भर्खरै :

दुई प्रसङ्गः केही प्रश्न

यो हप्ता नेपाली जनतामाझ दुईजना नेपाली व्यक्तित्वद्वारा प्रकट अभिव्यक्ति सचेत नेपालीहरूको गम्भीर ध्यानाकर्षण गराउने खालका रहे । तीमध्ये पहिलो हो, वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रोपटक मिर्गौला प्रत्यारोपणका लागि मिर्गौला दान गर्ने पात्र समीक्षा सङ्ग्रौलाको अभिव्यक्ति । ३२ वर्षीय समीक्षा सङ्ग्रौला नाताले ओलीकी भाञ्जी रहिछन् । उनले आफ्नो मामाका लागि मिर्गौला दान गरिन्, यस हिसाबले यो कुनै ठूलो कुरो होइन । कारण, धेरैले आफ्ना आफन्तहरूलाई अङ्ग दान गरेका छन् । ओलीको यो दोस्रोपटक मिर्गौला प्रत्यारोपण हो । यसअघि उनलाई उनकी बहिनी पर्नेले मिर्गौला दान गरेकी थिइन् । तर, समीक्षाको मिर्गौला दान अरू घटनाभन्दा उल्लेखनीय रह्यो । समीक्षाले मिर्गौला दान गर्दै गर्दा “मैले मेरो मामालाई मात्र होइन, देशको भविष्य भोलिलाई मिर्गौला दिंदै छु” भनिन् । यसको तात्पर्य हो, समीक्षाले देशको लागि मिर्गौला दिएकी हुन् । यससँगै ओलीको मिर्गौला प्रत्यारोपण कार्य सफल भएको खबर आइसकेको छ ।
नेपाली जनताले ओलीको मिर्गौला प्रत्यारोपण कार्यले सफलता प्राप्त गरोस् । ओलीले शीघ्र स्वास्थ्यलाभ गरून् भन्ने कामना गरे । यसो गर्नेहरूमा ओलीका नातेदार, पार्टी एवम् गुट समर्थक र उनीसँग आर्थिक एवम् अन्य स्वार्थ भएका मान्छेहरूमात्र थिएनन् । अब केही दिनमा ओली आफ्नो कार्यक्षेत्रमा फर्कने छन् । यो सकारात्मक कुरो हो । तर, यहींनेर ओलीबारे जिज्ञासा प्रकट हुन्छ, के ओलीले आगामी दिनमा मिर्गौलादाता समीक्षासँगै उनको स्वास्थ्यलाभको कामना गर्ने नेपाली जनताको उनीप्रतिको आशा र आकाङ्क्षाअनुरूप कार्य गर्नेछन् वा हिजोको जस्तै आफूलाई घेराबन्दी गरिराखेका माफिया, तस्कर, कमिसनखोर, भ्रष्टाचारी र राष्ट्रघातीहरूसँगको सहकार्यलाई जारी राख्नेछन् ? यदि उनले अब आफू केही वर्षको लागि अजर भएकोले कसैले आफ्नो केही हल्लाउन सक्ने छैनन् ।
त्यसैले आफ्नो पहिलो दायित्व गोकुल बाँस्कोटालाई बचाउनु, यती गु्रपसँगको सहकार्यलाई जारी राख्नु, एमसीसी पारित गर्नु र आफ्नो हठलाई कायम राख्नु हो भन्ने कुरामा मात्र ध्यान केन्द्रित गरे भने उनले धेरै प्रतिघात गर्नेछन् । जसमध्ये पहिलो घात, आफ्नै शरीरको अङ्ग (समीक्षाद्वारा देशको भविष्य निर्माणको लागि प्रदत्त मिर्गौला, जुन अब उनको आफ्नो अङ्ग भइसक्यो) प्रति, दोस्रो समीक्षाप्रति, तेस्रो उनको शल्यक्रिया सफलतापूर्वक सम्पन्न गर्ने नेपाली चिकित्सकहरूप्रति र चौथो उनको स्वास्थ्यलाभको कामना गर्ने नेपालीहरूप्रति गरेको ठहर्नेछ । त्यसैले ओलीको शारीरिक स्वास्थ्य एवम् चिन्तनगत स्वच्छता दुवैको कामना गरौँ ।
समीक्षाको अभिव्यक्तिसँगै नेकाका नेता रामचन्द्र पौडेलद्वारा व्यक्त विचार पनि मननीय रह्यो । उनले “अब नेकांले भ्रष्टाचारको विरोध गर्दछ” भन्ने अभिव्यक्ति दिएको कुरा सार्वजनिक सञ्चारमाध्यमहरूमा देख्न पाइन्छ । यसो गरिरहँदा उनलाई आफूले जोडदार अभिव्यक्ति दिएँ भन्ने लागेको होला । तर, उनको यो अभिव्यक्ति काङ्ग्रेसकै लागि फाइदाजनक छैन । कारण, उनले काङ्ग्रेसले भ्रष्टाचार गर्दैन भन्नुपथ्र्याे, भ्रष्टाचारको विरोध गर्छमात्र होइन । सबैलाई थाहा छ, देशमा ०४६ सालको परिवर्तनपश्चात् भ्रष्टाचार एवम् कमिसनतन्त्रलाई राजनीतिक आदर्शको रूपमा स्थापित गर्ने पार्टी काङ्ग्रेस हो । हिजोका एमाले र माओवादी (अहिले कथित नेकपा) हरू त काङ्ग्रेसको आदर्शका अनुयायीहरू हुन् । त्यसैले काङ्ग्रेसले भ्रष्टाचारको विरोध गर्नुको कुनै अर्थ छैन । भ्रष्टाचार गर्दिन नभन्ने, त्यसको विरोधमात्र गर्छु भन्नु जनताको आँखामा छारोहाल्न खोज्नुमात्र हो । काङ्ग्रेसले भ्रष्टाचारको विरोध गर्न किमार्थ सक्दैन । त्यसो किनभने, काङ्ग्रेस आफू प्रतिपक्षमा बसेर सरकारलाई घुक्याई विभिन्न सरकारी, अर्ध सरकारी निकायहरूमा आफ्ना मान्छे नियुक्ति गराउँछ । यसरी काङ्ग्रेसी कोटामा नियुक्त भएकाहरू सकेसम्म भ्रष्टाचार गर्छन् ।
यदि ती वा हिजो काङ्ग्रेसी शासनकालमा भ्रष्टाचार गरेकाहरूमध्ये कसैलाई कारबाही प्रारम्भ गरियो भने काङ्ग्रेसीहरू संसद् अवरोधदेखि सडक आन्दोलनसम्म गर्न लाज मान्दैनन् । त्यस्तो भ्रष्ट मानसिकताका काङ्ग्रेसीहरू भ्रष्टाचार नियन्त्रण होस् भन्ने चाहँदैनन् । त्यसैले काङ्ग्रेसको भ्रष्टाचारको विरोध ढोंगमात्र हो । यदि काङ्ग्रेसले भ्रष्टाचार नियन्त्रण चाहन्छ भने पहिले काङ्ग्रेस भ्रष्टाचार गर्दैन भन्ने कुरा त्यसका नेता र अनुयायीहरूले आचरण र व्यवहारबाट देखाउनुपर्दछ । अनिमात्र काङ्ग्रेसलाई भ्रष्टाचारको विरोध गर्न सुहाउँछ । अन्यथा काङ्ग्रेसको भ्रष्टाचारको विरोध आफू नाङ्गै हिँडेर अर्को नाङ्गोलाई कुरी कुरी गरेजस्तो मात्रै हुनेछ ।
–कृष्ण वेलबासेको फेसबुकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *