भर्खरै :

गुठी ः नेवार सामाजिकीकरणको संस्थाकृत प्रयास

प्रा. प्रयागराज शर्मा
नेवारी समाजद्वारा आविष्कृत यो आधारभूत जीवनपद्धतिलाई केही विस्तारमा चर्चा गरौँ । गुठीका दुई महत्वपूर्ण अङ्ग छन् ः एक, यससँग आबद्ध भूमि र दोस्रो, यस सङ्गठनभित्र समान जिम्मेदारी बेहोर्ने गुठियार वर्गको रचना । यस पद्धतिको आरम्भदाता वा दानपतिले धार्मिक अथवा सांस्कृतिक कृत्यलाई उद्देश्य गर्दै एउटा ‘दत्त भूमि’ सङ्कल्प गरेर गर्दछ । त्यस्तो भूमिको आयस्ताबाट निर्दिष्ट कृत्यको सम्पादन गर्ने एउटा अचल व्यवस्था कायम गरिन्छ र सम्बन्धित गुठियार समूहलाई वर्ष–प्रतिवर्ष अटुट ढङ्गले यस्तो कृत्य पूरा गर्ने जिम्मा लगाइन्छ । गुठीको सङ्गठित रूप केवल पुरुष वर्गको सक्रियताबाट मात्रै अभिव्यक्त हुन्छ । परिवारको मूल पुरुष नै गुठीको प्रतिनिधि सदस्यताको रूपमा सम्मिलित हुन्छ । केही धार्मिक र सामाजिक विधि सम्पादन गर्ने बेलामा मात्र, उमेरले सबभन्दा ज्येष्ठ पुरुष, ‘थकाली’ की पत्नी ‘नकीँ’ (संस्कृतः ‘नायकिनी’) गुठी–विशेषको कार्य–सम्पादनमा बेलाबखत सम्मिलित गराइन्छिन् ।
गुठी व्यवस्थाको ऐतिहासिक उद्गम लिच्छविकालसम्म नै पुग्दछ । किनकि गुठीको पहिलो आधारशिला भूमि हुनाले, लिच्छवि भूमि प्रशासन नीति नै यसको उदयको मुख्य कारण भएको हुनुपर्छ भन्ने कुरामा कुनै विवाद हुनसक्तैन । लिच्छविकालमा भूमिमा आश्रित विभिन्न प्रकारका समूहको नाम मध्यकालमा आउँदासम्म निकै परिवर्तित भइसकेको पाइन्छ र जग्गालाई ‘दत्त भूमि’ गरी राख्ने विभिन्न प्रक्रिया विस्तारै अब एउटा सर्वप्रचलित ‘गुठी’ नामबाट गुठीकरण भएर गएको र यस्ता गुठीका सबै भागीदार गुठियार कहलाएर गएको पाइन्छ । नेवारी समाजमा गुठीको व्यापकता र अनिवार्यता नै यसको स्पष्ट विशेषता हो । नेवारी समाजलाई यसले त्यसरी बाँधेको छ जसरी नसाको एउटा जालोले शरीरलाई बाँधेको हुन्छ । नसाको माध्यमबाट शरीरको सम्पूर्ण भागमा रक्त प्रणालीद्वारा जीवनशक्तिलाई सञ्चालित गरेझैँ नेवारी समाजलाई पनि गुठीले त्यसरी नै अनुप्राणित गरेको पाइन्छ । केवल वर्तमानका दशकहरूमा आधुनिकीकरणका चापले गरेर यसमा धेरै प्रकारका शिथिलता आएको छ । गुठीका कति प्रकार र किसिम त आज टुटेर गइसकेका छन् तर पनि नेवारको ‘सी गुठी’ वा त्यसैको प्रकारान्तरको ‘साना गुठी’, तिनका जीवनमा अझै त्यत्तिकै सक्रिय र उपयोगी सिद्ध भएको पाइन्छ ।
पूर्व–मध्यकालका केही सामाजिक प्रचलन र प्रवृत्तिहरू पनि गुठीलाई आजको यसको वर्तमानरूपमा विकसित गराउन सहायक भएका छन् भन्ने कुरा पक्कै छ । (१) पहिलो त यसकालमा पूजा–अर्चनासँग सम्बन्धित गोष्ठी वा परिसमूहको बराबर उल्लेख पाइन्छ । जस्तै ने.सं. २२९ मा ‘गोठी पाञ्चालिक’, ने.सं. २९३ र २९४ मा ‘प्रतिपद गोष्ठी’ र ‘द्वादशी गोष्ठी’ को उल्लेख, ने.सं. ५२८ मा ‘माघीव्रत गोष्ठी समुच्चय’ को उल्लेख इत्यादि ।
(२) सदस्यहरूको उमेरको ज्येष्ठताको आधारमा विभिन्न बौद्ध विहारस्थित सर्वविहार सङ्घमा दस जनाको एउटा समूह बनेको पाइन्छ जसलाई ‘दसजननायक’ भनिन्छ । यिनमध्ये सबभन्दा उमेरमा ज्येष्ठ व्यक्तिलाई ‘महास्थविर’ (संस्कृत) ‘स्थविरपाद’, ‘थापाआजु’ वा ‘थापाजु’ (नेवारी) भनिन्छ । थापाजुकै अर्को उच्चारण भेद नेवारीको ‘थेय्पा’ पनि हो । यसमा प्रथम पाँचहरूलाई ‘पञ्चमहास्थविर’ (संस्कृत) वा ‘पैथ’ (नेवारी भनिन्छ । अन्य पाँचमध्ये निर्दिष्ट जिम्मेदारी लिने पदमा ‘आजु’, ‘बिसजु’, ‘बेटाजु’, ‘गुरूपुरोहित’ पर्दछन् । यस दसजनाको समूह बिहारको सम्पत्तिको हेरविचार र बिहारमा आफ्नो सर्वसङ्घ समाजबाट गरिने अन्य सामाजिक विधि र धार्मिक कर्मकाण्डको सम्पादनमा संलग्न हुन्छ । यो सर्वसङ्घीय ‘महास्थविर’ र ‘स्थविर’ को व्यवस्था पूर्व–मध्यकालदेखि नै प्रचलनमा आएको उदाहरण हेमराजद्वारा प्रकाशित ने.सं. २३५ को रुद्रवर्णमहाबिहारको सम्पूर्ण नेवारी भाषामा लेखिएको ताडपत्रबाट स्पष्ट पाइन्छ ।
३) पारम्पारिक हिन्दू÷बौद्ध समाज आदर्श संयुक्त–परिवारको सिद्धान्तमा आधारित देखिन्छ । कृषिप्रधान समाजको लागि यो व्यवस्था स्वाभाविकरूपले व्यावहारिक पनि हुन्छ । लिच्छविकालदेखि नै ठूलो र विस्तृत परिवार व्यवहारमा प्रचलित थियो । संयुक्त परिवारभित्रको सम्पत्ति पनि संयुक्त स्वामित्वमा राखिएको हुन्थ्यो । लिच्छवि शासकहरूले लागू गरेको दण्ड विधानमा कुनै व्यक्तिले ठूलो अपराध गरेमा परिवारभित्रका अन्य अंशियारको सम्पत्ति हरण नहुने र त्यस्तो सदस्यको आफ्नो अंश हकमात्र सरकार लाग्नेछ भनेर गरेको दण्ड विधानको परिवर्तनले आएको अन्तरलाई स्पष्टसित देखाउँदछ । यस्तो बृहत् परिवारको नाइके वा मूल पुरुष उमेर वा पुर्खाले ज्येष्ठतम व्यक्तिलाई मान्ने सिद्धान्त प्रायः कृषिप्रधान समाजमा पाइन्छ । सबै पारिवारिक मामलामा यस्तो मूल पुरुषको निर्णायक भूमिका सधैँ भइरहन्छ । नेवारी फुकी स्तरदेखि सक्रिय पाइने अन्य विभिन्न गुठीहरूमा ‘थकाली’ ले यही प्रमुख भूमिका स्पष्टरूपमा खेलेको देख्न पाइन्छ । गुठी प्रथाको उत्पत्ति र विकास यसरी पारिवारिक मूलबाटै भएको कल्पना गर्न सकिन्छ । यस पारिवारिक स्तरको सङ्गठनमा ‘थकाली’ को पत्नी ‘नकीँ’ को भूमिका पनि प्रमुख छ । सबै सामाजिक घटना, पूजा–आजा र संस्कारहरू सम्पन्न गर्दा ‘नकीँ’ ले एउटा अग्रणी स्थान लिन पुगेकी हुन्छिन् ।
अब ‘थकाली’ परम्पराको ऐतिहासिकतातर्फ दृष्टिपात गर्दा यसको प्रचलनको एउटा लामो वैचारिक सिलसिला देखिन आउँछ । यससँग मिल्दोजुल्दो एउटा ‘थङ्कादि’ भन्ने शब्दको पहिलो प्रयोग ने.सं. ५७२ को लुभुको शिलालेखमा पाइन्छ
। तर, यही भावनालाई बुझाउने नेवारी नभई समानार्थी संस्कृत शब्द ‘कुलपत्रज्येष्ठ’ को प्रयोग ने.सं. २२४ मा पाइन्छ । यस शब्दलाई छोट्याउँदा पछि ‘कुलज्येष्ठ’ मात्रै भनेको शब्द पनि पाइन्छ । लिच्छविराजा शिवदेव प्रथमको विष्णुपादुकाको अभिलेखमै एक जना ‘महाबलाध्यक्ष कुलप्रवीर’ को उल्लेख आउँछ । हुन त यहाँ यो नाम व्यक्तिवाचक पनि हुनसक्छ, तापनि कुलको वरीयताको भावनासित यो शब्द राम्रै परिचित थियो भन्ने कुरा पनि यसबाट देखिन आउँदछ । त्यस्तै नरेन्द्र देवको अनन्तलिङ्गेश्वरको शिलालेखमा हंसगृहदेवको जात्रा सु–सम्पन्न गर्ने मुख्य व्यक्ति त्यस द्रङ्गका ‘कुलपति’ देखिन्छन् । यस ‘कुलपति’ पदको तुलना वर्तमान नेवार ग्रामीण बस्तीस्थित त्यहाँका मन्दिरका प्रधान ग्राम–देवी अथवा देवता–विशेषको सम्मानमा गरिने वार्षिक जात्रा चलाउने गुठीको प्रमुख व्यक्ति अर्थात् त्यसको ‘थकाली’ सित सजिलै हुनसक्छ ।
(४) माथि वर्णित तीनै किसिमका पारम्परिक संरचना र सङ्गठनलाई बल र आधार दिने मूल स्रोत भूमि र त्यसको आयस्ता नै हो । यदि दाता शासकले कुनै धार्मिक बन्दोबस्तलाई बृहत्तर स्तरमा राख्न खोजेमा ‘दत्त–भूमि’ को बर–व्यवस्था र सञ्चालनको कार्य पनि यसभित्रकै एउटा प्रमुख अभिभारा हुनजान्थ्यो । यसका निम्ति उही पुरानो लिच्छवि समाजको ‘गोष्ठी’, ‘पाञ्चाली’, जस्तै पूरै भूमिमा आश्रित पूर्ण समय काम गर्ने खास ‘गुठी’ समुदाय केही परिवर्तितरूपमा पूर्वमध्यकालसम्म व्यवस्था गरेको पाइन्छ । यसको राम्रो उदाहरण भक्तपुर यक्षेश्वर मन्दिरको गुठीसित सम्बन्धित ने.सं. ६०७ र ६१४ को ताम्रपत्रले प्रस्तुत गर्दछ । यदि ने.सं. ६०७ को ताम्रपत्रको १२ रोपनी भूमिमा प्रतिवर्ष फल्ने धानको आयस्ताबाट यक्षेश्वरलाई ताम्रघडाले स्नान, अक्षता, पुष्पले पूजा, दही र चिउराले नैवेद्य अर्पण गर्ने आह्वान गर्छ भने, दोस्रो ने.सं. ६१४ को यक्ष मल्लका छोराहरूले राखेको अर्को सुवर्णपत्रानुसार त्यसमा यस मन्दिरको अझ ठूलो व्यवस्था बाँधेको देखिन्छ । यसका निमित्त अर्पित कुल ‘दत्त–भूमि’ को सङ्ख्या २६७ १÷२ रोपनी छ । यसका गुठियारहरूमा ८ विभिन्न भक्तपुर टोल निवासी व्यक्तिलाई तोकिएको छ । यिनलाई मन्दिरको नित्यपूजा र वार्षिक पूजा सम्पन्न गराउने जिम्मा दिइएको छ । गुठी जग्गालाई विभिन्न करबाट मुक्त राखिएको भाकाका पनि अभिलेखमा उल्लेख छ । सम्पूर्ण भूमिको व्यवस्था गर्ने अधिकार वा स्वामित्व ती आठ गुठियारहरूलाई दिइएको छ । अन्तिम वाक्यमाः
‘यो मन्दिरमा नियुक्त गुठियारहरूले राजाहरूबाट वृत्ति लिई, गाउँ किल्ला लिई, भण्डारे भई राजसेवामा संलग्न हुनुहुन्न’ ।
उपर्युक्त वाक्यबाट गुठी कार्य र गुठी जग्गाको सञ्चालन अभिभारा स्वयंमा पूर्ण र एउटा पूरा समयको वृत्ति थियो र यसमा काम गर्ने गुठीयारले अन्य वृत्ति वा राज सेवा लिन हुँदैन भन्ने कुरा स्पष्टसँग बुझिन्छ ।
वर्तमान नेवार समाजमा गुठी प्रथालाई विभिन्न स्तरमा र विभिन्न उद्देश्यको परिपूर्ति गर्ने उद्देश्यले अझै सुसङ्गठित र यथावत राखेको पाइन्छ । यिनमा सबभन्दा आधारभूत गुठी फुकी स्तरमा गठित ‘दिगु द्यः गुठी’ हो । त्यस्तै अर्को मूलतः कुल वा गोतिया स्तरमा जन्मेको अत्यन्त महत्वपूर्ण गुठी ‘सी गुठी’ हो । सामान्यता यसका मूल सदस्यमा आफ्नै गोतियारहरू (ीष्लभबनभ) हुन्छन् । तर, गोतियारभित्र टुक्रिने अनवरत प्रक्रिया, पारिवारिक झै–झगडा अथवा वर्तमान कालमा हुने स्थानान्तरण र बसोबास सर्ने प्रवृत्तिले आज यसको मूल स्वरूपलाई पहिलेभन्दा निकै खल्बल्याइदिएको देखिन्छ, जसले गर्दा यसको संरचनामा हिजोआज केही परिवर्तन भएको पाइन्छ । विशेषगरी ६ थरी श्रेष्ठको ‘सी गुठी’ भित्र आफू समान अन्य जातका अनुवंशलाई पनि सरिक गराएको पाइन्छ । तर, ‘सी गुठी’ को सदस्यता मूलतः अझै पारिवारिक जन्मकै सिद्धान्तमा आधारित छ जसअनुसार बाबुको ‘सी गुठी’ छोराको पनि ‘सी गुठी’ आपसेआप हुन्छ । यस्तो सी गुठीको औपचारिकता सदस्यता परिवारको मुली पुरुष सदस्यलाई मात्र दिइन्छ र उसका परिवारका अरू सदस्य स्वतः यस गुठीको सेवाभित्र समाविष्ट मानिन्छन् । चुलो फुटाई भिन्न बस्न थालेका छोराले भने सी गुठीको सदस्यता औपचारिकरूपले बेग्लै ग्र्रहण गर्नुपर्दछ । चित्रकारजस्ता अल्पसङ्ख्यक साना जातका हकमा ‘सी गुठी’ नै तिनको लागि जात गुठीसरह भएर काम गर्दछ । भक्तपुर चित्रकारको ‘देशला गुठी’ यस्तै प्रकारको एउटा गुठी हो ।
गुठीको अन्य समकक्ष प्रकारमा विभिन्न नाट्य–खलः वा वाद्य–खलः पर्दछन् अथवा विभिन्न जातमा यी सबै कुनै ठूलो गुठीभित्रको उप–गुठी वा अङ्ग भएर रहेको पनि हुनसक्दछ । जस्तैः सम्यक गुठीकै सङ्गठनभित्र तुलाधरको ‘गुँला बाजं गुठी’ छ । यस वाद्य मण्डली गुँलाको महिनाभरि बाजा बजाउँदै स्वयम्भू दर्शनका लागि जाने गर्दछ ।
त्यस्तै विभिन्न स्नान, पूजा, व्रत, खटयात्रा वा त्यस्तै गतिविधिसित सम्बन्धित अन्य प्रकारका गुठी हुनसक्छन् । ‘संल्हु गुठी’ (सङ्क्रान्ति गुठी) जस्तो गुठी वा अन्य धेरै प्रकारका यस्ता गुठी यस प्रकारका गुठीमा पर्दछन् । यी पूरै स्वेच्छाले गठित गुठी हुन् । यसको सम्पूर्ण व्यय–भार सदस्यहरू आफैँबाट उठेको चन्दाबाट बहन गर्ने गरिन्छ , असनका तुलाधरलाई लिएर लिविसले यस्तो गुठीको विभिन्न प्रकारको सूची दिएका छन् ।
नेवार ग्रामीण बस्तीमा मुख्यरूपमा पुजिने देवी अथवा देवताका मन्दिरमा वार्षिक जात्रा सम्पन्न गर्न सम्पूर्ण गाउँलाई भेला गर्ने उद्देश्यको एउटा ‘तर’ वा ‘तवगुठी’ कार्यरत हुन्छ । यसको आफ्नो जिम्मेदारीलाई अन्य विभिन्न उप–गुठीहरू गठन गरेर बाँड्ने काम पनि यसभित्र हुनसक्छ ।
हाल सरकारले राजगुठीभित्र अथवा अन्य विभिन्न गुठी अड्डाभित्र राष्ट्रियकरण गरी धेरै परिमाणमा गुठी जग्गाहरूलाई सरकारी अधीनमा लिएको छ । त्यस्ता गुठीको परम्परा र तिनको खर्च चलाउने जिम्मा पनि गुठी संस्थानले लिएको हुन्छ । यस्ता गुठीको प्रमुख उदाहरणमा पशुपति गुठीबाट गरिने पूजा प्रबन्ध र रातो मत्स्सेन्द्रनाथका वार्षिक जात्रा र पूजा चलाउने प्रबन्ध पर्दछन् । यस्तो सरकारी व्यवस्थापनअन्तर्गत विशेष जिम्मेदारी वहन गर्ने कतिपय जनस्तरीय गुठीको अवशेष पनि पाइन्छ ।
सम्यक महादानको भावनाले प्रेरित भएर काठमाडौँको सम्पूर्ण ‘वन्द्यसमाज’
शाक्य र गुभाजू वर्गलाई बा¥ह वर्षमा एक पटक ‘सम्यक भोज’ ख्वाउन र त्यससम्बन्धी व्यवस्था गर्न काठमाडौँको उराय् समाजले एउटा ‘सम्यक गुठी’ राखेको छ । त्यस्तै पाटनमा प्रत्येक पाँच वर्षमा सम्पन्न गरिने ‘इल्हने सम्यक’ पनि त्यसकै निम्ति बनेको गुठीबाट सम्पन्न गराइन्छ । प्रचलित गुठी कार्यका यिनीहरू अर्का प्रकार हुन् ।
अन्तमा, गुठीको साम्प्रदायिक अथवा जातीय स्तरमा गठित केही अन्य गुठी पनि छन् । यिनमा भक्तपुरका निम्न चित्रकार जातिमा पाइने ‘देशला गुठी’ ले सो देश अर्थात् भक्तपुर सहरको सम्पूर्ण चित्रकार समाजलाई त्यसभित्र आबद्ध गर्न खोज्दछ । त्यस्तै किसिमको तर नेवार उच्च बौद्ध जाति अर्को मौलिक गुठी कान्तिपुरको अठार बहालसँग सम्बद्ध सम्पूर्ण बज्राचार्यहरूलाई समेट्ने ‘आचार्य गुठी’ हो सायद यस्तै जाति स्तरको गुठीबाट प्रेरित भएर होला वर्तमान समयमा एउटै देश अर्थात् बस्तीभित्र बस्ने विभिन्न जात–विशेषले पनि सो ठाउँका आफ्ना सबै सदस्यलाई समेट्ने, एकत्रित गर्ने मनसायले आफ्नो आफ्नो सम्प्रदाय स्तरमा गुठी रच्ने प्रवृत्ति बढेको देख्न पाइन्छ । यस्ता गुठीको मुख्य ध्येय आफ्नो जातिको साम्प्रदायिक एकतालाई अक्षुण्ण राख्नु, आफ्ना परम्परामा समसामयिक सामाजिक सुधार गर्नु र आफ्नो सामाजिक नियममा एकरूपता कायम राख्नु हो । काठमाडौँ कंसाकारको ‘कसा गुठी’ अथवा सम्पूर्ण मानन्धर समाजलाई एकत्रित गर्ने ‘केन्द्रीय मानन्धर सङ्घ’ (वि.सं. २०१० मा ‘सेङ्गु भ्वय्’ बाट सुरु भएको संस्था) र ‘ज्यापू महागुठी’ यसका उपयुक्त उदाहरण हुनसक्छन् । वर्तमान समयमा यस्तो जात गुठीको क्रियाकलापले नेवारका विभिन्न वर्गमा एउटा नयाँ साम्प्रदायिक चेष्टालाई जन्म दिएको पुष्टि सतेपा गाउँको अध्ययनबाट ईशीले पनि गरेका छन् । यस्तो गतिविधि भारतका विभिन्न प्रान्तमा पाइने जाति–सभा (अबकतभ बककझदष्भिक) का क्रियाकलापसँग केही मात्रामा मिल्दोजुल्दो देखिन्छ ।
यसप्रकार नेपाल÷नेवार परम्पराभित्र चलेको धार्मिक र सामाजिक प्रथा यस समाजले कैयौँ शताब्दीको संस्थागत विकासबाट उकासेको गुठी प्रथामा आधारित छ । गुठी सङ्गठनलाई चलाउने मूल जिम्मा आ–आफ्ना समूहको ‘थकाली’ मा निहित हुन्छ । वास्तवमा थकालीका अतिरिक्त, ज्येष्ठताक्रमले गुठी समितिमा सात अन्य पदवाला पनि हुनसक्दछन् । गुठीको कार्य, प्रकृति र सदस्य सङ्ख्यालाई हेरेर यसका सङ्गठन विधिमा केही सामान्य अन्तर वा यिनको आकार प्रकार ठूलो–सानो पनि हुनसक्दछ । जस्तैः सम्यक गुठीमा असनका तुलाधरहरूले भाग लिने सङ्गठनात्मक तरिका अथवा यसले अरू अतिरिक्त सहायकहरू पनि नियुक्त गर्नसक्ने प्रावधानले यो कुरा सिद्ध गर्दछ । आठ सदस्यीय गुठी समितिको बीचमा एउटा मर्यादा पङ्क्ति पनि रहेको हुन्छ, जसको अभिव्यक्ति पूजाको समय पशुबलिपछि पशुको टाउको खाने एउटा निश्चित विधि अपनाएर पूर्ण गरिन्छ । यस्तो विधिलाई ‘सिक भ्वय्’ भन्दछन् ।
हुन त गुठीको काम गर्ने तरिका अनौपचारिक हुन्छ । किनकि यसको कुनै निश्चित कार्यालय पनि हुँदैन र भेटघाटको औपचारिक समय पनि तोकिएको हुँदैन । तापनि यसले थकालीको रेखदेखमा आफ्नो हिसाबकिताब राख्ने र आफ्ना सदस्यलाई अनुशासन पालन गराउने र यसबाट च्युत हुने सदस्यहरूलाई दण्ड जरिवाना लगाउने कार्यमा तत्परता देखाउँछ । तर, बदलिंदो आधुनिक परिस्थितिमा गुठी समितिले आफ्ना पुर्खाले राखेर गएको जग्गा र सम्पत्तिमाथि नियन्त्रण र त्यसको स्याहार र सम्भार राम्ररी गर्न नसक्दा, अनि वर्तमान कालमा गुठी जग्गाको व्यापक हरण र वि.सं. २०१९ सालको भूमिसुधार इत्यादि सबैबाट गुठी परम्परा निकै क्षीण भएर गएको देखिन्छ । हाल परिवर्तित सन्दर्भमा कैयौँ नेवार समूहमा ‘सी गुठी’ को सञ्चालनको लागि बैङ्कमा नगदी कोष खोल्ने चलन बढेर गएको छ । जे होस् गुठीसम्बन्धी छलफल गर्न, त्यसको हिसाब–किताब मिलाउन गुठियारहरूको कुनै न कुनै बेला भेला हुनैपर्छ । यस परिपाटीलाई दिगो गर्न र समूहको एकता बनाइराख्न प्रत्येक गुठीले आफ्ना समाजमा कमसेकम एउटा वार्षिक भोज खाने चलन अझै कायम राखेको छ । यस्तो भोज आयोजना गर्ने जिम्मा गुठीका सदस्यहरूमा पालैपालो घुमाइन्छ । गुठीका अन्य क्रियाकलापका अतिरिक्त गुठी सञ्चालनअन्तर्गत भोज खाने एउटा लामो ऐतिहासिक परम्परा कायम छ । लिच्छवि नरेन्द्रदेवको अनन्तलिङ्गेश्वरको अभिलेखमा हंसगृहदेवको जात्राको प्रसङ्गमा यस्तो भोजको वर्णन आउँदछ जसको प्रबन्धमा ‘कुलपति’ (थकाली) को मुख्य हात रहेको देखिन्छ । त्यसैको अविच्छिन्न परम्परा पूर्व–मध्यकालमा पनि कायम रहेको र त्यस समयको सामूहिक भोजका कैयौँ उदाहरण त्यसकालबाट पाइन्छ, जसमध्ये केही भोज गुठीसित सम्बन्धित रहेको अनुमान हुन्छ । गोपाल राजवंशावलीमा भिक्षु भोज, ‘सवती भोज’ अथवा ‘समे’ को उल्लेख आउँदछ । गुठीलाई निरूपण गर्दा यसका अन्य एक, दुई लक्षण पनि देखापर्छ । आधुनिक कालका नयाँ साम्प्रदायिक गुठीको विचार नगर्ने हो भने गुठीले सक्रिय भएर काम गर्ने एउटा स्थानीय परिधि वा परिवेश हुन्छ । यो अनिवार्यतः एउटै ग्राम, बस्ती अथवा सहर भित्रमात्र सक्रिय र सीमित रहने संस्था देखिन्छ । गुठी संरचना र सञ्चालन परम्परालाई अवलोकन गर्दा नेवार समाजमा आज पनि कार्यरत दुई गुठी आधारभूत संस्थाको रूपमा देखिन्छन् ।
ती हुन्, फुकी स्तरमा गठित ‘दिगु द्यः गुठी’ र मृत्यु सेवा कार्यमा सक्रिय ‘सी गुठी’ । गुठीमा यिनै दुई गुठी सबभन्दा बढी स्थानीय चरित्रले युक्त देखिन्छ । प्रत्येक दिगु द्यः गुठीको वार्षिक दिगु द्यः पूजा सम्पन्न गर्ने आ–आफ्नो एउटा निश्चित ‘दिगु ख्यः’ हुन्छ । त्यस्तो ठाउँ एउटा खुला चौर, बारी, मन्दिर आदि ठाउँमा बनेको हुन्छ र जहाँ दिगु द्यः को प्रतीक एक शिला पनि राखिएको हुन्छ
(नेवारीः ‘पिगँ द्यः’) त्यस स्थलसँग यस्तो गुठी समूह अनिवार्यतः आबद्ध रहन्छ । यदि कुनै सदस्य आफ्नो पुरानो ठाउँ छोडेर अन्यत्रै बस्न गएको भए पनि दिगु द्यः पूजाको समयमा आफ्नो पुख्र्यौली ‘दिगु ख्यः’ मा उसलाई फर्कन बाध्य हुनुपर्दछ । नयाँ स्थानमा आफ्नो छुट्टै नयाँ ‘दिगु द्यः’ र नयाँ ‘दिगु ख्यः’ बनाउने निर्णय त्यस्तो व्यक्तिलाई एउटा ठूलै अप्ठेरो परेपछि मात्र सम्भव हुन्छ । काठमाडौँको ‘आचार्य गुठी’ भनौँ अथवा भक्तपुर चित्रकारको ‘देशला गुठी’ भनौं, दुवैले स्थानीयताको चरित्रलाई अपनाएको तथ्य स्पष्टसँग देखिन्छ । ‘सी गुठी’ रचनाको विधिले पनि त्यही स्थानीयताको सिद्धान्तलाई अवलम्बन गरेको देख्न पाइन्छ । यसको कार्य क्षेत्र एउटै बस्तीभित्र सीमित रहेको वास्तविकता आजसम्म कायम छँदै छ । वास्तवमा ‘सी गुठी’ को स्थानीयतालाई दाह–संस्कारको स्थानीयताले पनि पुष्टि गर्दछ । किनकि नेवारको मृतकलाई दाह गर्ने कार्य पनि जहाँ पायो उहीं नगरिकन आफ्नो तोकिएको पुख्र्यौली श्मशानमा आफ्नो पारिवारिक परम्परालाई अनुसरण गरेरमात्र गरिन्छ । कोही व्यक्ति यदि आफ्नो मूल थलो छोडेर अन्यत्र बस्न गएको छ भने उसले नयाँ ठाउँमा पनि आफू मिल्दो समाज हेरेर सी गुठीको स्थानीय सदस्य बन्नका निमित्त छुट्टै आवेदन गर्नुपर्छ र नयाँ श्मशानमा जलाउने अधिकार प्राप्त गर्नुपर्दछ । आफ्नो ‘सी गुठी’ बाट छुट्टिएको व्यक्तिलाई नयाँ समाजले सदस्य बनाउँदा उसको जातीय पृष्ठभूमिको राम्रो प्रमाण पाएपछि मात्र स्वीकार गर्दछ । सी गुठीको सदस्यता नपाउने नेवारको मृत्यु भएमा उसको मृत्यु–संस्कार बन्दै हुने स्थितिसम्म पनि आइपुग्न सक्दछ । यदि कसैको विजातीय विवाह भएको छ भने ‘सी गुठी’ ले विजातीय सदस्यको मृत्यु–संस्कार सम्पन्न गर्न अस्वीकार गर्नसक्छ । हुन त हिजोआज ‘सी गुठी’ मा अन्तर्जातीय विवाहको बढ्दो प्रवृत्तिले यसका नियममा परिवर्तनका निम्ति यसलाई निकै चाप दिएको छ तर यसभन्दा केही दसक अघिसम्म आफ्नो स्थानीयता र सजातीय एकात्मकता कायम गराउने दिशामा ‘सी गुठी’ ले एउटा प्रमुख भूमिका खेलेको र यसका माध्यमबाट जाति–अखण्डता (अबकतभ अयजभकष्यल) सुरक्षित राख्न यसले एक सक्षम निकायका रूपमा भूमिको खेलेको हुनु धेरै सम्भव छ । ‘द्यः गुठी’ र ‘सी गुठी’ को सञ्चालन र गठन प्रक्रियाबाट हामीलाई उत्तर भारतीय समाजमा प्रचलित ग्रामीण जातीय सभा (खष्ििबनभ अबकतभ बककझदष्भिक) को सम्झना हुन्छ ।
जसरी गुठी प्रथाको ऐतिहासिक विकासपछाडि लिच्छवि भूमि व्यवस्थाको निश्चित हात भएको कुरा माथि भनियो, गुठीको स्थानीयता निर्माण पछाडि पनि त्यसरी नै प्राचीन ग्रामीण नेपालको बस्ती प्रकार र शैली नै प्रमुख कारण भएको कुरा देखिन आउँछ । प्रत्येक बस्तीको सामाजिक आदान–प्रदान अधिकांश आफ्नै सिमानाभित्र रहेर सम्पन्न गर्ने प्रचलनको उत्पत्ति प्रति हामीलाई यताबाट सङ्केत मिल्दछ । यस स्थानीयतालाई नाघ्नसक्ने केही अवस्थाहरू छन् जसको पछि यथा प्रसङ्ग विचार गरिने छ ।
गुठी सञ्चालनमा वरीयताको क्रम निर्धारण उमेरमा ज्येष्ठताको नियम अपनाएर गरिन्छ । सदस्यमध्येको सबभन्दा ज्येष्ठ व्यक्तिलाई ‘थकाली’ पद प्रदान गरिन्छ । गुठी सङ्गठन प्राप्त प्रयागराज शर्मा थकालीको ठूलो मर्यादा र अधिकारलाई हेर्दा यसको उत्पत्ति कृषि–आश्रित समाजबाट भएको हुनुपर्छ र यस प्रथाको उदय अविभाजित एक ठूलो र बृहत्तर परिवार अथवा कुल समूह वा पारिवारिक गांठाहरूको एकै थलोमा बसोबास गर्ने प्रवृत्तिबाट निर्मित भएको हुनुपर्छ । त्यस्तै प्रकारले सी गुठीको प्रारम्भिक संरचना पनि मूलतः आफ्नै कुल अथवा गोतिया समूहबाट बनेको र पछि बहु–जातीय बस्ती विकसित भएपछि सम–जातीय अन्य सदस्यसमेत मिलेर बनेको सङ्गठन हुनुपर्दछ । गुठीको यस अनुमानित विकासक्रमको आधार पनि लिच्छविकालकै भूमि व्यवस्थासित गएर जोडिन्छ ।
अतः गुठीको अर्को प्रकट स्वभावमा या त यो गोतिया (ीष्लभबनभ) या फुकी या पारिवारिक स्तरमा गठित संस्थाजस्तो देखिन्छ या त यो समान जातिका विभिन्न सदस्यहरूद्वारा बनेको एउटै उद्देश्य राख्ने समूहमा क्रियारत सङ्गठनको रूपमा पाइन्छ । तर, यसमा मामा अथवा फुपूपट्टिको वैवाहिक कुटुम्बसमेत सरीक भएको एउटै गुठीको उदाहरण भने बिरलै पाइन्छ अथवा यस्तो गुठी बनेको नै हुँदैन ।
नेवार ‘सी गुठी’ र ‘सना गुठी’ को कार्यशैलीमा केही भेद भए पनि यो सामान्यतः सामानार्थी उद्देश्यको गुठी हो । कतिपय ‘सी गुठी’ मा स्वयं फुकी र गुठियार सदस्यहरू दाह–कार्यमा संलग्न हुन्छन् भने ‘सना गुठी’ मा सहभागिताको काम मलामी गएरमात्रै पूरा गरिन्छ । कतिपय ‘सी गुठी’ मा खास दाह–कार्यका निम्ति ‘गं’ भनिने ज्यापू समुदायबाट नियुक्त सदस्य हुन्छन् र दाहमा ‘सी गुठी’ का सदस्य आफै संलग्न भइरहनुपर्दैन । यी दुई प्रकारको गुठीमा ‘सी गुठी’ को बढी प्रचलन र व्यापकता छ ।
स्रोतः कुल, भूमि र राज्यः नेपाल उपत्यकाको पूर्वमध्यकालिन सामाजिक अध्ययन

Leave a Reply

Your email address will not be published. Required fields are marked *