भर्खरै :

एमसीसी सम्झौताः नेपाली शासक दलको साम्राज्यवाद पक्षधरताको दसी

भक्तपुर । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको संयुक्त आयोजनामा सोमबार ‘एमसीसी र इन्डो प्यासिफिक स्ट्राटेजी’ विषयमा कलेजका कर्मचारी र शिक्षकहरूबीच प्रवचन कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले वर्तमान समयमा अमेरिकी साम्राज्यवादविरुद्ध लडाइँ गर्नु आवश्यक भएको बताउनुभयो ।
दुईतिहाइ भएको सरकारले देश हितविपरीतका ऐन–कानुन पास गरी संविधान नै संशोधन गर्ने खतरा भएको औँल्याउँदै अध्यक्ष बिजुक्छेँले चीनसित लड्न अमेरिकाले यो रणनीति अगाडि सारेको र एमसीसी सम्झौता अनुमोदन भयो भने नेपालको ऐन–कानुन नै नचल्ने खतरा भएको बताउनुभयो ।
लडाइँबाट नहारेसम्म संरा अमेरिकाले साम्राज्यवादी सोच नत्याग्ने बताउँदै उहाँले विदेशीको पैसाले चुनाव जितेका शासक दलका नेताहरूले विदेशीकै इसारामा अमेरिकी एमसीसी सम्झौतालाई अगाडि सारेको बताउनुभयो ।
संयुक्त राज्य अमेरिका युवाहरूको सपनाको देश नभई अपराधी र गुण्डाहरूको देश बन्दै गइरहेको चर्चा गर्दै अध्यक्ष रोहितले एमसीसीलाई कुनै हालतमा संसद्बाट पारित गराउन नहुने बताउनुभयो ।
नेमकिपाका सचिव एवम् सांसद प्रेम सुवालले नेपालजस्तो सानो मुलुकको लागि एमसीसी सम्झौता चुनौतीपूर्ण भएको उल्लेख गर्दै एमसीसी सम्झौतालाई संसद्बाट अनुमोदन गराउन विदेशी दलालहरू सक्रिय रहेको बताउनुभयो ।
आइपीएस र एमसीसी सम्झौता एउटै भएको चर्चा गर्दै सांसद सुवालले एमसीसीमा सहभागी हुनु भनेको अमेरिकी नेतृत्वको सैनिक गठबन्धनमा सामेल हुनु हो भन्नुभयो । उहाँले एमसीसी सम्झौतामा उल्लेखित विस्तृत चर्चा गर्नुभयो ।
कार्यक्रमका सभापति एवम् भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले एमसीसीलाई प्रतिनिधिसभाबाट अनुमोदन गराउन शासक दलका नेताहरूले सक्रियता बढाइरहेकोमा आपत्ति जनाउँदै सरकारले सर्तसहितको सहयोग स्वीकार गर्न नहुने बताउनुभयो ।
कार्यक्रममा ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य इ. सुजन माकले ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ विषयमा प्रस्तुतीकरण देखाउँदै मिलेनियम च्यालेन्ज लागू भएका संसारका विभिन्न देश अन्योलमा रहेको हुँदा यो सम्झौता इन्डो प्यासिफिक सामरिक रणनीतिकै अङ्ग भएको बताउनुभयो ।
ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य इ. सुनिल दुवालले हिन्द प्रशान्त रणनीतिबारे आफ्नो प्रस्तुतीकरण देखाउँदै संयुक्त राज्य अमेरिकाले चीनविरुद्ध लड्न अन्य शक्ति राष्ट्रहरूलाई आफ्नो खेमामा तान्ने प्रयास गरिरहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *