भर्खरै :

स्वदेशमै चट्टान र सुरुङ इन्जिनियरिङको पठन–पाठन

– कृष्ण दबाडी
कास्की, २५ फागुन । पूर्वाधार विकासमा पाइला चाल्दै गरेको नेपालमा पहाडी भौगोलिक अवस्थाका कारणले विकासमा अवरोध ल्याइरहेको छ । अग्ला पहाड छिचोलेर सडक, खानेपानी, सिँचाइलगायतका आयोजना निर्माण गर्न समय र लागतसमेत बढी लाग्ने गरेकामा सरकारले द्रुत विकासका लागि सुरुङमार्ग निर्माणलाई प्राथमिकतामा राखेको छ ।
चालू आर्थिक वर्षमा देशका विभिन्न १२ स्थानमा सुरुङमार्ग निर्माणको योजना अघि सारिएकोमा नौबिसे–नागढुङ्गा शिलान्यास भए पनि आवश्यक दक्ष प्राविधिक र इन्जिनियरिङ जनशक्तिको अभावमा अन्य आयोजना अघि बढ्न सकेको छैन । त्यही अभावलाई स्वदेशमै आवश्यक दक्ष जनशक्ति उत्पादन गरी परिपूर्ति गर्ने लक्ष्यसहित नेपालमा पहिलोपटक इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस पोखरामा स्नातकोत्तर तहमा चट्टान तथा सुुरुङ (रक एन्ड टनेल) इन्जिनियरिङको अध्यापन सुरु गर्न लागिएको छ ।
क्याम्पसले आवश्यक भर्ना कार्यक्रमसमेत प्रकाशन गरेको छ । पहिलो पटक २० जनाको कोटा तय भएकोले चैत तेस्रो हप्ताभित्रमा भर्ना कार्यक्रम सम्पन्न गरेर आगामी वैशाख १६ गतेबाट कक्षा सञ्चालन गरिने क्याम्पस प्रमुख रामप्रसाद पौडेलले बताउनुभयो । गत कार्तिकमा सो विषयमा विशेषज्ञता हासिल गरेका प्राज्ञ र वैज्ञानिकहरूको सम्मेलनमार्फत स्नातकोत्तर तहको कोर्सको ढाँचामा रहेर चट्टान तथा सुरुङ इन्जिनियरिङको पाठ्यक्रमको प्रारम्भिक ढाँचा तयार गरिएको थियो ।
सो पाठ्यक्रमलाई इन्जिनियरिङ अध्ययन संस्थान सिभिल इन्जिनियरिङ विषय समितिले अन्तिम रूप दिएको थियो । त्यसलाई विद्या परिषद्मा लगेर त्यहाँबाट पाठ्यक्रम स्वीकृत भएपछि त्रिवि कार्यकारी परिषद्ले कार्यक्रम सञ्चालनका लागि स्वीकृति प्रदान गरेको बताइन्छ । स्नातकोत्तर तहमा भौगोलिक अवस्थाको अन्वेषण, चट्टान तथा सुरुङ डिजाइन, कन्स्ट्रक्सन, सञ्चालन, मर्मत तथा सुरक्षालगायतका विषय कोर्समा समावेश गरिएको छ ।रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *