भर्खरै :

हामी मित्र खोजौँ, मालिक होइन !

निर्जला
राजनीतिक दूतहरू, सरकारका पदाधिकारीहरू वा राज्यका दूतहरू (राजदूतहरू) ले १५–१६ औँ शताब्दीदेखि नै विदेशीको रकम खाएर देशकै अहित गर्ने गरेको इतिहास छ । हुन त रामायण र महाभारत कालमा पनि अनेक दूतहरूको विषयमा चर्चा हुनेगर्छ । दूतहरू इमानदार भएमा देश र जनताले दुःख पाउँदैनन् वा सम्भावित लडाइँ वा अनिष्ठबाट देश जोगिन्छ । राजनेता, मन्त्री र दूतहरू लोभी नभएमा, दूरदृष्टि भएमा, देशको वस्तुगत स्थिति बुझेर मनोगत भावनाले काम नगर्ने र लोभ नगर्ने भएमा अनिष्ट र युद्धबाट समेत देशहरू जोगिन्छन्, नत्र मित्रहरू चिढिने छन् र शत्रुहरू खुशी भएर देश भड्खालोमा पर्नेछ ।
धर्मको नाममा वा कुनै विदेशी संस्थाबाट गरिने समारोहबाट मुख्य अतिथि वा विशिष्ट अतिथि आदि बनेर पाउने रक्सी, सुन–चाँदी वा मूल्यको रूपमा पाइने उपहार, पुरस्कार, भेटी घूसको रूपमा परिणत हुने र त्यस्ता लोभमा फस्ने राजनेता, राजदूत वा राजनैतिक नेता र कार्यकर्ताको कारण देशलाई दोहोलो हुने निश्चित छ ।
वासिङ्कटनमा ‘अमेरिकी आर्थिक सहयोग योजना’ अर्थात् एमसीसीमा हस्ताक्षर गर्ने नेपाली राजदूत डा. शङ्गर शर्मा, अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली वा तिनीहरूलाई आदेश वा सल्लाह दिनेहरूसँग जनताले प्रश्न गर्ने अधिकार राख्छन् ।
के विदेशीले दिएको हरेक उपहार लिनु उपयुक्त हुन्छ ? राजनैतिक नेता वा कार्यकर्ताले ‘अरूको सित्तैमा लिनुहुन्न’ र ‘अरूको नून खानु हुन्न’ भन्ने पुरानो कहावतलाई ध्यानमा राखेर हामीले पनि बदलामा उपहार दिनैपर्छ भन्ने मनमा सदा राख्नैपर्छ । उपहारको आदान–प्रदान गर्नु पनि कूटनीतिक मर्यादाभित्रको विषय हो । देश र जनताको हितमा हरेक नागरिकले आ–आफ्नो व्यक्तिगत स्वार्थ त्याग गर्नुको अर्थ त्यही हो । चाणक्य अर्थशास्त्र वा चाणक्य नीतिमा सीमाको चौकी र भन्सार– सानो चौकीदेखि आफ्नो काम सुरू गर्छन् । अरूको सित्तैमा खाने वा उपहार लिने पदमा बसेको मानिसले अरूप्रति अनुग्रहित भएर देशको अहित हुने काम पनि गर्न पछि पर्दैन, किनभने उसको निम्ति उपहार वा घूस एउटा चलन हो ।
व्यावहारिकरूपले सबैलाई थाहा भएको विषय हो – चुरोट र रक्सी, चिया र कफी, सुन र चाँदी, लुगा र पुस्तकको उपहार लिई काम गर्ने हाम्रा पुराना काजी वा दूतहरू को–को थिए भन्नेबारे हाम्रो इतिहासका पानाहरू आज पनि खुलेका छैनन् । बरु हाम्रा श्री ३ राणाहरू अङ्ग्रेजको दूत वा रेजिडेन्सीसित खुल्दै गएका छन् । अङ्ग्रेजहरूले तिब्बतमा चढाइँ गर्दा नेपालीले तिनीहरूको निम्ति गुप्तचरको काम गरेका थिए । हुँदा–हुँदा आजसम्म हाम्रो सरकारले ‘गोर्खालीहरू’ दिएर बेलायती राजमुकुट चम्काउने काम गर्दै छ । संरा सङ्घमा अमेरिकी राजदूत मोहियानले एकपटक गोर्खालीहरूलाई ‘मर्सेनरिज’ भनेका थिए । अर्थात् उनले नेपालीलाई भाडाका सिपाही भनेका थिए । तर, आज संरा अमेरिकाकै हितमा अफगानिस्तान, इराक, लिबिया आदि देशका सरकारलाई थाहै नदिई अमेरिकी निजी सेनाको तर्फबाट ती देशमा नेपाली युवाहरूले रगत बगाउँदै छन् । जुन देशले नेपाललाई कहिले शत्रु सम्झन्नन्, ती शत्रु होइनन् पनि । ताली एक हातले बज्दैन तर दुष्टलाई मित्र बनायौँ भने हाम्रो खुट्टामुनिको जमिन भासिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *