भर्खरै :

उपभोग्य वस्तुको अभाव छैन, बढी मूल्य लिए कारबाही हुन्छ–आपूर्ति मन्त्रालय

काठमाडौँ, २६ फागुन । सरकारले कोरोना त्रासका कारण कुनै पनि दैनिक उपभोग्य वस्तुको अभाव नभएको स्पष्ट पार्दै कालोबजारी गरिएको पाइए विद्यमान कानुनअनुसार हदैसम्मको कारवाही गर्ने चेतावनी दिएको छ ।
आपूर्ति व्यवस्थालाई नियमित राख्न युद्धस्तरमा काम गरिरहेको भन्दै सरकारले त्रासको समयमा कमाउने मौका यही हो भन्दै कालोबजारी गरिए, परल मूल्त्न्दा बढी लिए, सामान भएर पनि छैन भन्दै लुकाए कालोबजारी कानुन तथा अत्यावश्यक ऐनले गरेको व्यवस्थाअनुसार कारबाही हुने चेतावनी दिएको हो ।
मास्क, स्यानेटाइजरजस्ता सामग्रीमा मात्रै दबाब परेको स्पष्ट पार्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले खाद्य पदार्थ, खाना पकाउने ग्यास, नून, दलहन, खाने तेल आपूर्तिमा कुनै समस्या नभएको र कहीँ कतै पनि आत्तिइहाल्नुपर्ने अवस्था नभएको बताएको छ । व्यापारीले रु. २० मा पाइने आयोडिनयुक्त नुनको रु. ४० सम्म बिक्री गरेको, खाना पकाउने एलपी ग्यास लिन लामा लामा लाइन लागेको, मास्क तथा अन्य खाद्यउपजमा समेत कालोबजारी भएको चर्को गुनासो आएपछि मन्त्रालयले पत्रकार भेटघाट आयोजना गरी केही सामानमा दबाब परे पनि सङ्कटको अवस्था नभएको बताउनुभयो ।
सङ्कटको बेला एकले अर्कोलाई सहयोग गर्नुपर्नेमा कमाउने मौका यही हो भनेर कुनै पनि व्यवसायी त्यसरी प्रस्तुत भए तिनलाई जरिवाना तिराउने मात्रै नभई जेलसम्म हाल्नुपर्ने अवस्था आउनसक्ने मन्त्रालयले बताएको छ । काठमाडौँ उपत्यकामा विशेषगरी गुणस्तरीय मानिएको नेपाल ग्यासमा ठूलो दबाब परेको छ । त्यसलाई हटाउने लक्ष्यका साथ नेपाल आयल निगमले मागभन्दा झण्डै दोब्बर ग्यासको सिलिण्डर बजारमा पठाउन निर्देशन दिएको छ तर उपभोक्ताले पनि सङ्गटको बेलामा के हो के भने जसरी आवश्यकभन्दा बढी ग्यासका सिलिण्डर भण्डारण गरेका कारण नयाँ सिलिण्डर नै पाउन मुस्किल परेको छ । नयाँ सिलिण्डर नभएका कारण रिफिलिङ गर्न समस्या देखिएको छ ।
सामान्य अवस्थामा ३७ हजार टन ग्यास आयात हुने गरेकामा कोरोना त्रासपछि नेपाल आयल निगमले ४५ हजार टनका लागि प्रोडक्ट डेलिभरी अर्डर (पीडीओ) जारी गरेको छ । यो हालसम्मकै बढी हो । त्यसमा अत्यावश्यक भन्दै थप पाँच हजार टनको व्यवस्था गरिएको हो ।
निगमले होलीको समयमा समेत भारतबाट ग्यास आयात र लोडिङ गरिरहेको छ । होलीको समयमा बिदा हुने भए पनि त्यसलाई परवाह नगरी ग्यास लोडिङ गरिएको हो । निगमले सुरक्षालगायतका कारण पनि आवश्यकभन्दा बढी ग्यासको सिलिण्डर नराख्न उपभोक्तालाई आग्रह गरेको छ । ग्यास पाइन्न कि भनेर उपभोक्तामा त्रास बढेपछि निगमले ४४ हजार सिलिण्डर पठाएको छ ।
यसअघि उपत्यकामा दैनिक ३० हजार सिलिण्डर मात्रै ग्यास आपूर्ति हुन्थ्यो । उपभोक्तालाई सहज आपूर्ति गर्न थप १४ हजार सिलिण्डर पठाइएको छ । बजारमा कुनै पनि वस्तुको आपूर्ति कम हुन नदिने सबै सरकारी निकाय अहोरात्र परिचालित भएको दाबी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *