भर्खरै :

नेकपाको सरकार पञ्चायत र काङ्ग्रेस शासनकै शिलशिला

वीरेन्द्रनगर, १७ फागुन । नेपाल मजदुर किसान पार्टीको आठौँ सुर्खेत जिल्ला सम्मेलनको पार्टीका केन्द्रीय सचिव तथा प्रतिनिधिसभा सदस्य प्रेम सुवालले शनिबार एक समारोहबीच उद्घाटन गर्नुभयो ।
कार्यक्रममा सचिव सुवालले नेपाल मजदुर किसान पार्टी तत्कालीन रूसको बोल्शेभिक पार्टीजस्तै भएको तर एमाले र माओवादी पञ्चायत र भाइकाङ्गेसजस्तै भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “एमाले र माओवादीको चुनावी मोर्चा र पार्टी एकता नेपाल र नेपाली जनताको इच्छाअनुसार भएको होइन । झण्डै दुईतिहाइ स्थान भएको एमाले र माओवादीले भारतका विदेशमन्त्री सुष्मा स्वराजसँग सोल्टी होटेलमा गोप्य वार्ता पछिमात्र ओलीको सरकार गठन भएको हो ।”
माओवादीको सशस्त्र द्वन्द्व, शान्ति प्रक्रिया र सरकार गठनसम्म भारतीय शासक वर्गको सहयोग भएको पुष्पकमल दाहाल र बाबुराम भट्टराईले स्वीकार गरिसकेको हुँदा सत्य निरूपण र मेलमिलापको निहुँमा घरबाट निकालेर हत्या गरिएकाहरूलाई माफी दिन नहुने सचिव सुवालले बताउनुभयो ।
उहाँले नेपालमा औद्योगिक क्रान्ति नभएकोले १५ खर्बभन्दा बढीको व्यापार घाटा रहेको उल्लेख गर्नुभयो
नेपाल सरकारले अमेरिकी निगम एमसीसीसँग गरेको सम्झौता हिन्द–प्रशान्त रणनीतिअन्तर्गतको सैनिक बजेट भएकोले यो सम्झौता सैन्य गठबन्धन र हतियार बिक्रीसँग सम्बन्धित भएको चर्चा गर्दै सचिव सुवालले भन्नुभयो, “अमेरिकी राष्ट्रपति ट्रम्पको भर्खरैको भारत भ्रमणमा ३ अर्बको हतियार भारतलाई बेच्ने सम्झौता भएको छ ।”
उहाँले भन्नुभयो, “अमेरिकी राष्ट्रपति जुन–जुन देशमा अमेरिकी सेना तैनाथ छ तीन देशमा पुग्छन् । नेपालमा अमेरिकी सैनिक तैनाथसँगै अमेरिकी राष्ट्रपतिको नेपालमा भ्रमण हुनेछ । यसकारण नेमकिपाले फागुन १३ गते अमेरिकी राजदूतावासमार्फत अमेरिकी राष्ट्रपति ट्रम्पलाई विरोधपत्र पठाएको हो । नेपाल सरकारले यो सम्झौता संसद्बाट अनुमोदन गराउनु हुँदैन, खारेज गर्नुपर्छ ।”
“देशको छिटो विकास र नेपालीको एकताको निम्ति प्रत्येक प्रदेशमा हिमाल–पहाड–तराईको भूभाग राखिनु आवश्यक छ । कर्णाली प्रदेशलाई बाँके र बर्दियाले तराईसँगे अलग्याएको छ । यो बेठीक हो ।” सचिव सुवालले भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य जग्यबहादुर शाहीले आफूलाई कम्युनिस्ट भन्ने वर्तमान सरकारका मन्त्रीहरू भ्रष्टाचारमा चुर्लुम्म डुबेको र सरकारले ‘सुखी नेपाली समृद्ध नेपाल’को झुटो नारा दिएर जनतालाई झुक्याइरहेको छ भन्नुभयो ।
पार्टीका अर्का केन्द्रीय सदस्य नर्मा गुरूङले स्थानीय तहमा भ्रष्टाचार अचाक्ली बढेको चर्चा गर्दै आफ्ना मान्छेलाई ठेक्का दिने, कमिसन बाँडेर खाने प्रवृत्ति बढ्दै गएको छ भन्नुभयो ।
पार्टीका अर्का केन्द्रीय सदस्य एवम् नेक्रा महिला सङ्घका केन्द्रीय अध्यक्ष अनुराधा थापामगरले ओली–प्रचण्ड सरकारको दुई वर्ष भ्रष्टाचार र अनियमितताका अनेक काण्डमा बितेको बताउनुभयो ।
“अन्धविश्वास हटाउन सचेतनामूलक गतिविधि बढाउनुको साथै पाठ्यक्रममा अन्धविश्वासबारे शिक्षा दिनु आवश्यक छ”, उहाँले भन्नुभयो ।
नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य राजेन्द्र चवालले एमसीसी सम्झौता नेपालको हितमा नभएकोले तत्काल खारेज गर्नुपर्छ भन्नुभयो ।
सभामा नेमकिपा जुम्लाका शिवलाल डाँगी, नेमकिपा बाँकेका बखत थापा, नेक्राविसङ्घका केन्द्रीय अध्यक्ष सविन ख्याजू, नेमकिपा कालीकोटका ऐनबहादुर शाही, नेमकिपा अछामका झङ्कर शाहीले सम्मेलनको सफलताको शुभकामना दिनुभयो ।
जिल्ला सम्मेलन तयारी समितिका संयोजक हरिबहादुर बोहराको सभापतित्वमा भएको सो सभामा धनेन्द्र विकले पनि बोल्नुभएको थियो ।
उद्घाटन सभाअघि भएको ¥यालीले वीरेन्द्रनगर सहर परिक्रमा गरेको थियो । ¥यालीमा ‘एमसीसी सम्झौता खारेज गर ! अमेरिकी साम्राज्यवाद मुर्दावाद ! हिन्द–प्रशान्त रणनीतिमा सहभागी हुन पाइँदैन !विदेशी पुँजीका दलाल खबरदार ! लगायतको नारा लगाइएको थियो ।
सम्मेलन आइतबारसम्म चालू रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *