भर्खरै :

ओझेलमा तारकेश्वरका ऐतिहासिक सम्पदा

– जमुना धमला
तारकेश्वर, २७ फागुन । तारकेश्वर नगरपालिकामा रहेका धार्मिक, ऐतिहासिक, पर्यटकीय तथा सांस्कृति सम्पदा प्रचारप्रसारको अभावमा ओझेलमा परेका छन् । कतिपय सम्पदा त विलुप्त अवस्थामा समेत पुगिसकेका बताइएको छ ।
जीवन्त ऐतिहासिक सम्पदाको प्रचारप्रसार हुन नसक्दा ओझेलमा पर्न गएको नगरप्रमुख रामेश्वर बोहोराले बताउनुभयो । उहाँले नगरभित्रका सम्पदा संरक्षणमा उच्च प्राथमिकता दिएको जानकारी दिनुभयो ।
नगरभित्र तारकेश्वर महादेव, मनमैजु, पञ्चबुद्धको पवित्रभूमि पाँचमाने, भुवनेश्वरी, धर्मस्थली महाँकाल लगायतका मन्दिर, बृहत शान्तिधाम, जयन्तीपुर, जितपुरफेदी, लखपात अर्थात् डुक्रने पानी, लिच्छवीनगर धर्मस्थलीलगायत रहेका छन् ।
नगरपालिको नामसँग जोडिएका शिवपुरी पर्वतमालाको काखमा अवस्थित तारकेश्वर महादेव मन्दिर संरक्षण र प्रचारप्रसार अभावमा विलुप्त अवस्थामा पुगेको छ । सो मन्दिर हिन्दू धर्मावलम्बीको तीर्थस्थल मानिन्छ । स्वस्थानी व्रतकथामा ‘सतीदेवीको दाहिने तिघ्रो पतन भएको स्थानमा तारकेश्वर महादेव उत्पत्ति भई शिवशक्तिस्वरूपले रहे’ भन्ने उल्लेख छ ।
सो मन्दिरमा जान राखिएको फलामे भ¥याङ पनि जीर्ण अवस्थामा पुगिसकेको छ । कालीबाबाको मृत्यु भएपछि उनको समाधिस्थ गरिएको ठाउँमा शिवलिङ्ग निर्माण गरिएको थियो । उहाँको कुटी पनि विसं २०७२ को महाभूकम्पले क्षति पु¥याएको थियो । यसपछि तारकेश्वरको सभ्यता नै ओझेलमा पर्न पुगेको देखिन्छ ।
यस्तै शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको बीचमा अवस्थित ऐतिहासिक जितपुरफेदी नुवाकोटको ओखरपौवासँग जोडिएको छ । पञ्चबुद्धसँग सम्बन्धित पाँचमानेको पूर्वतिर र तारकेश्वर महादेव मन्दिरको दक्षिणपट्टि शिवपुरीको काखमा पर्ने सो स्थान ऐतिहासिक दृष्टिकोणले महत्वपूर्ण मानिन्छ । कुनै बेला प्रमुख व्यापारिकमार्ग बनेको सो स्थानले अहिले ऐतिहासिक विरासत सम्झनुबाहेक केही छैन ।
यस्ता महत्व बोकेको ऐतिहासिकस्थलको प्रचारप्रसार गर्न सकेको भए तारकेश्वरमा पर्यटन क्षेत्रको विकास हुने मात्र होइन, यस क्षेत्र पर्यटकका लागि मुख्य गन्तव्यका रूपमा विकास हुने प्रमुख प्रशासकीय अधिकृत हीरामणि सुवेदी बताउनुहुन्छ ।
तारकेश्वर नगरपालिका–३ ऐतिहासिक पाँचमाने भञ्ज्याङको नजिक तीनपिप्लेको उत्तर सिरानमा रहेको अर्काे महत्वपूर्ण मन्दिर हो – भुवनेश्वरी मन्दिर । प्राकृतिक दृष्टिले मात्र नभएर पर्यावरणीय तथा पर्यटकीय दृष्टिले समेत ज्यादै लोकप्रिय यस मन्दिरमा पुग्नका लागि सिँढी चढेर उकालो चढ्नुपर्दछ । तारकेश्वर धार्मिक पर्यटनका लागि पनि सम्भावना भएको नगर हो भन्ने कुरा यस मन्दिरले पनि सहजै बोध गर्न सकिन्छ । सो भुवनेश्वरी मन्दिरलाई शक्तिपीठका रूपमा लिइन्छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *