीलता

करभिका
मङ्गलबार अङ्ग्रेजी दैनिक ‘द काठमाडौँ पोस्ट’ ले उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो) का लागि संरा अमेरिकी पूर्वदूत तथा सिकागो काउन्सिल अन ग्लोबल अफेयर्सका सभापति ते डाल्डरको ‘चाइनाज सेक्रेसी ह्याज मेड कोरोना भाइरस क्राइसिस मच वर्स’ (चीनको गोपनीयताले कोरोना भाइरसको महामारी अझ भयावह बनायो) शीर्षकको लेख प्रकाशित ग¥यो । खासमा डाल्डरको त्यो लेख ‘सिकागो ट्रिब्युन’ नामको अमेरिकी अखबारमा पहिलोपटक प्रकाशित गरिएको थियो । ५ फागुनको दिन ‘कोरिया हेराल्ड’ नामको दक्षिण कोरियाली अखबारले सो लेख पुन ः प्रकाशित ग¥यो । नेपालको ‘द काठमाडौँ पोस्ट’ ले सो लेख फागुन ६ गते प्रकाशित ग¥यो ।
लेखमा के छ ?
चीनका कोरोना भाइरसको महामारी फैलिएपछि युरोप र अमेरिकाका राजनीतिक नेतृत्व र सञ्चारमाध्यमले लगातार एउटा कुरा भन्दै आएका छन्, “चीनले कोरोना भाइरसको सङ्क्रमण र महामारीबारे सत्यतथ्य लुकाइरहेको छ । चीनले यसरी कुरा नलुकाएको भए कोरोना भाइरसको महामारी यति व्यापक बन्ने थिएन, धेरै चाँडो नियन्त्रणमा ल्याउन सकिन्थ्यो ।” डाल्डरको लेखको मूल आशय पनि यही हो । सारमा उनको तर्क के हो भने चीनले सत्यतथ्य कुरा लुकाएको हुनाले नै महामारीले भयावह रूप लियो र त्यसको निम्ति चीनको ‘अधिनायकवादी शासन’ जिम्मेवार छ । उनले चीनकै ली वेनलियाङजस्ता चिकित्सकहरूले विभिन्न सार्वजनिक माध्यमबाट महामारीको सम्भावनाबारे सावधान गर्दा पनि चीन सरकारले यसलाई अफवाहको रूपमा लिँदा समस्याले जटिल रूप लिएको तर्क लेखमा गरेका छन् । विशेषतः सरकारी अधिकारीको बेवास्ताले महामारी नियन्त्रणभन्दा बाहिर गयो र धेरै क्षति भयो भन्ने तर्कको आधारमा डाल्डरले त्यसको निम्ति चीनको राजनीतिक प्रणाली जिम्मेवार भएको विचार प्रस्तुत गरेका छन् । चीनको जस्तो ‘अधिनायकवादी राजनीतिक प्रणाली’ भएको देशमा कोरोना भाइरसजस्तै सङ्क्रामक रोग नियन्त्रणको लागि अत्यावश्यक स्थानीय जनताको तीब्र परिचालन सम्भव नहुने, स्थानीय जनतालाई रोगको सङ्क्रमणको प्रतिकारमा परिचालन गर्नुको सट्टा त्यस्तो राजनीतिक प्रणालीले तल्लो तहलाई अधिकारविहीन बनाउने र माथिल्लो तह बलियो भएसम्म तल्लो तहले पहलकदमी नलिने डाल्डरको तर्क हो । सत्य बोल्ने डा. लीलाई सत्य बोलेबापत कारबाही दिएपछि यसको दृश्टान्तको रूपमा प्रस्तुत गरेका छन् । “सङ्क्रामक रोग फैलिँदा माथिबाट तलको संरचना विफल हुन्छ”, त्यसमा लेखिएको छ । अनि लेखकले वासिङ्टनको स्नोहोमिस काउन्टीका होलाइन बु्रस नामका एक जना कोरोना भाइरस सङ्क्रमित बिरामीले आफू स्वयम् रोग नियन्त्रण तथा रोकथाम केन्द्रमा गएर रोग यकिन गर्दा सङ्क्रमण फैलिने खतराबाट जोगिएको भन्ने प्रसङ्गसँगै उनले लेख टुङ्ग्याएका छन् ।
खण्डन
डाल्डरको लेखमा व्यक्त धारणा नवीनतम कुरा होइन । उनको लेख प्रकाशित हुनुअघि नै यो विषयमा पश्चिमा सञ्चारमाध्यमहरूले प्रचार गर्दै आएका हुन् । कोरोना भाइरसले मारिएका मानिसको वास्तविक सङ्ख्यासमेत चीनले घटाएर सार्वजनिक गरेको आरोप पनि नयाँ होइन । चीनका राष्ट्रपति सी चिनफिङलाई महामारी फैलिएको जानकारी हुँदाहुँदै पनि संसारसामु जानकारी नदिँदा सङ्क्रमण नियन्त्रणबाहिर गएको कोणका समाचार पनि उनीहरूले प्रकाशित गरे । चिनियाँहरू फोहोरी भएको, चिनियाँ जे पनि खाने भएकोले यस्तो रोग फैलिएको, चीनमा हजारौँ मानिसको एकै चिहान बनाएर जलाएको आदि धेरै थरी समाचार पश्चिमा सञ्चारमाध्यमले लगातार प्रचार गरे । विशेषतः चीनमा अब बस्नु खतरनाक भएको, मृत्युशैय्यामा बसेजस्तो हुने, चीनबाट सबै विदेशीलाई नफर्काए सबै उहीँ मर्ने जस्ता आशयका संसारभर त्रास फैलाउने धेरै प्रचारबाजी पनि भए । यस्ता सबै प्रचारबाजीको मूल लक्ष्य भने चीनको बदनाम गर्ने र अन्तर्राष्ट्रिय क्षेत्रमा चीनको छवि धमिल्याउने नै हो ।
विश्व स्वास्थ्य सङ्गठन स्वयम्ले चीनले महामारी रोकथाम र नियन्त्रणको लागि चालेका कदमको पटक – पटक प्रशंसा ग¥यो । विशेषतः सङ्क्रमण सुरु भएको हुपेई प्रान्तबाट सङ्क्रमणलाई चीनका अन्य प्रान्त र विदेशमा फैलिन नदिन लगातार प्रयास ग¥यो । चीनका लाखौँ स्वास्थ्यकर्मी र सामाजिक कार्यकर्ता कोरोना भाइरसको प्रतिरोध अभियानमा दिलोज्यान दिएर लागे । चीन सरकारले रोग नियन्त्रण र रोकथाममा कुनै कसर बाँकी राखेन । सम्पूर्ण चीन एक भएर प्रतिरोध अभियानमा होमियो ।
डाल्डरले भनेजस्तो तल्लो तहका कार्यकर्ता परिचालन नभएको र तल्लो तहका अधिकारीलाई अधिकारविहीन बनाइएको भन्ने कुरा असत्य हो । सङ्क्रमण प्रभावित क्षेत्रमा विशेषतः चिनियाँ कम्युनिस्ट पार्टीका एकाईलाई ‘ग्रिड शैली’ को परिचालनमार्फत प्रत्येक घर–घरमा पुग्ने व्यवस्था गरिएको थियो । ठूलठूला सहरलाई स–साना क्षेत्र र उपक्षेत्रमा विभाजन गरी ती क्षेत्र निश्चित कार्यकर्तालाई जिम्मेवारी दिई प्रत्येक जनताको स्वास्थ्य अवस्थाबारे जानकारी राख्ने र सङ्क्रमित भएको अवस्थामा उपचार गर्ने गरी काम भएको थियो । संसारकै सबभन्दा धेरै जनसङ्ख्या भएको देशमा सबभन्दा बढी मानिस यात्रा गर्ने समयमा यस्तो मिहिन व्यवस्थापन गर्न सक्नुको मूल कारण वास्तवमा चीनको राजनीतिक प्रणाली नै हो । चीनको राजनीतिक प्रणालीबाहेक अरू प्रणाली हुँदो हो त त्यत्ति नै जनसङ्ख्या भएको कुनै पनि देशलाई हम्मेहम्मे पर्ने थियो ।
निःसन्देह चीन सरकारले सुरुका दिनमा महामारीको प्रचार नफैलियोस् भनी चाहना राख्नु र त्यसको लागि प्रयास गर्नु स्वाभाविक हो । सामाजिक सञ्जालबाट फैलिन सक्ने हल्लाले जनता भत्ीत भई थप क्षति हुन सक्नेप्रति सरकारले चासो राख्नुलाई तथ्य लुकाइएको भन्न मिल्दैन । चिनियाँ जनता वर्षकै सबभन्दा महत्वपूर्ण चाड वसन्त पर्व मनाउन आ–आफ्नो घर जाने समय थियो । वसन्त पर्व संसारकै सबभन्दा बढी मानिसले एकै साथ यात्रा गर्ने समय थियो । त्यसकारण, त्यस्तो बेला बढी सावधानी अपनाउनु र प्रचारबाजीभन्दा वस्तुगत आधारमा काम गर्नु सरकारको प्राथमिक दायित्व थियो । जनताबीच भय फैलाउने खबर सामाजिक सञ्जालमार्फत प्रचार गर्दा समाजले थप क्षति व्यहोर्नुपर्ने हुनसक्थ्यो । त्यसकारण, चीन सरकारले सचेतरूपमा नै कतिपय कुरा सार्वजनिक नगरिएको हुनसक्छ । त्यसलाई तथ्य लुकाइएको वा अपारदर्शी भएको भन्न मिल्दैन । प्रकोपको समयमा यो संसारका सबै देशले अवलम्बन गर्ने प्राथमिक तरिका हो । सङ्कट र प्रकोपको समयमा कतिपय कुरा थाहा भएर पनि भनिनहाल्नुको मूल मनसाय बढी क्षति नहोस्, समाजमा भय र अराजकता नफैलियोस् र व्यवस्थित तरिकाबाट नै त्यस्ता प्रकोपमाथि नियन्त्रण कायम गर्न सकियोस् भन्ने हो । यसलाई पश्चिमा सञ्चारमाध्यमले अतिरञ्जनापूर्वक प्रचार गर्नुको मूल ध्येय चीनलाई बदनाम गर्नु नै हो । त्यही कडीमा जोडिएको कडीमात्र हुन्–ते डाल्डर । उनको धारणा पश्चिमा कथनकै सिलसिलामा मात्र थियो ।
चुरो कुरो
‘द काठमाडौँ पोस्ट’ ले डाल्डरको लेख प्रकाशित गर्दा साथमा एउटा तस्वीर पनि प्रकाशित ग¥यो । तस्वीरमा चीनको एक सय आरएमबी (चिनियाँ मुद्रा) मा अङ्कित चिनियाँ नेता माओको तस्वीरमा मास्क लगाइदिएको छ ¤ चीनमा फैलिएको महामारीको कारण सबै मानिसले मास्क लगाउनुपरेको कुरालाई सङ्केत गर्दै माओलाई पनि मास्क लगाइदिएको हुनसक्छ । तर, ‘द काठमाडौँ पोस्ट’ को यो तस्वीरप्रति आपत्ति जनाउँदै चिनियाँ अन्तर्राष्ट्रिय रेडियो (सीआरआई) नेपाली सेवाकी वरिष्ठ पत्रकार एवम् चाइना मिडिया ग्रुप (सीएमजी) नेपालका प्रमुख चाङ युए (नेपाली नाम वर्षा) ले भिडियो सन्देश जारी गरिन् । उनले चीनका नेता माओलाई यसरी मास्क लगाइदिनुले चिनियाँ जनताको भावनामाथि चोट पुगेको भन्दै ‘द काठमाडौँ पोस्ट’ ले छापेको सो कार्टुनप्रति खेद व्यक्त गरिन् । उनले आफ्नो भिडियो सन्देशमा भनिन्–
“आदरणीय सम्पादकज्यू
द काठमाडौँ पोष्ट
नेपालको सञ्चार क्षेत्रमा अग्रणी भूमिका निर्वाह गरिरहेको कान्तिपुर सञ्चारगृहबाट प्रकाशित ‘द काठमाडौँ पोष्ट’ को यही फागुन ६ गते मङ्गलबार तदनुसार फेब्रुअरी १८ तारिखमा प्रकाशित ‘चाइना सेक्रेसी ह्याज मेड कोरोनाभाइरस क्राइसिस मच ओर्स’ शीर्षकको लेखले हामी सबै चिनियाँको अपमान गरेको छ । विदेशी सञ्चारमाध्यममा पहिले नै प्रकाशित लेख भएकाले लेखको बारेमा भन्दा पनि त्यसमा प्रकाशित तस्वीर आपत्तिजनक छ ।
अध्यक्ष माओ त्सेतुङ लाई सम्पूर्ण चिनियाँ जनताले उच्च सम्मान र आदर गर्छन् । चिनियाँ जनबैङ्कले निष्काशन गरेको मुद्रामा आदरणीय अध्यक्ष माओ त्सेतुङको तस्वीर राखिएको हुन्छ । तपाईंको पत्रिकामा चिनियाँ मुद्रा एक सय युआनको नोटमा अङ्कित अध्यक्ष माओको तस्वीरमा मास्क लगाइदिएर चीनको सार्वभौमिकता र चीनप्रतिको घोर अपमान गर्नुभएको छ । यतिबेला चीन कोरोना भाइरसको सङ्क्रमणविरुद्धको युद्धमा दत्तचित्तले लागिरहेको छ । कोरोना भाइरसको सङ्क्रमणबाट बच्नका लागि सबै चिनियाँहरूले मास्क लगाउने गरेका छन् । चिनियाँले मात्र होइन अहिले विश्वका अधिकांश भागमा मास्क लगाउनलाई विश्व स्वास्थ्य सङ्गठनले सबैलाई अपिल गरेको छ । तपाईँलाई चिनियाँले नै मास्क लगाएको फोटो चाहिएको भए म दिन सक्छु । अथवा इन्टरनेटबाट जतिसुकै खोज्न सक्नुहुन्छ । आधुनिक चीनका महान् नेताको अपमान गरेर पत्रिकामा प्रकाशन गर्नु नेपाल र चीनबीचको मैत्री सम्बन्धलाई पनि धक्का लगाउनु हो । चीन र चिनियाँलाई घोर अपमान गर्नु हो । हामी चिनियाँहरू नेपाल र नेपालीलाई उच्च सम्मान र माया गर्छौँ । नेपाल र नेपालीले भोगेका विपत्तिहरूमा चीन र चिनियाँले सक्तो सहयोग गरेकै छन् । कोरोना भाइरसको विरुद्धमा नेपालीहरूले पनि आ–आफ्नो ठाउँबाट चीन र चिनियाँलाई सहयोग र समर्थन जनाएका छन् । तर, एउटा ठूलो राष्ट्रिय दैनिक पत्रिकाले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई ख्याल नगरिकन यस प्रकारको फोटो अथवा स्केच प्रकाशन गरेकोमा म खेद प्रकट गर्दछु र यस प्रकारका कार्यको दृढताका साथ विरोध र प्रतिवाद गर्दछु । रोग र सङ्क्रमणको कुनै भौगोलिक सिमा हुँदैन । रोग र विपत्तिले न त कुनै देश विशेष भन्छ न त भौगोलिक सीमा नै मान्छ । यतिबेला पश्चिमा जगतले चीनमाथि विभेदपूर्ण सामग्री प्रकाशन गरिरहेका बेला चीनकै अशल छिमेकी देश नेपालका सञ्चारमाध्यमले पनि पश्चिमा सञ्चारजगतको लहैलहैमा लागेर चीनमाथि हिलो छ्याप्ने र लान्छना लगाउने कार्य गर्नु चीन र चिनियाँ जनताका लागि कदापि स्वीकार्य छैन ।
आशा छ नेपाली पत्रपत्रिका र सञ्चारमाध्यमले चीनसँगको मैत्री सम्बन्धलाई ख्याल गर्नेछन् । अनि कोरोना भाइरसका विरुद्ध लड्नलाई साथ दिनेछन् । धन्यवाद ।”(वर्षाको फेसबुक पेजबाट)
सन्देशमा पत्रकार वर्षाको आक्रोश मुद्रा प्रस्ट महसुस गर्न सकिन्थ्यो । सामाजिक सञ्जाल र अनलाइन सञ्चारमाध्यममार्फत सो सन्देश तुरुन्तै भाइरल भयो ।
त्यही दिन नेपालको लागि चिनियाँ राजदूतावासले यही विषयमा अलग्ग वक्तव्य जारी ग¥यो । वक्तव्यमा कसैको हस्ताक्षर त थिएन । तथापि चीनका राजदूत हाउ यान्छीको आधिकारिक ट्वीटर एकाउन्टबाट यो वक्तव्य सार्वजनिक भएपछि यसलाई आधिकारिक वक्तव्य मानियो । वक्तव्यको पूर्ण विवरण यस्तो छ ः “फेब्रुअरी १८ को ‘द काठमाडौँ पोस्ट’ मा प्रकाशित एउटा लेखमा कुनियतवस छापिएको तस्वीरले नयाँ कोरोना भाइरस निमोनियाविरूद्ध लडिरहेको चीन सरकार र चिनियाँ जनताको प्रयासलाई खुला न्यूनाङ्कन र चीनको राजनीतिक बन्दोबस्तमाथि घातक हमला गरेको छ । हामी यस्तो कदमप्रति असन्तोष व्यक्त गर्दै दृढतापूर्वक विरोध गर्छौँ । यसमा चीनप्रति अपमान र पूर्वाग्रह झल्किएको छ । यो कदमले चिनियाँ जनताको भावनामाथि चोट परेको छ । साथै, चिनियाँ जनता र सबै क्षेत्रका नेपाली मित्रहरूबीच आक्रोश फैलिएको छ । यो कदम भत्र्सनायोग्य छ ।
नयाँ कोरोना भाइरस निमोनिया अन्तर्राष्ट्रिय जनस्वास्थ्य आपत्काल हो । चीन सरकारले यो महामारी रोक्न विस्तृत र बलियो कदम चालिरहेको छ । यस्तो प्रयासले सकारात्मक असर देखाइरहेको छ । चीन सरकारले चालेको धेरै कदम विश्व स्वास्थ्य सङ्गठनले दिएको सुझावभन्दा कता हो कता गुणस्तरीय छ । साथै, अन्तर्राष्ट्रिय स्वास्थ्य नियमावलीका आवश्यकताभन्दा माथिल्लो छ । हामीले निकै छोटो समयावधिमा हजारौँ शैय्याका धेरै अस्पताल स्थापना गरेका छौँ । यसले चीनको गति, प्रभावकारिता र क्षमता प्रदर्शन गरेको छ । साथै, चीनको प्रणालीको शक्ति पनि प्रदर्शन गरेको छ ।
चीन एउटा जिम्मेवार प्रमुख देश भएको नाताले महामारीको सुरुदेखि नै खुला र पारदर्शी तरिकाबाट व्यवहार गर्दै आएको छ । महामारीबारे सबै जानकारी समयमै सार्वजनिक गर्दै आएको छ । साथै, अन्तर्राष्ट्रिय सहकार्य पनि गर्दै आएको छ । चिनियाँ जनताको जीवन, सुरक्षा र स्वास्थ्य  सुनिश्चित गर्न हामीले गर्नसक्ने सबै काममात्र गरेका छैनौँ बरु महामारी सिमानाभन्दा बाहिर नफैलिओस् भनी प्रभावकारी ढङ्गले काम पनि गरिरहेका छौँ । विश्व जनस्वास्थ्यमा यो चीनको योगदान र त्याग हो । नेपाल र विश्व स्वास्थ्य सङ्गठनलगायत १६० भन्दा बढी देश र अन्तर्राष्ट्रिय सङ्गठनले चीनको आक्रामक रोकथाम र नियन्त्रण गतिविधिको उच्च प्रशंसा गर्दै जिम्मेवारी भूमिकाका लागि सल्लाह सुझाव दिएका छन् ।
भाइरसको कुनै सिमाना हुँदैन । सन् २००९ मा एच वान् एन वान् को महामारी २१४ देशमा फैलिएर एक वर्षमा १८ हजार ४४९ जना मानिसको निधन भएको थियो तथा ६ महिनासम्म पनि आपत्काल घोषणा गर्न सकेको थिएन । त्यत्तिबेला कुनै पनि देशको राजनीतिक प्रणालीलाई जिम्मेवार मानिएन । आज केही पश्चिमा मिडियाले महामारीलाई राजनीतिकरण गर्ने अवसरको रूपमा गलत उपयोग गरिरहेका छन् । महामारीविरुद्ध चीनको प्रयासलाई आलोचना गरिरहेका छन् र चीनको राजनीतिक प्रणालीमाथि हमला गरिरहेका छन् । यो निः सन्देह दोहोरो मापदण्ड हो ।
जनताको अभिमतको ठूलो महत्व हुन्छ । महामारी फैलिएयता नेपाल सरकार र नेपाली जनताले विविध तरिकाबाट चीनलाई समर्थन व्यक्त गर्दै आएका छन् । हामी यसबाट प्रभावित छौँ र यो गुण सधैँ सम्झिरहने छौँ । नेपाली मिडियाले महामारी र चीनले गर्दै आएको रोकथाम तथा नियन्त्रण गतिविधिलाई वस्तुगत र सही कोणबाट सम्प्रेषण गर्दै आएको छ । नेपाली जनतालाई अवस्था बुझाउन यसले महत्वपूर्ण भूमिका खेलेको छ । महामारी रोकथामलाई प्रभावकारी बनाउन तथा रोकथाम र नियन्त्रणको लागि अन्तर्राष्ट्रिय सहकार्य प्रवद्र्धन गर्न टेवा पु¥याएको छ । ‘द काठमाडौँ पोस्ट’ का प्रधानसम्पादक अनुप काफ्ले चीनसँग सम्बन्धित विषयमा सधैँ पूर्वाग्रहग्रस्त हुनु दुःखलाग्दो छ । यो पटक भने उनी तथ्यको बेवास्ता गर्दै केही चीनविरोधी शक्तिका ‘सुगा’ बनेका छन् । त्यसकारण, उनको यस्तो काम असफल हुने पक्का छ । नेपालस्थित चिनियाँ दूतावास सो पत्रिका र सम्पादक स्वयम्प्रति गम्भीर ध्यानाकर्षण गर्दै थप परिणाम सामना गर्नुपर्ने ठहर गर्छ ।” (चिनियाँ दूतावासको वक्तव्यको अनौपचारिक अनुवाद)
वक्तव्यले प्रस्टतः द काठमाडौँ पोस्टमा प्रकाशित तस्वीरप्रति मात्र असहमति जनाएन बरु लेखमा व्यक्त विचारमाथि समेत असहमति व्यक्त गर्दैै खण्डन गरेको छ ।
बहस
चिनियाँ राजदूतावासको यो वक्तव्य सार्वजनिक भएसँगै चर्कै बहस आरम्भ भयो । स्वभावतः दुई कोणबाट बहस छेडियो । पहिलो कोणले ‘द काठमाडौँ पोस्ट’ लाई छिमेकी देश यसरी दुःख र विपत्मा पर्दा चिनियाँ जनताका नेता माओकै तस्वीरमा मनपरी गर्नु र त्यस्तो तस्वीर छाप्न गैरजिम्मेवार पत्रकारित हो भन्यो । त्यसको विपरीत कोणले भने वाक् स्वतन्त्रता र प्रेस स्वतन्त्रताको हवाला दिएर ‘द काठमाडौँ पोस्ट’ को सो कदम जायज र प्रजातान्त्रिक भएको बतायो । बरु उनीहरूले चिनियाँदूतावासले यो विषयमा वक्तव्य जारी गर्नुलाई ‘कूटनीतिक मर्यादा नाघेको’ भने । बहसमा सहभागी कतिपय मानिसले भने माओको तस्वीरमाथि अन्य पत्रपत्रिकाले हालसालै र पहिले पनि यसरी मास्क लगाइएको भन्ने प्रमाण पनि जुटाए ।
बुधबार नेपालका केही ‘प्रमुख’ सञ्चारमाध्यमहरूका सम्पादकहरूको बैठकमा यो विषयमा छलफल भयो । बैठकमा सहभागी सम्पादकहरूद्वारा जारी वक्तव्यमा ‘पत्रिकामा प्रकाशित लेख रचनाप्रति बिमति राख्ने सबैलाई अधिकार भए पनि पत्रकारलाई व्यक्तिगतरूपमा नाम किटेर धम्क्याउनु ठीक नभएको’ उल्लेख छ । विशेषतः चिनियाँ दूतावासको वक्तव्यको अन्तिम अनुच्छेद र अन्तिम वाक्यलाई लिएर उनीहरूले यस्तो निष्कर्ष निकालेको देखिन्छ ।
संयोगवश, बुधबार नै पेइचिङमा चीन सरकारले तीन जना विदेशी पत्रकारलाई चिनियाँ भूमि छोड्न आदेश दियो । त्यसलाई पनि जोडेर नेपालका केही टिप्पणीकर्ताले चीनको राजनीतिक व्यवस्थामाथि फेरि हमला गर्न छोडेनन् । उनीहरूले चीनमा प्रजातन्त्र नभएको तर नेपाल प्रजातान्त्रिक देश भएको भन्दै चीनको राजनीतिक बन्दोबस्तलाई न्यूनाङ्कन गर्ने काम गरे ।
‘द काठमाडौँ पोस्ट’ लगायत नेपालका केही सञ्चारमाध्यममा व्याप्त युरोकेन्द्रित चिन्तन नै वास्तवमा समस्याको मूल जरा हो । पश्चिमा सञ्चारमाध्यम नै सही, निष्पक्ष, वस्तुगत र सत्य हुने ती सञ्चारमाध्यमका कतिपय मानिसको चिन्तन नै यो विवादको कारण हो । चीनको कुनै मिडियाले चीनबारे लेखे त्यो अवस्तुगत र प्रचारबाजी (प्रोपागान्डा) मान्ने र त्यही कुरा पश्चिमा मिडियाले भने सत्य मान्ने सोच नै समस्याको जड हो ।
त्यसकारण, चीनप्रति ती सञ्चारमाध्यमले देखाउने व्यवहार पश्चिमा सञ्चारमाध्यमकै परावर्तनमात्र हो । मिडियाको नेतृत्वमा रहेका मानिसमा जड बनेर बसेको युरोकेन्द्रित चिन्तन नै यसको मूलकारण हो । पश्चिमा सञ्चारमाध्यमले गरेजस्तो गर्न सकेपछि अब्बल पत्रकारिता मान्ने चिन्तन नै चीनविरोधी सामग्रीलाई जोडबल गर्नुको मूल कारण हो ।
चीनमा आज फैलिएको महामारी विश्वव्यापी समस्या हो । त्यसकारण, विश्व स्वास्थ्य सङ्गठनले यो सङ्क्रमणलाई विश्वव्यापी जनस्वास्थ्य आपत्काल भनेको छ । यो महामारीको सबै देशले साझा प्रतिरोध गर्नुको विकल्प छैन । चीन एक्लैको समस्या यो पक्कै होइन । त्यसकारण चीनले संसारभरका सरकार र जनताबाट साझा ऐक्यबद्धता खोजिरहेको छ । साथै, सङ्क्रमण अन्यत्र नफैलिओस् भनी चीनले अहोरात्र मिहिनेत गरिरहेको छ । एउटै आकाशमुनि बसेका सारा मानिस यतिबेला कोभिड–१९ भाइरसको प्रतिरोधका लागि एकजुट हुनुपर्ने हो । त्यसमा संसारका मिडियाले अझ महत्वपूर्ण भूमिका निभाउन सक्छन् । तर, विडम्बना यस्तो सङ्कटको घडीमा पनि पश्चिमा मिडियाले आफ्नो पुरानो रोग त्याग्न सकेनन् । उनीहरू चीन र चीनको व्यवस्थाविरोधी चिन्तनबाट यस्तो आपत्कालमा समेत मुक्त हुन सकेको देखिएन । नेपालका ‘प्रमुख’ भनिएका केही सञ्चारमाध्यम पनि पश्चिमा सञ्चारमाध्यमको यो रोगबाट सङ्क्रमित छन् । त्यसकारण उनीहरूमा पनि पश्चिमा सञ्चारमाध्यमसँग जस्तै संवेदनाको अभाव देखियो । आपत्मा परेका चिनियाँ जनतालाई हेतवले कुरा गर्न सक्नु र महामारीको मौकामा चीनको टाउकोमा हथौडाले बजाउनुमा नै उनीहरू मज्जा मानिरहेका छन् ।
तर, यस्तो पत्रकारिताले समाजलाई प्रगतितिर होइन, अवनतितिर डोहो¥याउनेछ । आपत्मा परेका मानिस र देशलाई होच्याउनु, खिल्ली उडाउनु कुनै पनि लोकतान्त्रिक देशको संविधानमा व्यक्त मौलिक अधिकारको आशय हुन सक्दैन । वाक् स्वतन्त्रता र प्रजातन्त्रको नाममा विश्वलाई ठूलो राक्षसको बाहुपासबाट जोगाउन लडिरहेको एउटा योद्धालाई सराप्नु, खुट्टा तान्नु बुद्धिमानी वा सभ्य व्यवहार हुनैसक्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *