भर्खरै :

अन्तरनगर एथलेटिक्स सम्पन्न ः भक्तपुर नपा विजेता

भक्तपुर, १२ फागुन । विस २०४६ सालको संयुक्त जनआन्दोलनमा सहादत प्राप्त सहिदहरूको स्मरणमा फागुन ८–१२ सम्म भक्तपुर नगरपालिकाद्वारा आयोजित अन्तरनगर एथलेटिक्स प्रतियोगिताको सोमबार पुरस्कार वितरण तथा समापन समारोह भयो ।
सहिद स्मृति खेल मैदानमा आयोजित उक्त समारोहमा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवम् सांसद प्रेम सुवालले खेलकुद ऐनमा खेलकुदसम्बन्धी पाठ्यक्रम समावेश गर्नुपर्ने प्रस्ताव सरकारले अस्वीकृत गरेको उल्लेख गर्दै खेलकुद अनुशासन र इमानदारितासँग जोडेको हुनुपर्छ भन्नुभयो ।
भ्रष्टाचारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत नछुने सरकारको नीतिगत भ्रष्टाचार खारेज गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले भन्नुभयो, “भ्रष्टाचार अन्त्य गर्न ठूलठूला भ्रष्टाचारीलाई मृत्युदण्ड दिनुपर्छ ।”
नेपाल अमेरिकाको सैनिक गठबन्धनमा संलग्न हुनु नेपालको असंलग्न नीतिविपरीत हुने हुँदा उक्त सम्झौता खारेज गर्नुपर्नेमा जोड दिँदै सचिव सुवालले हिजो राजा फाल्नेहरू आज नयाँ राजाको रूपमा देख्न थालेकोमा चिन्ता व्यक्त गर्नुभयो ।
आफ्नो जन्मदिनमा नेपालको नक्साको केक काटेर रमाउनेहरू देशभक्त नहुने स्पष्ट पार्दै उहाँले सरकार कमजोर भएकै कारण देश र जनताले दुःख पाइरहेको बताउनुभयो ।
नेपालको संविधान र कानुनभन्दा अमेरिकाको एमसीसीको सम्झौता बलियो नहुने उल्लेख गर्दै उहाँले भन्नुभयो, “एमसीसीबारे अमेरिकासँग सम्झौता गर्न भारतको अनुमति किन ?
सत्तारुढ दलका जनप्रतिनिधिहरू ठेकेदार र म्यानपावर कम्पनीमा संलग्न भएर पदको दुरुपयोग गरी सम्पत्ति कुम्ल्याइरहेको चर्चा गर्दै उहाँले भन्नुभयो, “पुँजीवादी व्यवस्था लुटेर खाने व्यवस्था हो, देशमा पुँजीवादको होइन उद्योगको विकास गर्नुपर्छ ।”
उहाँले भन्नुभयो, “निर्वाचन पार्टीको सिद्धान्त, विचार र घोषणापत्रको लडाइँ हो, पैसा बाँडेर जनताको मत लिने होइन । गलत बाटोमा लाग्ने सरकारमा गएका दलहरूविरुद्ध देशभक्त जनता लड्नुपर्छ ।”
नेमकिपाका केन्द्रीय सदस्य एवम् वाग्मती प्रदेशका सांसद सृजना सैँजूले व्याप्त भ्रष्टाचार, कमिसन र सुन काण्ड रचेर शासकहरूले देशको ढुकुटीमा ब्रह्मलुट गरिरहेको उल्लेख गर्दै देशको लागि अनुशासित, स्वस्थ र जुझारुको साथै देशप्रेमी खेलाडीहरूको जरुरत छ भन्नुभयो ।
देशको स्वतन्त्रता र रक्षाको निम्ति खेलकुद अपरिहार्य रहेको चर्चा गर्दै उहाँले भन्नुभयो, “साम्राज्यवादी देशले टेकेको ठाउँमा रक्तपात भइरहेको छ । डलरको राजनीति गरेर आफ्नो नियन्त्रणमा राख्ने साम्राज्यवादी देशको विरोधमा नेमकिपा सङ्घर्षरत छ ।”
साम्राज्यवादी शक्तिसामु पाउमोल्ने शासकहरूको कमजोरीले देशको स्ततन्त्रता गुम्ने सङ्केत गर्दै उहाँले भीक्षाटन र अनुदानले कुनै देश कहिल्यै विकास भएको छैन भन्नुभयो ।
सांसद सैँजूले भन्नुभयो, “नेमकिपाका अध्यक्ष रोहितले भन्नुभएको थियो, एक्काइसौँ शताब्दी साम्राज्यवादको पतन हुने समय हो ।”
भक्तपुर नगरपालिकाका प्रमुख एवम् कार्यक्रमका सभापति सुनिल प्रजापतिले सहिदहरूकै देन र त्यागबाट गणतन्त्र र नयाँ संविधान पाएको चर्चा गर्दै देशमा अझै जनताले सोचेअनुसार काम भइरहेको छैन भन्नुभयो ।
नेपालको नक्सा खुम्चिँदै गइरहेकोमा चिन्ता व्यक्त गर्दै उहाँले सबैले सार्वभौमिकताको निम्ति लड्नुपर्छ भन्नुभयो ।
समारोहमा एथलेटिक्स सङ्घका अध्यक्ष राजीवविक्रम शाहले एथलेटिक्स खेलमा राज्यको ध्यान नगएको उल्लेख गर्दै भक्तपुर नपाले आयोजना गरेको एथलेटिक्स प्रतियोगिताले सकारात्मक सन्देश प्रवाह गरेको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं १ का वडाध्यक्ष एवं युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्री र भक्तपुर नपा वडा नं ७ का वडाध्यक्ष उकेश कवांले पनि बोल्नुभएको थियो ।
१६ नगरपालिकाको सहभागिता रहेको सो समारोहमा भक्तपुर नपा प्रथम, ललितपुर मनपा द्वितीय, भरतपुर मनपा तृतीय र मन्थली नपा सान्त्वना भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *