भर्खरै :

काठमाडौँमा किसान सम्मेलन

काठमाडौँ, १७ फागुन । नेपाल क्रान्तिकारी किसान सङ्घ काठमाडौँ जिल्ला समितिको चौथो जिल्ला सम्मेलन शनिबार सम्पन्न भयो ।
सम्मेलनको उद्घाटन गर्दै नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाईले समृद्धिको आधार कृषि क्षेत्र बेवारिसे भएको धारणा राख्नुभयो । सरकार कुहिरोको कागजस्तै भएको भन्दै हचुवामा कृषि योजना बनाई, कागजी घोडा दौडाइरहेको उल्लेख गर्नुभयो । उहाँले सरकारी अनुदान शासक पार्टीका नेता तथा कार्यकर्ताहरूबाटै चरम दुरुपयोग भइरहेको उल्लेख गर्दै उहाँले उपयुक्त माटो, हावापानी भएर पनि प्याजको निम्ति भारत निर्भर हुनु दुर्भाग्य हो भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य सनकमान महर्जनले एमसीसीको नाममा देशलाई विदेशीको रणभूमि बनाउने षड्यन्त्र भइरहेको धारणा राख्नुभयो । उहाँले कुनै पनि सहयोग देश हितमा छ छैन भनी हेर्नुपर्ने भन्दै कुनै पनि सर्तमा विदेशी सहयोग लिनु गलत हुने तर्क गर्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवम् काठमाडौँ जिल्ला समिति अध्यक्ष नारायण महर्जनले राजनीतिक परिवर्तन भएर पनि किसानको समस्या समाधान हुन नसकेको भन्दै किसानको सङ्गठिन सङ्घर्षबाट परिवर्तन सम्भव भएको विचार राख्नुभयो ।
नेमकिपाका अर्का केन्द्रीय सदस्य राजवीर डंगोलले एमसीसी सम्झौता फिर्ता नगरिएसम्म आन्दोलन जारी राख्नुपर्ने भन्दै देशभक्त जनताको जीत अवश्य हुने भनाइ राख्नुभयो ।
नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य नारायणबहादुर दुवालले किसान सङ्घर्षको कारण किसानले हकअधिकार पाएको भन्दै नेमकिपाले किसान सङ्घर्षलाई जोड दिइरहेको बताउनुभयो ।
नेक्राकिसङ्घका केन्द्रीय सदस्य श्याम विसंखेले युवा सबै विदेशिँदा जमिन बाँझो रहेको उल्लेख गर्दै वैदेशिक रोजगारीको ढोका खोल्नु नै गलत भएको विचार राख्नुभयो ।
नेक्राकिसङ्घ, काठमाडौँ जिल्ला सम्मेलन तयारी समितिका संयोजक गुणदास महर्जनको सभापतित्वमा भएको कार्यक्रममा नेमकिपा तारकेश्वर नगर समितिका अध्यक्ष श्यामकुमार महर्जन, टोखा नगर समितिका अध्यक्ष रवीन्द्र डंगोल, कुलनारायण डंगोललगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
शनिबारै बसेको बन्दसत्रबाट वीरबहादुर डंगोलको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति गठन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *