भर्खरै :

ख्वप कलेज अफ इन्जिनियरिङमा कम्प्युटर इन्जिनियरिङ कार्यक्रममा कुनै अन्योल छैन

काठमाडौं, २३ फागुन । ख्वप कलेज अफ इन्जिनियरिङले शुत्रबार एक वक्तव्य जारी गरी त्रिविले कम्प्युटर इन्जिनियरिङ शैक्षिक कार्यक्रम सञ्चालनको सन्दर्भमा केही सञ्चारमाध्यममा प्रकाशित समाचार र केही संगठनका वक्तव्यप्रति ध्यानाकर्षण गरेको छ । कलेजका प्राचार्य ई सुनिल दुवालले जारी गर्नुभएको वक्तव्यमा लेखिएको छ, “सर्वसाधारण जनताका छोराछोरीलाई सस्तोमा गुणस्तरीय प्राविधिक शिक्षा प्रदान गर्दै आएको भक्तपुर नगरपालिकाद्वारा सञ्चालित यस ख्वप कलेज अफ इन्जिनियरिङको नाम उल्लेख गरी मन्त्रीपरिषद्बाट बी.ई. कम्प्युटर इन्जिनियरिङ शैक्षिक कार्यक्रम स्वीकृति सम्बन्धमा फागुन १८ गते ‘कान्तिपुर’ दैनिकको समाचार, फागुन १९ गतेको ‘कान्तिपुर’ दैनिककै सम्पादकीय तथा फागुन २१ गतेको त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघको प्रेस विज्ञप्तिप्रति यस कलेजको ध्यानाकर्षण भयो ।”
वक्तव्यमा अघि भनिएको छ,“यस कलेजले २०६५ सालमा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिई स्नातक तह सिभिल र इलेक्ट्रिकल विषय सञ्चालन गर्दै आएकोमा २०७४ साल साउन १ गतेबाट कम्युटर इन्जिनियरिङ शैक्षिक कार्यक्रम सञ्चालन गर्न त्रिभुवन विश्वविद्यालय योजना निर्देशनालयबाट स्वीकृत भई शैक्षिक सत्र २०७४-७५ देखि कम्प्युटर इन्जिनियरिङ शैक्षिक कार्यक्रम सञ्चालनमा रहेको स्पष्ट पार्न चाहन्छौं । सो शैक्षिक कार्यक्रमको नेपाल इन्जिनियरिङ परिषद्को इन्जिनियरिङ शिक्षण संस्थालाई मान्यता प्रदान गर्ने विनियमावली २०६६ बमोजिम नेपाल इन्जिनियरिङ परिषद्बाट स्वीकृतिको लागि सम्बन्धित मन्त्रालयबाट नेपाल सरकार मन्त्री परिषद्मा सिफारिस गरिएको हो । मन्त्रीपरिषद्को सो निर्णयअनुसार नेपाल इन्जिनियरिङ परिषद्बाट उक्त कार्यक्रम सञ्चालन गर्न अस्थायी मान्यताको स्वीकृति प्राप्त भएको छ ।”
“कम्प्युटर इन्जिनियरिङ शैक्षिक कार्यक्रम सञ्चालन सम्बन्धमा कुनै अन्योल नभएको तथा समाचार तथा वक्तव्यमा उल्लेख भएबमोजिम सो निर्णय त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धित नभएको व्यहोरा सम्पूर्ण विद्यार्थी, अभिभावक र सर्वसाधारणको जानकारीको लागि यो प्रेस विज्ञप्ति जारी गरिएको छ”, वक्तव्यमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *