भर्खरै :

भारतमा यस्तो छ ट्रम्पको भ्रमण कार्यक्रम

अहमदावाद, १० फागुन (एएनआई÷एएफपी) । संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारत भ्रमणमा आउँदै हुनुहुन्छ । भ्रमणअघि भारतका गरिब झोपडपटी लुकाउन मोदी सरकारले ट्रम्पको भ्रमण हुने भनिएको बाटोमा पर्खाल लगाउन दिएको भन्दै भारतमा सरकारको विरोध भएको थियो ।
भ्रमणको क्रममा सोमबार उहाँले विश्वकै सबैभन्दा ठूलो बताइएको क्रिकेट रङ्गशालाको उद्घाटन गर्नुहुनेछ । उहाँले भारतको ताज महलको भ्रमण गर्ने र त्यहाँबाट सूर्यास्तको अवलोकन गर्ने कार्यक्रम रहेको अधिकारीहरूले जानकारी दिएका छन् । तर, यो पटकको भ्रमणमा दुई देशबीच व्यापार सम्झौता नहुने बताइएको छ ।
विज्ञहरूले अमेरिकाले चीनसँगको सम्बन्धमा दबाब दिन रणनीतिक मित्रको रूपमा भारत उपयोग गर्न खोजेको बताएका छन् ।
“भारतसँग हाम्रो व्यापार धेरै राम्रो छैन, तर पनि म प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्न मन पराउँछु,” ट्रम्पले भारत भ्रमणको पूर्वसन्ध्यामा भन्नुभएको छ ।
ट्रम्पले यसअघि गत नोभेम्बरको निर्वाचनअघि भारतसँग ठूलो व्यापारिक सम्झौता हुन नसक्ने उल्लेख गर्नुभएको थियो । उहाँले मोदीसँग व्यापारको कुरा हुने बताउनुभएको छ ।
भारत भ्रमणका क्रममा राष्ट्रपति ट्रम्पका साथ श्रीमती मेलानीया, छोरी तन्का र ज्वाइँ जारेड कुश्नर छन् । राष्ट्रपति ट्रम्पले सोमबार नयाँ दिल्लीमा ओर्लिएपछि सुरुमा पश्चिमी गुजरात राज्यको भ्रमण गर्नुहुनेछ  ।
मोटेरा स्टेडियम भनिने सो खेल मैदानको वरिपरि ७ सय मिटर लामो पर्खाल बनाइएको छ ।
खेलमैदानमा एक लाख मानिसको उपस्थितिमा ‘नमस्ते ट्रम्प’ कार्यक्रमको आयोजना गरिएको छ । नमस्ते ट्रम्प कार्यक्रम गत वर्षको जूनमा मोदीले अमेरिका भ्रमण गर्दा टेक्सासमा आयोजना गरिएको ‘हाउडी मोदी’ कार्यक्रमकै प्रतिरुप हो ।
नमस्ते ट्रम्प कार्यक्रमपछि उहाँले श्रीमतीसहित ताज महल अवलोकन गर्नुहुनेछ ।
भ्रमणको दोस्रो दिन मङ्गलबार ट्रम्पले दिल्ली फर्केर हैदरावाद हाउसमा विभिन्न चरणमा रक्षा, व्यापारलगायतका विषयमा छलफल गर्नुहुनेछ ।
ट्रम्प राष्ट्रपति भएपछिको भारतको पहिलो औपचारिक यो भ्रमण दुई दिनमात्रै हुने तय भएको छ । ट्रम्पले कार्यकालको अन्तिम वर्ष भारतको भ्रमण गर्न लाग्नुभएको हो । उहाँको कार्यकाल सन् २०२१ जनवरी २० मा सकिँदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *