भर्खरै :

नेमकिपाबाट भक्तपुर नगरपालिकाको प्रमुख पदका उम्मेदवार का. सुनिल प्रजापतिको छोटो चिनारी

मतदाता दिदीबहिनी तथा दाजुभाइहरू,
का.सुनिल प्रजापति नेपालको राजनीतिमा सुपरिचित व्यक्तित्व हुनुहुन्छ । कामदार वर्गको प्रजातन्त्र र समाजवादी आन्दोलनका निम्ति प्रतिबद्ध नेपाल मजदुर किसान पार्टीको प्रारम्भिक समितिदेखि सक्रिय हुँदै आउनुभएका का.प्रजापति २०५५ सालमा सम्पन्न पार्टीको तेस्रो महाधिवेशनदेखि पार्टीको केन्द्रीय सदस्य बन्नुभयो । २०६० साल भाद्र महिनामा सम्पन्न पार्टीको चौथो महाधिवेशनबाट केन्द्रीय समितिमा पुनः चुनिनुभयो । २०६५ साल भाद्रमा सम्पन्न पार्टीको पाँचौ महाधिवेशन र २०७० चैत्रमा सम्पन्न छैटौं महाधिवेशनबाट उहाँ पार्टी केन्द्रीय सचिव पदमा निर्वाचित हुनुभयो । उहाँले स्थानीय तहको निर्वाचन–२०७४ का लागि भक्तपुर नगरपालिकाबाट मेयर पदमा उम्मेदवारी दिनुअघिसम्म पार्टी केन्द्रीय सचिवको भूमिका निर्वाह गर्नुभयो । किसान परिवारमा जन्मनुभएका प्रजापति वर्ग र वर्गसङ्घर्षलाई हेर्ने आफ्नो व्यापक माक्र्सवादी दृष्टिकोणको कारण देश र जनताका पक्षधर मजदुर, किसान, व्यापारी, बुद्धिजीवी, विद्यार्थी र कर्मचारीहरूबीच पनि त्यतिकै सुपरिचित हुनुहुन्छ ।

किसान परिवारमा जन्मनुभएका प्रजापति वर्ग र वर्गसङ्घर्षलाई हेर्ने आफ्नो व्यापक माक्र्सवादी दृष्टिकोणको कारण देश र जनताका पक्षधर मजदुर, किसान, व्यापारी, बुद्धिजीवी, विद्यार्थी र कर्मचारीहरूबीच पनि त्यतिकै सुपरिचित हुनुहुन्छ ।

सङ्कटकालमा प्रतिनिधिसभाको विघटनबाट वीजारोपण भएको प्रतिगमनविरुद्ध उहाँ केन्द्रीय जनआन्दोलन परिचालन समितिको सदस्यको रुपमा सक्रियतापूर्वक सङ्घर्षरत रहनुभयो र आन्दोलन परिचालनमा योगदान पु¥याउनुभयो । जनआन्दोलनबाट प्रजातन्त्र पुनर्बहालीपछि अन्तरिम संविधान मस्यौदा समितिको सदस्य रही उहाँले अन्तरिम संविधान निर्माणमा सक्रिय र सशक्त भूमिका निर्वाह गर्नुभयो र कामदार वर्गको हितका बन्दोबस्तहरू समावेश गराउन जोड दिनुभयो । त्यस्तै संवैधानिक बन्दोबस्तअनुसार गठित अन्तरिम व्यवस्थापिका–संसदमा पार्टीको तर्फबाट सदस्य बन्नुभयो । व्यवस्थापिका–संसदमा संविधान संशोधन, विधेयक एवं प्रस्तावहरूमाथिको छलफलमा देश र जनताको व्यापक हितमा पार्टीको दृष्टिकोण प्रस्तुत गर्नुभयो र अडान लिनुभयो ।

पिता बद्री प्रजापति र माता कृष्णमाया प्रजापतिका सुपुत्र का.सुनिल प्रजापतिको जन्म वि.सं.२०२१ साल असार १० गते भक्तपुरको जेंला टोलमा भएको हो । कानुनमा स्नातक का.प्रजापतिसँग कानुन व्यवसायीको पनि अनुभव छ ।
विद्यार्थी आन्दोलनहरूका सक्रिय कार्यकर्ता का.प्रजापति २०३६ सालको ऐतिहासिक जनआन्दोलन र जनमतसङ्ग्रहमा बहुदलको पक्षमा प्रतिबद्धताका साथ सरिक हुनुभएको थियो । विद्यार्थी जीवनदेखि राजनीतिमा सक्रिय का.प्रजापति २०४२ सालको विद्यार्थी आन्दोलन र २०४३ सालको शिक्षक आन्दोलनमा अन्य आन्दोलनकारीहरूसँगै प्रहरी हिरासतमा थुनिनुभयो ।
सानैदेखि सत्य र न्यायको निम्ति लागिपर्ने विचार र स्वभावका का. प्रजापति पूँजीवादी निर्वाचनलाई जनताको हितमा उपयोग गर्ने पार्टीको नीतिअनुरुप शिक्षण पेशा त्यागेर २०४४ सालको स्थानीय निर्वाचनमा तत्कालीन भक्तपुर नगर पञ्चायत वडा नं.२ को वडाध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनुभयो । उहाँ २०४० सालदेखि २०४४ सम्म शिक्षण पेशामा लाग्नु भएको थियो ।
विसं २०४५ सालमा नेमकिपाका कैयौं नेता र कार्यकर्ताहरूसँगै का. प्रजापति पनि पञ्चायती राज्यस्तरबाट रचित झूठा मुद्दामा फसाइनु भयो र २० महिना भद्रगोल जेलमा थुनिनु भयो । तर देश र जनताप्रतिको उहाँको निष्ठा अटुट रह्यो । २०४६ सालको जनआन्दोलनले त्यो पञ्चायती षड्यन्त्रमात्र होइन पञ्चायती व्यवस्थालाई नै अवसानमा पु¥यायो । उहाँले आफ्नो राजनैतिक जीवनलाई गति दिंदै जानुभयो । २०४९ सालको स्थानीय निर्वाचनमा भक्तपुर नगरपालिकाको वडा नं. २ बाट पुनः वडाध्यक्ष पदमा निर्वाचित हुनुभयो । एक जनप्रतिनिधिको रुपमा उहाँले नगरवासीहरूको हितमा गर्नुभएको कार्य, निश्छल व्यवहार, भ्रष्टाचार र ढिलासुस्तीविरुद्धका कदम दूरवीनजस्ता आँखा भएका जनतासामु घामजतिकै छर्लङ्ग छ । यही कारण का. प्रजापति २०५४ सालको स्थानीय निर्वाचनमा पनि अत्यधिक बहुमतले भनपा वडा नं. २ को वडाध्यक्ष पदमा तेस्रो पटक निर्वाचित हुनुभयो । नगरपालिकामा उहाँले शिक्षा तथा संस्कृति समितिको संयोजक र लिवाली आवास योजना सहयोग समितिको संयोजक भई उल्लेखनीय योगदान गर्नुभयो ।
विभिन्न राष्ट्रिय स्तरका गोष्ठीहरूमा सहभागी भइसक्नुभएका का. प्रजापतिले पार्टी सङ्गठन विस्तारको क्रममा देशका विभिन्न भागमा पुगेर जनताको कठीन जीवनबारे अनुभव संगाली सक्नुभएको छ ।

पूँजीवादी व्यवस्थाभित्र कामदार जनताको हित, मानव अधिकारको प्रत्याभूति, काम, माम र रोजगारीको बन्दोबस्त नहुने कुरामा विश्वस्त का.प्रजापति उत्पादनका साधनहरूको सामाजिकीकरण हुने समाजवादी र साम्यवादी व्यवस्थाले मात्र कामदार वर्गको दीर्घकालीन भलो गर्ने तथ्यमा दृढ हुनुहुन्छ ।
का. प्रजापतिको ‘अन्तरिम संविधान मस्यौदा गर्दा उठेका प्रश्नहरू (संस्मरण)’ पुस्तक प्रकाशित भइसकेको छ भने राष्ट्रिय राजनीति, ऐन–कानुन र जनसरोकारका विषयहरूमा निरन्तर कलम चलाइरहनुभएको छ । उहाँपुनःस्थापित बहुदलीय व्यवस्थाको शोषणको बाँकी सिक्री चुँडाल्ने नेपाल मजदुर किसान पार्टीको अठोटलाई साकार पार्न अघि बढ्नेहरूमध्ये एक हुनुहुन्छ । नेपाल मजदुर किसान पार्टी भक्तपुर नगर समिति र नेपाल क्रान्तिकारी किसान संघ भक्तपुर जिल्ला समितिको समेत कार्य अनुभव प्राप्त का. प्रजापति आफ्नो दायित्व निर्वाह गर्न पछाडि नपर्ने स्वभावका धनी हुनुहुन्छ । उहाँको त्यही उच्च गुणको मूल्याङ्कन पार्टीले गरी उहाँलाई २०५६ सालको प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको थियो । २०६४ सालको संविधानसभाको निर्वाचनमा क्षेत्र नं. २ बाट निर्वाचित हुनुभयो ।
उहाँले बंगलादेश, श्रीलंका, स्वीजरल्याण्ड, संरा अमेरिका, भारत, दक्षिण अफ्रिका, रुवान्डा र केन्याको भ्रमण गर्नुभएको छ ।
मतदाता दिदीबहिनी तथा दाजुभाइहरू,
संविधानसभाको पहिलो पटकको निर्वाचनमा क्षेत्र नं.२ बाट निर्वाचित भएपछि संविधानसभामा संवैधानिक समिति, संविधान निर्माण उच्चस्तरीय कार्यदलको सहयोगी, प्रतिवेदन अध्ययन समितिको सदस्यजस्ता संविधान निर्माणको लागि महत्वपूर्ण समितिहरूको सदस्य भएर संविधान निर्माणमा सक्रिय रहनुभयो । यसका साथै व्यवस्थापिका –संसदमा देश र जनताको हितको पक्षमा आवाज उठाउँदै उहाँले संविधानसभामा चार शासक दलहरूको भागवण्डा, पक्षपात र गैर जिम्मेवारीपूर्ण कार्यको सशक्त आलोचना गर्दै आउनुभयो ।
व्यवस्थापिका–संसदअन्तर्गत गठित विधायन समितिको सदस्यको रुपमा उहाँले संसदमा प्रस्तुत विदेशीले असीमित जग्गा खरिद गर्न पाउने घरजग्गा विधेयक, शतप्रतिशत विदेशी लगानीमा बैङ्क तथा वित्तीय संस्था खोल्ने अधिकारसहितको बैङ्क तथा वित्तीय संस्थासम्बन्धी विधेयक, खानेपानीको जिम्मेवारी विदेशीलाई दिने ग्रामीण खानेपानीसम्बन्धी विधेयकलगायतका जनविरोधी विधेयकहरूको विरोध गर्नुभयो । नेपाल मजदुर किसान पार्टीको सशक्त विरोधको कारण ती विधेयक संसदबाट पारित हुन सकेन र देश र जनताको दीर्घकालीन हित भयो । विदेशी लगानी भित्याउने उद्देश्यले संसदमा प्रस्तुत रेलमार्ग, सुरुङ्गमार्ग, विमानस्थलहरू निर्माण, रसायनिक मल कारखाना स्थापना, मेडिकल कलेज, जलविद्युत् परियोजना विदेशीलाई खोल्न दिने लगानी बोर्ड विधेयकको पनि नेमकिपाले विरोध गरेको हो तर उक्त विधेयक बहुमतबाट पारित गरियो । माथिल्लो कर्णालीजस्तो देशघाती सम्झौता लगानी बोर्डले ग¥यो र अब त्यस्ता देश र जनताविरोधी धेरै सन्धि सम्झौताहरु हुँदै जाने सम्भावना छ । देश र जनताको दीर्घकालीन अहितका परिणामबारे आज सर्वत्र चिन्ता व्यक्त हुन थालेको छ ।
 
उहाँले भक्तपुरलाई ज्ञान विज्ञानको केन्द्र बनाउने उद्देश्यअनुसार ख्वप विश्वविद्यालय विधेयक संसदबाट पारित गराउन निरन्तर आवाज उठाउनुभयो र सरकारहरूको ध्यानाकर्षण गर्नुभयो ।
यसरी पार्टीको अनुशासनमा हुर्कनुभएका सरल स्वभाव र स्पष्टवादी, निर्भिक र निडर, योग्य र कर्मठ तथा देश र जनताको हितमा समाजवादी गणतन्त्रोन्मुख बन्दोबस्तहरू संविधानमा समावेश गर्न, वैदेशिक हस्तक्षेपविरुद्ध जनचेतना अभियानलाई अझ व्यापक र सशक्त बनाउन का. सुनिल प्रजापतिलाई भक्तपुर नगरपालिकाको मेयर पदमा अत्यधिक बहुमतले विजयी गराउन ‘मादल’ चिन्हमा आफ्नो अमूल्य मत प्रदान गर्नुहुन हामी हार्दिक अनुरोध गर्दछौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *