भर्खरै :

युरोप जान आतुर शरणार्थीहरू टर्कीमा

टर्की, ४ मार्च । ग्रीससँग सिमाना जोडिएको टर्कीको उत्तरपश्चिम क्षेत्रमा हजारौं अवैध शरणार्थीहरू युरोप पस्न आतुरीका साथ कुरिरहेका छन् ।
बितेका पाँच दिनमा उनीहरू ग्रीस पस्न टर्कीको इर्डेन प्रान्तको पजारकुल सिमाना गेट ढकढकाइरहेका छन् । तर, उनीहरूमाथि ग्रीसेली सुरक्षा बलले निर्मम व्यवहार गरिरहेका छन् । शरणार्थीहरूमाथि अश्रुग्यास, पानीको फोहोरा र रबरका गोली हानेर भगाउने प्रयास भइरहेको छ ।
इरानी शरणार्थी जाफारी पाँच दिनअघि केसरीको मध्य एन्टोलिया प्रान्तको सिमाना क्षेत्रमा आइपुगेका हुन् । पछिल्लोपटक उनले सिमाना नाघ्न खोज्दा ग्रीसेली प्रहरीले हानेको अश्रुग्यास उनको टाउकोमा लागेको थियो ।
“मेरो टाउकोमा चार टाँका छ”, उनले भने । उनले दस पटक ग्रीस पस्ने प्रयास गरे । तर, उनी सफल भएनन् ।
“म यहाँ कहिलेसम्म बस्नुपर्ने हो, मलाई थाहा छैन । तर, म दिन र रात गरेर सिमानाको गेट खोल्ने प्रयास गरिरहने छु”, उनले भने ।
युरोप जान चाहने शरणार्थीलाई टर्कीले अब बाटो नछेक्ने भन्ने समाचार टेलिभिजनमा हेरे पछि आफ्ना केही साथीहरूसँग गत शुक्रबार पजारकुल आइपुगेका एक अर्को इरानी शरणार्थीले पनि आफूमाथि ग्यासको खोका लागेको सुनाए । ग्यासको खोकाले उनलाई कानमा पोलेको छ । “सबै रोइरहेका छन् । हावाले ग्यासको धुँवा उडाउँदा जङ्गलमा बसेका केटाकेटीसमेत प्रभावित भए ।” आफूले सामना गरेको अवस्था व्याख्या गर्दै उनले भने ।
टर्की र ग्रीसलाई विभाजित गर्ने त्र्रोस नदी डुङ्गा, ¥याफ्ट र माछा मार्ने डुङ्गा तरेर शरणार्थीहरू ग्रीस जान खोजिरहेका छन् । नदी तर्न सहज हुने भएकोले अहिले शरणार्थीहरूले दोरेन गाउँलाई आफ्नो आधार बनाएका छन् ।
शरणार्थीहरू बसेको क्षेत्रको तापक्रम एक डिग्री सेल्सियसमा झरेकोले शरणार्थीहरूले न्यानो ठाउँ खोजेर पाल राख्न खोजिरहेका छन् ।
सिरियाली शरणार्थी रामिज दुई दिनअघि ऋण गरेर टर्कीको दक्षिणपूर्वी प्रान्त अदनाबाट त्यहाँ आइपुगेका छन् । “म अहिले कुर्छु र जतिबेला सम्भव हुन्छ त्यत्तिबेला सीमा पार गर्नेछु”, उनले भने । कदाचित उनले सिमाना पार गर्न नसके अदना फर्केर ऋण चुक्ता गर्ने सोचमा छन् ।
गत साता टर्कीले युरोप जान चाहने अवैध शरणार्थीको लागि बाटो खोलिदिएको थियो । सिरियाको उत्तरपश्चिम प्रान्त इडलिबमा भएको हवाई हमलामा कम्तीमा ३३ जना टर्कीका सिपाहीं मारिएपछि उसले बाटो खोल्ने निर्णय गरेको हो । इडबिल सिरियाको अन्तिम विद्रोही नियन्त्रित क्षेत्र हो । टर्कीमा अहिले ३७ लाख सिरियाली छन् । इडबिलको युद्धपछि १५ लाखभन्दा बढी मानिस भागेर सिरियाको टर्कीसँगको सीमा क्षेत्रमा आइपुगेका छन् ।
टर्की सरकारले यसअघि शरणार्थीहरूको नयाँ भीड आफूले सम्हाल्न नसक्ने बताएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *