भर्खरै :

वार्षिकोत्सव होस् त यस्तो !

 नम्रता श्रेष्ठ
शनिबारको घमाइलो बिहानी । विद्यालयको ठूलो मैदानमा दस बज्दा–नबज्दै हजुरआमा–हजुरबुबाहरू आउने क्रम सुरु हुन्छ । कोही हिँडेर, कोही लौरो टेक्दै, कोही मोटरसाइकलमा, कोही कारमा त कोही विद्यालयको गाडीमा आइपुग्छन् । विद्यालय पोशाकमा सजिएका शिक्षिका, छात्र–छात्रहरू मुस्कानसहित अभिवादन गर्छन्, स्वागत–सत्कार गर्छन् । निर्धारित स्थानसम्म पुग्न शिक्षिकाहरू र छात्राहरू मद्दत गर्छन् । सबै आगन्तुकको अनुहारमा उज्यालो र उमङ्ग छाउँदा वातावरण उल्लासमय बन्छ । केटाकेटीहरू रमाउन थाल्छन्, आफ्ना हजुरआमा र हजुरबुबा पनि स्कूल आउनुभएको देखेर । कोही केटाकेटी आ–आफ्ना हजुरबुबा–हजुरआमा आइनपुग्नुभएकोले थप व्यग्र बन्छन् । पाश्र्व सङ्गीतले उपस्थित भइसकेका सबैको मन आनन्दित बनाउँछ ।
एघार बज्दा–नबज्दै सम्पूर्ण मेच भरिसकेको हुन्छ र कार्यक्रम प्रारम्भ हुन्छ । कार्यक्रम थियो, लिबालीस्थित बाल विकास स्कूलको ३२ औँ वार्षिकोत्सव तथा हजुरबुबा–हजुरआमा सम्मान कार्यक्रम । मान्यजन सम्पूर्णको स्वागतमा कक्षा एक देखि तीनसम्मका ३ सय कलिला नानीहरू चिनियाँ भाषाको गीतमा आकर्षक सामूहिक नृत्य प्रस्तुत गर्छन् । सुरुमै कार्यक्रमको रौनक उत्कर्षमा पुगेझैँ हुन्छ । देशभक्तिपूर्ण स्वागत गीतले एकैछिन उपस्थितजनलाई सोचमग्न पार्छ । वातावरण थोरै संवेदनशील बनेको आभास हुन्छ । नाति–नातिनाका नृत्य, गीत–सङ्गीतले बुढ्यौली उमेरमा जोश र जाँगर बढाएको भाव हजुरबुबा–हजुरआमाका अनुहारमा छचल्किन्छ । धेरैले सन्तोषको लामो श्वास तान्छन् ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित) को शुभकामना सन्देश वाचन हुन्छ । आफ्नो नजिकको नातेदारको असामयिक देहावसानको कारण प्रमुख अतिथि आउन नसक्ने जानकारी सम्प्रेषणपश्चात् उपस्थितजन एकै छिन एकआपसमा केही सोधेझैँ केही भनेझैँ गर्छन् । यसैबीच भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कलात्मक पानसमा दीप प्रज्ज्वलन गरी कार्यक्रमको औपचारिक समुद्घाटन गर्छन् । बत्ती निभाएर होइन, बालेर जन्म दिन मनाउने र आगन्तुकको स्वागत गर्ने पुरानो संस्कार, संस्कृति ¤ कति गज्जब ¤ कति उच्चकोटीको संस्कृति ¤ वरपर थप उज्यालो भएझैँ र मन–मनमा उज्यालो पुगेको आभास हुन्छ ।
अतिथिहरू ज्येष्ठ नागरिकहरूको सु–स्वास्थ्यको कामना पोख्छन् । दीर्घजीवनको निम्ति शुभकामना दिन्छन् । समाजको निम्ति आफ्नो जीवन अर्पेका, जवानी सुम्पेका र परिवर्तनको निम्ति दुःख–कष्ट भोगेका अग्रजहरूलाई यथोचित सम्मान दिइनुपर्ने मत जाहेर हुन्छ । घरपरिवारमात्र होइन, समुदाय र सरकार स्वयम् जिम्मेवार बन्नुपर्ने चर्चा चल्छ । अग्रजहरूको सम्मान नगर्ने समाजको कुनै भविष्य नहुने तर्क गर्छन् । पुरानो पुस्ता र नयाँ पुस्ताबीचको सुमधुर तथा जीवन्त सम्बन्ध विकास भए भविष्य उज्यालो हुने विचार व्यक्त गर्छन् ।
हजुरबुबा–हजुरआमाहरू आफ्नै हिसाबले ताली पिट्छन्, वक्ताहरूको भनाइमा समर्थनस्वरूप । मीठो बोलीले अग्रजहरूको सम्मान चलिरहँदा, योगदानको जयगान भइरहँदा, मुक्तकण्ठले प्रशंसाका शब्द बर्सिरहँदा समाजका ज्येष्ठ–वरिष्ठहरू खुसी नहोऊन् पनि कसरी ?
अझ तीन–चार पुस्ताको एकै थलोमा जमघटले एउटा विशाल परिवारको झ–झल्को दिएपछि हर्षविभोर हुनु अनौठो कुरा भएन । १०५ वर्षकी भीमथुकु प्रजापतिदेखि ९८ वर्ष, ९४ वर्ष र ७५ वर्ष नाघेका एक सय एकजना हजुरबुबा–हजुरआमाको उपस्थितिले वातावरण उल्लासमय र दृश्य आनन्ददायक बन्छ । यो वर्ष विद्यालयले ७५ वर्ष नाघेका अगुवाहरूको सम्मान गर्ने बन्दोबस्त मिलाएर प्रशंसनीय कार्य गरेकोमा कृतज्ञताको ओइरो लाग्छ । यो वर्ष ७३ वा ७४ टेक्दै गरेकाहरूले औँला भाँच्दै गरेको देख्नेहरू रमाइलो मानी गफिइँदै गरेको दृश्य रोचक नहुने कुरै भएन ।
अपराह्नको १२ नाघिसकेपछि सम्मान कार्यक्रम सुरु हुन्छ । धिमे बाजा बजाउने विद्यार्थीहरू जोशिएर बजाउन थाल्छन् । पियानो, तबला र बाँसुरीका सिद्धहस्त वादकहरू मङ्गलधुन बजाएर हजुरबुबा–हजुरआमाहरूको दीर्घायु तथा सु–स्वास्थ्यको साङ्गीतिक कामना गर्छन् ।
हजुरबुबालाई टोपी, दोसल्ला र उपहार नगर प्रमुख सुनिल प्रजापति र शिक्षासेवी मोहनप्रसाद प्रजापति क्रमशःवितरण गर्न थाल्छन् । दबुमा हजुरबुबा–हजुरआमासँगै नाति–नातिनामात्र होइनन् छोरा–बुहारी पनि उत्सुकता र उत्साह बोकेर पालै–पालो आइपुग्छन् । एवम्रितले सम्मान कार्यक्रम लगभग नब्बे मिनेट चल्छ । तर, कसैमा पनि उत्सुकता र उत्साहको कमी हुँदैन । नब्बे मिनेट बितेको चाल कोही पाउँदैनन् । सङ्गीतको आनन्ददायक धूनको भूमिका पनि बेजोडकै रह्यो भन्नु अन्यथा नहोला ।
हजुरबुबा–हजुरआमाको विद्यालय प्राङ्गणमा सामूहिक तस्वीर खिचिन्छ । १०१ जनालाई हेर्न अरू सयौँको सङ्ख्यामा जम्मा हुन्छन् । तस्वीर खिच्न बसेका हजुरआमा–हजुरबुबाहरू ज्ञानी नानी–बाबुहरूझैँ शान्तपूर्वक बस्छन् । केटाकेटीझैँ रमाउँछन् । घरि–घरि मुस्कुराउँछन् र आत्मसन्तुष्टि प्रकट गर्ने प्रयत्न गर्छन् । नानी–बाबुहरू पढ्ने विद्यालयमा ७५ वर्ष नाघिसकेका ज्येष्ठहरूलाई देखेर र उहाँहरूका क्रियाकलापलाई नियालिरहेका परिवारजन तथा आफन्तजन झन् बढी प्रफुल्लित हुन्छन् । आवश्यक सहायतामा स्व–स्फूर्तरूपमा जुट्छन् ।
१२ नबज्दै विद्यालयले बन्दोवस्त गरेको एक गिलास दूध खाएका हजुरबुबा र हजुरआमाहरू करिब दुई बजेतिर सामूहिक भोजनमा सरिक हुन्छन् । विद्यालयका शिक्षिकाहरू धमाधम खानेकुराको बन्दोबस्त गर्नेतिर लाग्छन् । ज्ञानी नानीहरूझैँ हल्ला नगरी खुसीपूर्वक भोजन गर्छन् । एक–एक परिकार मीठो मानी–मानी खान्छन् । मिष्ठान्न भोजनपश्चात् आभार व्यक्त गर्दै, विद्यालय परिवारलाई आशीर्वाद दिँदै हजुरबुबा–हजुरआमा बिदा हुन्छन् । शिक्षक–शिक्षिका, छात्र–छात्रा, सहयोगी तथा कर्मचारीहरू थकाइ बिर्सन्छन् र प्रशन्न मुद्रामा गौरवबोध गर्छन् । बेग्लै आनन्दको अनुभव गर्छन् । एउटा सानो कर्तव्य पूरा गर्ने मौका मिलेकोमा उनीहरु भाग्यमानी ठान्छन् ।
उता वार्षिकोत्सवको सांस्कृतिक कार्यक्रम चलिरहेको हुन्छ । देशप्रेमका गीत बजिरहन्छन् । चेतनामूलक सन्देश बजिरहेछ । हजुरबुबा–हजुरआमाको सम्मानको खुसियालीमा ८ सत्न्दा बढी नाति–नातिना दबुमा नाच्छन् । चार सत्न्दा बढी विद्यार्थीले अभिभावक शिक्षकले बनाएका हस्तकला, खेर जाने सामानबाट बनाइएका सामग्रीको प्रदर्शनी स्थलमा अवलोकन गर्ने जिज्ञासुहरूको पनि कुनै कमी छैन । फोटो खिच्ने र खिचाउने किशोर–किशोरी, युवक–युवतीको सङ्ख्याले कुनै मेलाको मनमोहक दृश्यको सम्झना गराउँदै छ ।
यसरी भक्तपुरको लिबालीस्थित बाल विकास इङ्गलिस सेकेन्डरी स्कूलको ३२ औँ वार्षिकोत्सव उदाहरणीय र सबैको मन छुने ढङ्गमा सम्पन्न हुँदा लगभग अपराह्नको ५ बज्छ । माहुरी र कमिलाझैँ मेहेनत, सामूहिक कार्यमा खटिरहेका शिक्षक–शिक्षिका स्वयम्सेवक छात्रछात्राले सबैको मन नजित्ने कुनै कारण छैन । बिदाइको हात हल्लाउँदै अतिथिहरू, अभिभावकहरू भन्छन्–एउटा अविस्मरणीय कार्यक्रम । वार्षिकोत्सव होस् त यस्तो ! यो हर्षको आँसु उपहार छोडेर हामी जाँदै छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *