भर्खरै :

“नयाँ नेपाल बनाउन हिँडेका नेताहरू इतिहास भुल्दै छन्”

डा. बलराम कायस्थ त्रिभुवन विश्वविद्यालयका इतिहास विषयका सह–प्राध्यापक हुनुहुन्छ । हाल उहाँ भक्तपुर बहुमुखी क्याम्पसअन्तर्गत इतिहास विभागका प्रमुख हुनुहुन्छ । उहाँको ‘मध्यकालीन भक्तपुर’ (२०७५) पुस्तक प्रकाशित छ । इतिहासको अध्ययन अनुसन्धानका साथै त्रिविअन्तर्गत इतिहास विषयमा विद्यार्थी सङ्ख्या निकै घटेको सन्दर्भमा मजदुर दैनिकका नीरज लवजूले उहाँसँग इतिहास अध्ययन, आवश्यकता र गर्नुपर्ने जिम्मेवारी आदि विभिन्न विषयमा आधारित रहेर कुराकानी गर्नुभएको थियो । सो कुराकानी प्रस्तुत छ ः
सुरु गरौं तपार्इँ आफैबाट । तपार्इँ इतिहासको विद्यार्थी कसरी बन्नुभयो ?
इतिहास विषय असाध्यै कौतुहलतापूर्ण, रोचक र अब के होला भन्ने उत्सुकता जगाइरहने विषय हो । विद्यालय पढ्दा हामीले ‘महेन्द्र माला’ भन्ने एउटा अलगै विषय पढ्नुपथ्र्यो । त्यसमा पनि केही पाठ इतिहास पढ्नुपथ्र्यो । सानै उमेरमा पढेको ‘विलियम टेलले आफ्नो देश जोगाउन आफ्नो छोरोको टाउकोमा राखिएको स्याउमा धन्नु हानेको कथा’ पनि इतिहास नै थियो । नालापानीको युद्धमा बलभद्र कुँवरले महिला र केटाकेटी समेतलाई साथमा लिएर हजारौंको सङ्ख्यामा आएको अङ्ग्रेज फौजलाई पराजित गरेको इतिहासले मेरो मानसपटलमा राम्रो छाप पारेको थियो ।
इतिहास हाम्रो पहिचान हो । इतिहास, कला–संस्कृति कुनै पनि देशको राष्ट्रिय पहिचान हो । आफ्नो पहिचान थाहा पाउन पनि इतिहास पढ्न आवश्यक लाग्यो । आफूले आफैलाई चिन्न नसके अरुलाई चिन्न सक्ने कुरै भएन । तर, वर्तमान परिस्थितिमा नयाँ नेपाल बनाउने भनी हिँडेका नेताहरूले इतिहास, संस्कृति, भाषा, भूगोलजस्ता विषयलाई महत्व दिइरहेका छैनन् । मानविकीका विषयलाई न्यूनाङ्कन गर्ने शिक्षा नीति बन्दैछ । इतिहासलगायत मानविकीका अन्य विषयका विद्यार्थी सङ्ख्या क्रमशः घटिरहेको छ ।
त्रिभुवन विश्वविद्यालयबाट प्रविणता प्रमाणपत्र तह विस्थापन गर्दा स्नातक तहमा यी विषय पढ्ने विद्यार्थी घटेको हो । भक्तपुर बहुमुखी क्याम्पसमा नेपालभाषा विषय नै विस्थापित भएको छ । भूगोलमा एक जना शिक्षिका बाँकी हुनुहुन्छ । उहाँ अनिवार्य अवकाशमा जानुभएपछि त्यो विषय पनि विस्थापन हुने सम्भावना छ ।
इतिहास, भूगोल, राजनीतिशास्त्र, भाषाविज्ञान आदि मानविकीका विषय भनेको ज्ञानको आत्मा हो भने अन्य विषय भौतिक शरीर हो । त्यसकारण विद्यार्थी छैन भनेर यी विषय विश्वविद्यालयबाट हटाउन उपयुक्त हुँदैन । ती विषयको संरक्षण र सम्बद्र्धन गर्नुपर्छ । हाम्रा छिमेकी देश भारत र चीन तथा अन्य मित्र देशहरू जस्तै बेलायतले इतिहास विषयलाई पहिलो प्राथमिकता दिएका छन् । तर, नेपालमा सेनाले समेत इतिहास विषयलाई न्यून प्राथमिकता दिइरहेको छ । वास्तवमा नेपालको इतिहास भनेको त सेनाबाट नै सुरु भएको थियो । नेपालको इतिहासलाई एक हिसाबले सैनिक इतिहास भन्दा पनि हुन्छ । तर, सेनाले भने इतिहास विषयलाई प्राथमिकतामा राखेको छैन ।
अर्को कुरा, पहिला त्रिविअन्तर्गत प्रविणता प्रमाण पत्र तहका सबै सङ्काय र सबै विषयका विद्यार्थीले दोस्रो वर्षमा ‘नेपाल परिचय’ भन्ने ५० पूर्णाङ्कको एउटा अलगै विषय पढ्नुपथ्र्यो । त्यसमा नेपालको इतिहास, कला–संस्कृति, भूगोल, राजनीति आदि सबै विषयका आधारभूत जानकारी समेटिएको हुन्थ्यो । त्यो विषयले सबै सङ्कायका विद्यार्थीले आफ्नो देशको पहिचान र अरू आधारभूत कुरा जानकारी पाउँथे । आजभोलि त्यो विषयको पढाइ हुँदैन । त्यस्तो विषयको पढाइ नहुँदा छिमेकी देशले हाम्रो देशको सिमाना मिच्दासमेत हाम्रा कूटनीतिज्ञहरू नेपालको सिमाना यहाँसम्म हो भन्न सकिरहेका छैनन् । त्यसकारणले पनि इतिहासको विषयको अध्ययन आवश्यक छ ।
हुन त मानविकी सङ्कायमा नयाँ–नयाँ विषयहरू आइरहेका छन् जस्तै ग्रामीण विकास, समाजशास्त्र आदि । ती विषयमा पनि इतिहास, संस्कृति आदि मानविकी सङ्कायका विषय घुसाइएको छ ।
इतिहास विषयका विद्यार्थी किन घटिरहेका छन् ?
पढ्नु भनेकै जागिर खानको लागि भन्ने मानसिकता छ । इतिहास पढेर जागिर पाइँदैन, त्यसकारण विद्यार्थीहरू इतिहासबाट टाढिएका हुन् । लोकसेवाको परीक्षामा पनि इतिहासलाई प्राथमिकता दिइएको छैन । मुख्य कुरा त, विद्यालय तहमै इतिहास पढाइँदैन । इतिहास विषयलाई इच्छाधीन बनाइएको छ । इतिहासलगायत मानविकीमा विद्यार्थी आउने भनेको आईए तहबाट हो । त्रिविले आईए तह नै विस्थापित ग¥यो । त्यसमाथि कम प्रतिशत आएका विद्यार्थीले मात्र मानविकी पढ्ने गलत सोचाइको विकास भएको छ । मानविकीमा पनि अर्थशास्त्र, अङ्ग्रेजी साहित्य पढ्ने धेरै छन् । यसमा मानविकीका विभिन्न विषय पढाउने शिक्षकहरूको म कुनै दोष देख्दिनँ । नीति निर्माताहरू यसका दोषी हुन् ।
नयाँ नेपाल बनाउन हिँडेका हाम्रा राजनीतिक नेतृत्वहरूले पनि इतिहास अब चाहिंदैन जस्तो भान हुने गरी शालिक तोड्ने, राजाहरूको कुरा सुन्नै नचाहने प्रवृत्तिले इतिहास विषय क्रमशः कमजोर बन्दै गएको हो । विद्यार्थीहरूमा इतिहास पढ्ने जाँगर घटेको हो ।
इतिहासलाई अब रोजगारमूलक विषयहरूसँग मिलाउन जरुरी छ । जस्तै ट्राभल एन्ड टुरिज्म जस्तो विषयसँग यसलाई जोड्न सकिन्छ । त्यसरी जोडेर पढाइएको क्याम्पसमा भने विद्यार्थी केही बढेको देखिन्छ । विशुद्ध इतिहासमात्र होइन, अरू विषयसँग मिलाएर पढाउन सकिन्छ । जस्तो पाटन संयुक्त क्याम्पसमा बौद्ध दर्शनसँग र सरस्वती क्याम्पसमा ट्राभल एन्ड टुरिज्मसँग मिलाएर इतिहासको अध्यापन भइरहेको छ । भक्तपुरमा पनि इतिहासलाई संस्कृतिसँग जोड्न सकिन्छ कि ¤ के गर्नु अहिले बीए पहिलो वर्षमा भक्तपुर क्याम्पसमा इतिहास विषयको एक जना मात्र विद्यार्थी छ ।
यसको निम्ति स्थानीय तहको सरकारले पनि सहयोग गर्न आवश्यक देख्छु । विद्यालय तहबाटै कसरी विद्यार्थी बढाउने र आकर्षित गर्ने भन्ने बारेमा काम गर्न आवश्यक छ । जगबाटै बलियो बनाउन सके मात्र माथि राम्रो गर्न सकिन्छ ।
नीति निर्माताहरूले किन यस्तो गरेका होलान् ?
अहिलेका शासकहरूले पुरानो व्यवस्थालाई सामन्ती व्यवस्था भनेर त्यसबारे चर्चा नै गर्न चाहँदैनन् । राजा वीरेन्द्रको सम्पत्ति सबै उनीहरूले नेपाल ट्रस्टमा राखे । तर, अहिलेका शासक दलका नेताहरूको अरबौंको सम्पत्ति पनि भोलि उनीहरूको शेषपछि नेपाल ट्रम्टमा राख्ने हुन् कि होइनन्, त्यो हेर्न बाँकी छैन । राजनीतिमा लागेर नै उनीहरूले अकुत सम्पत्ति कमाएका हुन् । अरू त कुनै पेशा गरेको देखिंदैन ।
तपाईंले इतिहास विषयमा विद्यावारिधिसम्मको यात्रालाई कसरी सम्झनुहुन्छ ?
म पहिले पसल गर्थें । भक्तपुरको दूधपाटीमा मेरो पसल थियो । २०४४–४५ सालमा हालको सैनिक महाविद्यालय स्थापना हुनुअघि त्यहाँ दुई वटा सैनिक व्यारेक बसेका थिए । म त्यहाँ बस्ने सिपाहींलाई आवश्यक सामान बेच्थें । एसएलसी सकेर २०४१ सालमा मैले भक्तपुर बहुमुखी क्याम्पसमै बिहानी कक्षामा इतिहास पढ्न थालेको हुँ । धेरै साथीहरू अरू–अरू विषयतिर लागेँ । म आफूले सक्ने र माथिसम्म पढ्न सकिने विषय भनेर इतिहासतिर लागें । क्याम्पस भर्ना भएकै दिन एमएसम्म पढ्ने अठोट गरेको थिएँ । इतिहास विषयमा एमएसम्म पूरा गर्न सकिन्छ भन्ने मलाई विश्वास थियो । आईएदेखि एमएसम्म म खुरुखुरु नै उत्तीर्ण हुँदै गएँ । एमएमा पहिलो श्रेणीमा उत्तीर्ण गरेँ ।
सैनिक महाविद्यालयमा पढाउने शिक्षकहरूसँग सम्पर्क थियो । म पसलमा बसेको देखेर उहाँहरूले भन्नुभयो, “एमए पास गरेको मान्छे, यसरी पसलमा बसेर हुन्छ र ? जागिर खानेतिर लाग्नुप¥यो ।” उहाँहरूको कुरामा लागेर म मेरा शिक्षक केदारराज बास्तोलासामु पुगेँ । बास्तोला सर इलामको हुनुहुन्छ । उहाँ चिया विकास निगमको जीएम पनि बन्नुभयो । उहाँहरूले कोटेश्वरमा बहुमुखी क्याम्पस खोल्नुभएको थियो । त्यहीं मलाई हप्तामा तीन दिन पढाउने काम दिनुभयो । एक वर्ष पढाएँ । त्यसपछि सरकारी क्याम्पस पढाउनुपर्छ भन्ने लाग्यो । काठमाडौँ उपत्यकाभित्र कुनै पनि क्याम्पसमा ठाउँ खाली थिएन । विश्वविद्यालयले मलाई भोजपुर जान भन्यो । २०५२ सालमा इतिहास पढाउन भोजपुर गएँ । भोजपुरमा म दस वर्ष बसेँ । भोजपुर जानुअघि पहाडको नाममा गोरखाको मनकामना मात्र देखेको थिएँ । भोजपुर गएपछि पूर्वी नेपालका धेरै भूभाग घुम्ने अवसर मिल्यो । त्रिविले सञ्चालन गर्ने परीक्षामा खटिएर देशभरका ४०–४५ जिल्ला घुम्ने अवसर पाएँ । देश चिन्न त्यो ठूलो उपलब्धिपूर्ण यात्रा बन्यो । पसल नै गरेर बसेको भए यो सबै हुने सम्भावना थिएन । जागिर खाएर यति कुरा जानेँ । पैसा कमाउने कुरा त त्यस्तै हो ।
२०६२ सालमा काठमाडौँ उपत्यकामा फर्केपछि विद्यावारिधि गर्नतिर लागेँ । पदोन्नतिको लागि पनि विद्यावारिधि आवश्यक थियो । २०६६ सालमा विद्यावारिधिको लागि नाम दर्ता गराएँ । २०६९ सालमा विद्यावारिधि पूरा गरेँ । भक्तपुरको बिस्का जात्रामा मैले विद्यावारिधि गरेको हुँ । म अहिले त्रिविको सह–प्राध्यापक छु ।
यसो फर्केर हेर्दा अहिले आफै दङ्ग पर्छु । एक जना सामान्य पसले मान्छेले अहिले विद्यावारिधि सकेँ, सह–प्राध्यापक बनेँ ।
सुरुमा विद्यावारिधि गर्ने कुनै सोच थिएन ?
सुरुमा केही योजना थिएन । कामको सिलसिलामा बाहिर बाहिर नै रहेँ । पछि यही क्षेत्रमा लाग्ने पक्का भए पछि किन विद्यावारिधि पनि नगर्ने भन्ने सोच बन्यो । ज्ञान अभिवृद्धिको क्षेत्रमा लाग्ने सोचबाट विद्यावारिधि गर्न कम्मर कसें । आजभोलि म इतिहाससम्बन्धी लेखहरू पनि लेख्न थालेको छु । आफूसँग भएको जानकारी समाजलाई पनि दिनुपर्छ भन्ने सोचबाट लेख लेख्न थालेको हुँ । लेख छापिन थालेपछि मानिसहरूले चिन्न थालेका छन् । किताबहरू पनि लेखिरहेको छु । रत्न पुस्तक भण्डारले ‘मध्यकालीन भक्तपुर’ पुस्तक छाप्यो । रत्न पुस्तकलाई ‘नेवार समाजको इतिहास र संस्कृति’ भन्ने पुस्तक पनि छाप्न दिएको छु । सम्पादनको क्रममा छ । अंशु वर्मासम्बन्धी एउटा पुस्तक चैत महिनाभित्र आउँदैछ । ‘भक्तपुरका चाडपर्वः एक सांस्कृतिक अध्ययन’ भन्ने पुस्तक छाप्नको लागि मैले भक्तपुर नगरपालिकासमक्ष अनुरोध गरेको छु ।
धेरै ठूलो महत्वाकाङ्क्षा बोकेको मान्छे होइन म । आफूले गर्न सक्ने काम गरौं भनेर लागेको छु ।
नेपालको इतिहासलेखनमा कस्ता समस्या छन् ?
नेपालको इतिहासलेखनमा धेरै कमी कमजोरी छन् । नेपालको इतिहास भन्नासाथ काठमाडौँ उपत्यकाको इतिहासमा मात्र सीमित बनेको छ । वास्तवमा यो सही होइन । इतिहास त गाउँ–ठाउँको पनि हुन्छ । तर, त्यस्तो इतिहासबारे अध्ययन–अनुसन्धान भइरहेको छैन । आजसम्म राजा–महाराजाको इतिहास मात्र लेखिएको छ । जनताको इतिहास अझै आउन सकेको छैन । जनजातिको इतिहास खोइ ? वास्तवमा त्यसबारे अध्ययन भएको छैन, त्यो हुन आवश्यक छ । सेनवंशी राज्य, पूर्वको विजयपुर, मुस्ताङ र किराती राज्यको अध्ययन–अनुसन्धान अझै पुगेको छैन । किराँतमा पनि वल्लो, पल्लो र माझ किराँतको अलग अलग अध्ययन आवश्यक छ । जसले पनि काठमाडौँ उपत्यकामा मात्र सीमित ऐतिहासिक अध्ययन गरेर पुग्दैन । केन्द्रको मात्र इतिहास लेखियो, इतिहास लेखन फराकिलो बन्न सकेको छैन ।
काठमाडौँ उपत्यकाको इतिहास लेखनको लागि पर्याप्त मात्रामा स्रोतसाधन छन् । त्यसकारण अनुसन्धानकर्ताहरू यहीको विषयमा अध्ययन गर्न रुचाउँछन् । भक्तपुर त इतिहाससम्बन्धी पुस्तक लेख्ने इतिहासविद्, पुरातत्वबेत्ता, संस्कृतिविद्को लागि खानी नै हो । भक्तपुरमा मठमन्दिर, पाटीपौवा, चोक, पोखरी, प्रवेशद्वार आदि धेरै छन् । तिनका आधारमा इतिहाससम्बन्धी मनग्य कुरा लेख्न सकिन्छ । बाटो–बाटो र हरेक ढुङ्गाको टुक्रामा इतिहास बोलिरहेको हुन्छ । इतिहास लेखनको लागि अन्यत्र यस्तो प्रमाणको प्रचुरता छैन ।
इतिहास लेखनमा त्रिविले अध्ययन–अनुसन्धानलाई व्यापकता दिन सकेन है ?
त्रिवि आज चरम राजनीतिकरणले गर्दा थला परेको छ । त्रिविअन्तर्गत नेपाल तथा एसियाली अध्ययन संस्था (सिनास) भन्ने अनुसन्धान संस्था छ । पहिले त्यो संस्थाबाट इतिहास, संस्कृतिसम्बन्धी अध्ययन अनुसन्धान गरी अमूल्य पुस्तकहरू प्रकाशित हुन्थे । धनबज्र बज्राचार्य, ज्ञानमणि नेपालजस्ता विद्वानका पुस्तकहरू त्यहींबाट प्रकाशित हुन्थे । आजभोलि तपार्इँ त्यहाँ जानुभयो भने केही दलका मानिसहरू गफ गरिरहेको भेट्नुहुन्छ । गफ गर्ने थलो बनेको छ सिनास । त्यहाँबाट छापिने जर्नलको लागि मैले एउटा लेख दिएको थिएँ । तीन वर्ष बितिसक्यो, अझै छापिने मेलोमेसो छैन । अति राजनीतिकरणले सबै भताभुङ भएको छ ।
नेपालको इतिहास अध्ययनको लागि सिफारिस गर्न सकिने पुस्तक के के हुन् ?
त्यस्ता इतिहासका पुस्तक धेरै छन् । नेपाली लेखकहरूले लेखेका धेरै राम्रा–राम्रा पुस्तक छन् । तर, विदेशी लेखकहरूले लेखेको इतिहासका पुस्तकको तुलनामा केही नेपाली लेखकका पुस्तक सतही भएको पाउँछौं । विदेशीहरू गहिराइमा गएर लेख्न जान्दछन् । उनीहरूसँग त्यसको लागि स्रोतसाधन पनि उपलब्ध छन् ।
नेपाली इतिहासबारे जान्न विदेशी लेखकहरूमध्ये इटालीका क्रिस्टियानो पेटेट, सिल्भा लेभी, विलियम ककपेट्रिकका पुस्तक अध्ययन गर्नु उपयुक्त हुन्छ । नेपाली लेखकहरूमध्ये डिल्लीरमण रेग्मी, धनबज्र बज्राचार्य, हरेराम जोशी, ऋषिकेश शाह, सुरेन्द्र केसी आदि लेखकका पुस्तकहरू पठनीय छन् ।
अन्त्यमा केही कुरा…
इतिहासमा गोरखाली फौजसँग भक्तपुरका जनताले लडेको लडाइँ ओझेलमा परेको देख्छु । गोरखाली फौजसँग लड्ने क्रममा भक्तपुरमा दुई दिनमा दुई हजार मानिस मारिएका थिए । त्यत्तिबेलाको जनसङ्ख्या कति थियो होला र ¤ धेरै भए सात–आठ हजार जनसङ्ख्या हुनुपर्छ । त्यत्ति जनसङ्ख्यामा दुई हजार मानिस मारिनु भनेको धेरै सङ्ख्यामा मानिस मारिएको थियो । युद्ध सकिएपछि कति मानिसलाई निर्ममतापूर्वक नृशंस तरिकाले मारिएको थियो । मल्ल राजाका सन्तानलाई खोजी खोजी मारिएको थियो । त्यत्तिबेला जयप्रकाश मल्लसँग आएका नगरकोटी सेनाले बहादुरीपूर्वक लडेका थिए । उनीहरूको तरबारसामु गोरखालीको खुकुरीको केही सीप चलेको थिएन । भक्तपुरको युद्ध त गोरखाली फौजले वास्तवमा बन्दुक भएर मात्र जित्न सकेको थियो । नत्र जित्न सम्भव थिएन । सिन्धुलीगढीमा बेलायती फौजसँग खोसेको बन्दुक नै गोरखालीले भक्तपुर आक्रमणमा प्रयोग गरेका थिए । उनीहरूसँग साना–साना तोप पनि थिए । त्यत्तिले पनि नसकेर उनीहरूले छाना–छानाबाट आक्रमण गरेका थिए । घर–घरमा आगो लगाएका थिए । स्वर्ण ढोकादेखि मुलचोकसम्म एक जना नगरकोटी सेनाले सत्रजनासम्म गोरखाली सिपाहीं मारेको थियो । त्यो सहासिक युद्ध थियो ।
नगरकोटी सेनालाई नेवार सेना भनिन्छ । तर, वास्तवमा उनीहरू जयप्रकाश मल्लले कुमाउ गढवालतिरबाट झिकाएका सेना थिए । उनीहरू तीनसयको सङ्ख्यामा थिए ।
भक्तपुरका राजा रणजीत मल्ल उमेरले बुढो भइसकेका थिए । त्यसकारण त्यो युद्धको नेतृत्व कान्तिपुरका राजा जयप्रकाशले गरेका थिए । गोरखाली फौजसँग लड्न नगरकोटी सेनामार्फत भक्तपुरका युवालाई सैन्य तालिम दिइएको थियो । अरु राज्यसँग पनि जयप्रकाश मल्लले सहयोग मागेका थिए । पूर्वबाट किराँती फौज पनि सहयोगको लागि आएको थियो । नेवार सेनामा नेवारहरू मात्र थिएनन् । जनजाति, बाहुन क्षेत्री पनि थिए । एकप्रकारले गोरखाली राज्यको विरोधी सेना थियो–त्यो ।
जयप्रकाश मल्ल काठमाडौँमा लड्न सकेका थिएनन् किनभने इन्द्रजात्राको दिन पारेर गोरखालीले हमला गरेका थिए । तर, भक्तपुरमा उनले साहस र पराक्रम प्रदर्शन गरी युृद्ध लडेका थिए ।
गोरखाली फौजको गोली जयप्रकाश मल्लको खुट्टामा लाग्यो । त्यत्ति मात्र उनी मर्नुपर्ने अवस्थामा थिएनन् । पृथ्वीनारायण शाहले जयप्रकाश मरोस् भन्ने चाहन्थे । भक्तपुरका जनताको वीरता र पराक्रम भक्तपुरको युद्धमा देखिएको थियो । कला–संस्कृतिमा मात्र होइन, साहस र पराक्रममा पनि उनीहरू अब्बल थिए भन्ने एउटा प्रमाण भक्तपुरका जनताको लडाइँ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *