भर्खरै :

संरा अमेरिकासँग सैनिक सम्बन्ध तोड्दै फिलिपिन्स

मनिला, २ मार्च । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो ड्युटेर्टेलाई संरा अमेरिकासँग विद्यमान आगन्तुक शक्ति सम्झौता (भीएफए) विस्थापित गरी नयाँ सैनिक सम्झौताको लागि वार्ता गर्न कुनै अधिकार नभएको उनका प्रवक्ता साल्भाडोर पानिलोले आइतबार बताएका छन् ।
पानिलोले राष्ट्रपति ड्युटेर्टे संरा अमेरिकासँग कुनै नयाँ सैनिक सम्झौता गर्न नचाहेको बताउँदै भीएफए खारेज गर्न राष्ट्रपति प्रतिबद्ध रहेको बताए ।
संरा अमेरिकाको लागि फिलिपिन्सका राजदूत जोसे मानुएल रोमुल्डेजको संरा अमेरिका र फिलिपिन्सबीच भीएफएजस्तै अर्को सहमति गर्ने बाटोको खोजी भइरहेको भन्ने भनाइलाई पानिलोले खण्डन गरेका छन् ।
“मैले राजदुत रोमुल्डेजसँग हालै कुराकानी गरें । उनले आफूले त्यस्तो नभनेको बताएका छन् । बरु आफूले फिलिपिन्सको लागि अरु कुनै उपयुक्त सहमति फाइदाजनक छ कि छैन भन्ने विषयमा अध्ययन गरिरहेको बताएको मलाई जानकारी गराए”, पानिलोले भने ।
उनले संरा अमेरिकाले सम्भावित नयाँ सहमतिको लागि दबाब दिइरहेको तर राष्ट्रपतिले संरा अमेरिकासँग कुनै नयाँ सम्झौता विचार नगरिसकेको बताए ।
“अहँ, राष्ट्रपतिबाट कुनै स्वीकृति भएको छैन । यो पक्कै पनि राजदूत रोमुल्डेजवा अमेरिकी समकक्षीको पहलकदमी हुनुपर्छ । उनीहरू बढी प्रभावित भएकोले उनीहरूबाट बढी पहल गरेको हुनसक्छ”, प्रवक्ताले भने ।
उनले संरा अमेरिकासँग कुनै पनि नयाँ सैनिक सम्झौताको लागि राष्ट्रपति ड्युटेर्टेले रोक लगाएको बताए ।
“राष्ट्रपतिको मतमा कुनै परिवर्तन भएको छैन । उनी भीएफए खारेज गर्न चाहन्छन् । उनी आत्मनिर्भर रहन चाहन्छन् । उनको मुख्य विषय यही हो”, उनले भने ।
गत साता राष्ट्रपति ड्युटेर्टेले सार्वजनिकरूपमा दिएको एक भाषणमा संरा अमेरिकी सेनाको सहयोगबिना नै फिलिपिन्सका सेना आतङ्कवादविरुद्ध लड्न सक्षम भएको बताएका थिए ।
गत फेब्रुअरी ११ मा फिलिपिन्सले औपचारिकरूपमा संरा अमेरिकासँगको भीएफए सम्झौता एकपक्षीयरूपमा खारेज गर्ने जानकारी वाशिङ्टनलाई गराएको थियो ।
संरा अमेरिका र फिलिपिन्सबीच सन् १९९८ मा भीएफए सम्झौतामा हस्ताक्षर गरेको थियो । सो सम्झौताले दुई देशबीच संयुक्त सैनिक अभ्यास हुँदै आएको छ । सन् १९९९ मा फिलिपिन्सको भूमिका रहेको अन्तिम संरा अमेरिकी सैनिक आधार बन्द भएको सात महिना पछि सो सम्झौता फिलिपिन्सको संसद्ले अनुमोदन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *