भर्खरै :

परम्परागत ‘धान नाच’, पर्यटन प्रवद्र्धनको आधार

ताप्लेजुङ, २७ फागुन । देशका हिमाल, पहाड र तराईमा बसोवास गर्ने विभिन्न जातजाती र समुदाय सम्बद्ध मौलिक संस्कृति स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्ने आधार बनेको छ । विभिन्न जातजाती र समुदायको पहिचानसँग जोडिएका भाषा, कला, संस्कृतिले नेपालको पहिचानलाई फराकिलो र विशेष बनाएको छ ।
हाम्रो मुलुकको सन्दर्भमा पर्यटन प्रवद्र्धनमा मौलिक संस्कृतिको गतिलो योगदान छ । मुलुकका विभिन्न भूगोलमा बसोवास गर्ने जातजाती र समुदायको मौलिक संस्कार, संस्कृति फरक–फरक छन् । विभिन्न भाषा, कला, संस्कृतिले भरिपूर्ण लिम्बु समुदायमा पनि छुट्टै मौलिक संस्कृति रहेको पाइन्छ । लिम्बु समुदायको बाक्लो बसोबास रहेको पूर्वी नेपालको पर्यटन प्रवद्र्धनमा उनीहरूको समेत भाषा, वेषभूषा र कला संस्कृतिले योगदान पु¥याएको पाइन्छ । उनीहरूले आफ्नै भाषामा बोलेको सुन्दा, आफ्नै वेषभूषा पहिरिएर हिँडेको देख्दा अनि आफ्नै कला संस्कृतिमा रमाएको देख्दा जो कोहीलाई पनि आनन्द लाग्छ । विशेष गरी आफ्नो वेषभूषासहित आफ्नै भाषामा ‘पालाम’ गाउँदै एक आपसमा हात समाई नाचिने ‘धान नाच’ले सबैलाई आकर्षित गरेको पाइन्छ ।
धान नाच र पालाम लिम्बु समुदायको लोकप्रिय मौलिक कला संस्कृति हो । विभिन्न चाडपर्व, मेला महोत्सव, विवाह, सुद्धाईजस्ता कर्मकार्यमा धान नाच्ने गरिन्छ । केही वर्ष अघिसम्म बिरलै रुपमा देखिने धान नाच अहिले पूर्वका हरेक मेला, महोत्सव र विवाहजस्ता कार्यमा देख्न पाइन्छ । पछिल्लो समयमा धान नाचप्रति युवा पुस्ताको आकर्षण समेत बढ्दै गएको छ । कहिलेकाहीँ विदेशी पर्यटकसमेत आकर्षित हुँदै हात समाइ धान नाच्ने गरेको देख्न पाइन्छ ।
धान नाच्दा पालाम अनिवार्य गाउने गरिन्छ । केटा र केटी पक्षबीच सवालजवाफ गर्दै पालाम गाउने गरिन्छ । धान नाच्नु अघि एक–आपसमा परिचय गरी साइनो सम्बन्ध केलाइन्छ । साइनो नलाग्ने भए धान नाच्ने निधो गरिन्छ । पालाम गाउँदै धान नाच्दा कतै गल्ती कमजोरी भइहाले माफ पाउँ भनेर अग्रिम रुपमा दुवै पक्षले हात जोडेर बिन्ती गर्ने चलन रहेको किराँत समुदायका अगुवा विविहाङ वनेमले बताउनुभयो ।
पालाम अति भावुक हात समाई पालाम गाउनु अघि गाउँदै, नाच्दै जाँदा हुने गल्ती कमजोरीप्रति अग्रिम हात जोडेर बिन्ती गरी सुरु गरिन्छ । विरहका भाका मिसाउँदै पालाम गाइन्छ । पालाम गाउँदा जीवनमा आउने सुख, दुःखका अनुभूति र मिलन बिछोडका पक्षलाई भावुक ढङ्गले समेटिन्छ । पहिले पहिले पालाम गाउँदै धान नाचेर माया पिरती लगाई उसैबेला जोडी बाँधिने निधो हुन्थ्यो ।
धान नाच्दानाच्दै पालामकै भाकामा कुरा गरेर वैवाहिक बन्धनमा बाँधिएका उदाहरण प्रशस्तै भेटिन्छन् । तर, पछिल्लो समयमा धान नाच्ने शैली फेरिँदै गएकाले यसको ऐतिहासिक महत्व र पहिचान मेटिने खतरा बढ्दै गएको स्थानीयवासी बताउँछन् । जसरी पश्चिम नेपालमा देउडाको गीत र नाचको लोकप्रियता छ उसै गरी लिम्बू समुदायको बाक्लो बसोवास रहेको पूर्वी नेपालमा धान नाच र पालामको । धान नाच र पालामकोे शुरुवातबारे एउटा रोचक किंम्बदन्ती छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *