भर्खरै :

क्वारेन्टाइन नहुँदा राजस्व सङ्कलनमा कमी

लम्की, ११ फागुन । कैलालीको टीकापुर नगरपालिका–९ खक्रौलास्थित सत्ती भन्सार कार्यालयमा क्वारेन्टाइन नहुँदा राजस्व सङ्कलनमा कमी आएको छ । सो नाकाबाट अधिकांश कृषि तथा पशुजन्य सामग्री आयात हुने गर्दछ ।
क्वारेन्टाइन नहुँदा राजस्व सङ्कलनमा कमी हुने गरेको कार्यालय प्रमुख रामचन्द्र ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०७६÷७७ मा रु. ७ करोड २९ लाख ७७ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको भए पनि विगत तीन महिनाको अवस्था हेर्दा असुली रकम न्यून छ । कार्यालयले मंसिरमा रु. ५८ लाख लक्ष्य राखेकोमा रु. ४७ लाख, पुसमा रु. ५६ लाख राखेकोमा रु. ३८ लाख र माघमा रु. ५४ लाख लक्ष्य राखेकोमा रु. ३७ लाखमात्र राजस्व सङ्कलन गरेको छ ।
यस क्षेत्रमा आयात गर्ने सामग्री घरायसी प्रयोजनको हुने भएकोले न्यून हुँदै गएको उहाँ बताउनुहुन्छ । क्वारेन्टाइन भइदिएको भए पशुजन्य वस्तुको पनि आयात बढ्ने थियो । दैनिक उपभोग्य वस्तुको यहाँ धेरै माग छ तर क्वारेन्टाइन नभएकै कारण ल्याउँदा सीमित मात्रामा ल्याउनुपर्ने यहाँका व्यापारीको बाध्यता छ । कार्यालय प्रमुख ढकाल भन्नुहुन्छ, “क्वारेन्टाइन नहुँदा स्थानीय बासिन्दा पनि विवाह, भोज, पूजा आदिका नाममा सामान ओसार्ने गर्दछन् । यिनलाई कडाइ गर्न पनि सकिएको छैन । राजस्व सङ्कलनमा पनि घाटा भएको छ ।”
यहाँ रहेको क्वारेन्टाइन जाँचचौकी सशस्त्र द्वन्द्वको समयमा विस्थापित भएको हो । सो कार्यालय पुनःस्थापना गर्न यहाँका नागरिकले माग गर्दै आएका छन् । क्वारेन्टाइनको जाँचका लागि भौतिक संरचनाको अभाव छैन । कर्मचारी र जाँचका लागि उपकरण नहुँदा समस्या हटाउन पशुपक्षी विकास मन्त्रालयमा माग गरेको उहाँले बताउनुभयो ।
टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावलले आफूहरूले प्रदेश र केन्द्र सरकारका साथै पशुपक्षी विकास मन्त्रालयमा यस भन्सारलाई प्राथमिकतामा पार्न माग पेश गरेको जानकारी दिनुभयोे । हामीले पटक–पटक क्वारेन्टाइनको माग गरेका छौँ । यहाँको व्यापारिक विकासका लागि पनि क्वारेन्टाइन आवश्यक छ । उहाँले भन्नुभयो, “क्वारेन्टाइनले राजस्व सङ्कलनमा वृद्धिमात्र नभई स्थानीय व्यापारीलाई व्यापार जोखिमबाट बचाउने, विभिन्न किसिमका आयातीत रोग प्रकोपबाट बच्न सहयोग पुग्छ ।” व्यापारी शेरबहादुर साउद भन्सारबाट आयात हुने वस्तुको जाँचका लागि क्वारेन्टाइन आवश्यक रहेकोले सबैले पहल गर्न आवश्यक रहेको बताउनुहुन्छ ।
(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *