विद्या सुब्रमानियम
गएको फेब्रुअरी २४ मा भारतको राजधानी नयाँदिल्लीको उत्तरपूर्वी भागमा ओइरिएका हिन्दू राष्ट्रवादी भीडले मुसलमानहरूका व्यापार व्यवसाय र घर लक्षित गरी चार दिनसम्म दङ्गा मच्चाए । हिंसात्मक दङ्गामा पचासभन्दा बढी मानिस मारिए । अरू सयौंको सङ्ख्यामा घाइते भए ।
सो घटनापछि म सबभन्दा नराम्ररी प्रभावित शिव बिहारमा घुम्न निस्केँ । त्यहाँ गरिएको विनाश आफ्नै आँखाले हेरेँ । हिन्दूहरूका अधिकांश पसल व्यवसायमा खास असर परेको देखिएन । तर, मुसलमानहरूका पसल र घरलाई अस्थिरपञ्जरमात्र बाँकी छोडिएको थियो । मुसलमानहरूको घरका सम्पत्ति जस्तै फ्रिज, टीभी र कार अहिले पनि सडकमा यत्रतत्र छरिएको थियो ।

सिख नरसंहार (१९८४)

त्यहाँका दुई मस्जिदमध्ये एउटामा आगजनी गरिएको थियो भने अर्को औलिया मस्जिदमा बाहिरबाट हेर्दा कुनै असर परेको देखिंदैन । तर, भित्र भने त्यही मस्जिदमा पनि आगो लगाइएको थियो, जताततै तोडफोड गरिएको थियो । त्यहाँको अवस्था लथालिङ्ग थियो । स्थानीय हिन्दूहरू सामान्य दैनिकी अघि बढाइरहेका छन् भने मुसलमानहरू वरपर कहीं देखिएका थिएनन् । उनीहरू सुरक्षाको लागि सरकारले बनाएका अस्थायी शिविरमा बस्न गएका थिए ।
नागरिकता संशोधन ऐन (सीएए) विरुद्ध दिल्लीमा हप्तौंअघिबाट सुरु भएको धर्नापछि शिव बिहारको दङ्गा भड्किएको थियो । यो ऐनका विरोधीहरू त्यसले मुसलमानहरूमाथि विभेद गरेको आरोप लगाउँछन् । हिन्दुराष्ट्रवादीहरूले मुसलमानहरूका यस्तो तर्कमाथि हमला गर्दै आएका छन् ।
दिल्लीमा सीएएविरोधी आन्दोलन सुरुबाट शान्तिपूर्ण थियो । मानिसहरू देशभक्तिपूर्ण भावनाले ओतप्रोत गीत गाउँथे । भारतको झन्डा फहराउँथे । भारतीय संविधान वाचन गर्थे । स्वतन्त्रता, ऐक्यबद्धता र धर्मनिरपेक्षतासम्बन्धी भाषण सुन्थे । प्रदर्शनकारीहरूमध्ये अधिकांश महिलाहरू थिए । उनीहरू कुनै स्वार्थको लागि नभई देशभक्ति भावनाका साथ सडकमा आएका हुन् । तर, भारतको सत्तारुढ भारतीय जनता पार्टीले उनीहरूलाई ‘देशद्रोही’ को रूपमा चित्रण गर्ने गरेको छ । त्यसैकारण उनीहरू सत्ताले पालेका भिजिलान्तेहरूको निशाना बनेका छन् ।

गुजरात दङ्गा (२००२)

गएको फेब्रुअरी ७ मा दिल्लीको प्रादेशिक सभाको चुनाव भएको थियो । त्यो चुनाव प्रचारको क्रममा भारतीय जनता पार्टीले दिल्लीमा बस्दै आएका मुसलमानहरूलाई निशाना बनाएर खतरनाक अभियान चलाएको थियो । अर्थराज्य मन्त्री अनुराग ठाकुरले चुनावी सभाको क्रममा सहभागी मानिसलाई ‘देशद्रोहीमाथि गोली हान’ भनी नारा लगाउन उक्साएका थिए । अर्का मन्त्री परवेश वर्माले चुनावमा भाजपाले विजय हासिल गरेको केही घण्टामा सबै आन्दोलनकारी लखेटिने धम्की दिएका थिए । कदाचित कोही नभागे उनीहरूलाई ‘बलात्कार गरिने अथवा मारिने’ चर्को धम्की दिएका थिए ।
प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहसमेतले सीएएको विरोधमा सडकमा धर्ना बस्दै गरेका प्रदर्शनकारीहरूलाई ‘भारतविरोधी’ र ‘पाकिस्तान पक्षधर’ भनेर गाली गरेका थिए ।
मोदीले आन्दोलनलाई ‘भारतको सद्भाव’ बिथोल्न चालिएको ‘षड्यन्त्र’ को संज्ञा दिए । अमित शाहले प्रदर्शनकारीहरू ‘जिन्हा वाला आजादी’ को नारा लगाएको बताए । यस्तो नारा लगाएर प्रदर्शकारीहरूले भारत विखण्डन गर्न खोजेको बताए ।
उनीहरूको उक्साहटमा प्रदर्शनकारीमाथि हमला भयो । दिल्लीमा हिंसाको आगो डढेलो जस्तै फैलियो । सरकारी सुरक्षा निकायले हिंसा रोक्ने कुनै काम गरेन । प्रहरी मूकदर्शक बनेको आरोप लाग्यो ।
धेरै मानिसले दिल्ली दङ्गालाई विगतमा भएका साम्प्रदायिक हिंसासँग तुलना गरे । वास्तवमा स्वतन्त्रतापछिको भारतको इतिहासमा यस्ता घटना एकपछि अर्को भइरहेका छन् ।
भारतको पछिल्लो इतिहासमा यो पछिल्लो घटना न त सबभन्दा ठूलो घटना हो न त सबभन्दा हिंसात्मक घटना नै हो । तर, भारतलाई नजिकबाट हेरिरहेका पर्यवेक्षकहरूको लागि पछिल्लो महिना दिल्लीमा भएको घटनाको फरक अर्थ छ ।
पछिल्लो दिल्ली दङ्गाको घटनाको महत्व र खतराबारे बुझ्न हामीले भारतीय इतिहासका दुई वटा साम्प्रदायिक हिंसाका घटनाको सम्झना गरौंः सन् १९८४ मा दिल्लीको शिखहरूको संहार र सन् २००२ मा गुजरातका मुसलमान लक्षित हिंसा ।
सन् १९८४ को शिखविरोधी हिंसाको जरा भनेको सन् १९७०–दसकको मध्यतिर पञ्जाब प्रान्तमा सुरु भएको पृथकतावादी सशस्त्र सङ्घर्ष थियो । त्यो सङ्घर्ष शक्तिशाली बन्दै गए पछि दिल्ली र अन्य उत्तरी सहरमा लडाकूहरूले हिंसात्मक हमला गर्न थाले । सन् १९८३ मा सो सङ्घर्षका नेता जर्नेल सिंह भिन्द्रावाले र अरू केही प्रमुख नेताहरू पञ्जाबको अमृतसरस्थित एउटा शिख मन्दिर गोल्डेन टेम्पलमा शरण लिएर बसेका थिए । उनीहरूले गिरफ्तारीबाट जोगिन त्यहाँ शरण लिएका थिए ।
सन् १९८४ मा तात्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले सो मन्दिरबाट लडाकूहरूलाई लखेट्न आदेश भारतीय सेनालाई दिइन् । सो क्रममा पाँच सत्न्दा बढी सर्वसाधारण मारिए । मारिनेमध्ये धेरै शिख सर्वसाधारण पनि थिए ।
सन् १९८४ को अक्टोबर ३१ मा दुई जना शिख अङ्गरक्षकले सो घटनाको बदलामा नयाँदिल्ली स्थित प्रधानमन्त्री निवासमा इन्दिरा गान्धीको हत्या गरे । उनको हत्याले शिखहरूविरुद्ध आक्रोशको आगो फैलियो । तीन दिनको लगातारको संहारमा २८ शिखहरू मारिए ।
सन् २००२ मा गुजरात दङ्गाको दृश्य पनि उस्तै थियो ।
सन् २००२ को फेबु्रअरी २७ मा हिन्दू तीर्थयात्रीहरू बसेको रेलमा आगलागी हुँदा गुजरातको गोधरामा ५९ जना मानिस मारिए । अयोद्याको बाबरी मस्जिद स्थलमा धार्मिक समारोहमा सहभागी बनेर हिन्दू तीर्थयात्रीहरू फर्किरहेका थिए । दस वर्षअघि हिन्दू भीडले बाबरी मस्जिद ध्वस्त बनाएको थियो । हिन्दू देवता रामको मन्दिर भत्काएर सो मस्जिद बनाएको भन्दै हिन्दुहरूले बाबरी मस्जिद भत्काएका थिए ।
सो घटनाको छानबिन गर्न बनाएको एउटा औपचारिक समितिले रेलभित्रै कसैले खानेकुरा पकएपछि आगलागी भएको निष्कर्ष निकालियो । सर्वोच्च अदालतले पछि सो निष्कर्ष ‘अमान्य’ घोषणा ग¥यो । भारतीय सरकारी निकायले पछि रेलमा मुसलमानहरूले आगजनी गरेको निष्कर्ष निकाले । सो घटनाले हिन्दू समुदायमा आक्रोशको विस्फोटन भयो । फलतः १ हजारभन्दा बढी मानिसको हत्या हुने गरी दङ्गा भड्कियो । मारिनेमा अधिकांश मुसलमानहरू थिए ।

सन् १९८४ मा शिखहरूको आमसंहार र सन् २००२ मा गुजरातमा मुसलमानहरूविरुद्ध भएको दङ्गामा धेरै समानता छन् । दुवै घटनामा प्रहरी आफ्नो जिम्मेवारीबाट च्युत भएको बताइयो । प्रहरी या त निस्क्रिय बस्यो अथवा केही घटनामा त मार्ने काममा प्रहरी स्वयम् सहायक बनेको आरोप छ ।
ती दुवै घटनालाई भारतमा यसअघि कहिल्यै नदेखिएको चरम हिंसाको घटनाको रूपमा लिइन्छ । सन् १९८४ मा त शिख पुरुष र युवकहरूको घाँटीमा बलेको टायर झुन्ड्याएको थियो । मृत्यु बिस्तारै र पीडादायी होस् भनेर त्यस्तो आततायी काम गरिएको थियो । सिख महिलाहरूलाई पटक–पटक बलात्कार गरिनुका साथै आफ्नै पति र छोराको हत्या हेर्न बाध्य पारियो ।
सन् २००२ मा गुजरातमा धेरै पुरुष र युवकहरूलाई जिउँदै जलाइएको थियो । पूर्वसांसद इहसन जाफरीलाई काटेर टुक्रा टुक्रा पारेर जलाइएको थियो । प्रादेशिक सरकारमा रहेका उनले चिनेका अधिकारीहरूलाई आफ्नो असुरक्षाबारे पटक–पटक जानकारी दिएर पनि उनको त्यस्तो नृशंस हत्या गरिएको थियो ।
ती दुई हिंसाका त्रासद घटनाबीचको महत्वपूर्ण समानता भनेको सरकारको चरित्रमाथिको आरोप थियो ।
सन् १९८४ मा दिल्लीका स्थानीय काङ्ग्रेस नेताहरूमाथि दङ्गाबाजहरूलाई सहयोग गरेको दोषारोपण भएको थियो । त्यस्तै तत्कालीन केन्द्रीय सरकार हिंसाप्रति आँखा बन्द गरेर बसेको आरोप लाग्ने गरेको छ । सन् २०१४ मा दुई प्रमुख नागरिक सङ्गठनहरू प्रजातान्त्रिक अधिकारको लागि जनसङ्गठन र नागरिक स्वतन्त्रताको लागि जनसङ्गठनले संयुक्त रूपमा सत्य निरूपण समिति गठन ग¥यो । सो समितिले त्यत्तिबेला दिल्ली र वरपर शिख समुदायमाथि भएको हमला ‘काङ्ग्रेसका महत्वपूर्ण नेताहरूको सुनियोजित योजनामा आधारित भएको’ प्रतिवेदन बुझायो । चार वर्षपछि दङ्गा फैलिंदाका शक्तिशाली सांसद सज्जन कुमारलाई ‘शिखहरूलाई मार्न भीडलाई भड्काएको’ भन्दै ज्यान सजाय दिइएको थियो ।
गुजरातमा पनि त्यत्तिबेलाको भाजपा नेतृत्वको प्रादेशिक सरकारमाथि त्यस्तै आरोप लागेको थियो । त्यत्तिबेला गुजरातका मुख्यमन्त्री नरेन्द्र मोदी थिए । हिंसा रोक्न नसकेको बरु अप्रत्यक्ष रूपमा हिन्दु दङ्गाबाजीहरूलाई उक्साएको आरोप मोदी सरकारमाथि लागेको थियो । गुजरात दङ्गाको क्रममा भारतको सर्वोच्च अदालतले समेत मोदी सरकारलाई रोम सहर जल्दै गर्दा बाँसुरी बजाउँदै बस्ने सम्राट निरोसँग तुलना गरेको थियो । सन् २०१२ मा सर्वोच्च अदालतले गठन गरेको विशेष अनुसन्धान टोलीलाई हिंसाको बारेमा स्पष्टिकरण त दिए । तर, अधिकारवादी समूहहरूले भने दङ्गाबाजहरूलाई सहयोग गरेको भन्ने आरोप उनीमाथि लगाउन छोडेका छैनन् ।
गएको महिना दिल्लीमा फैलिएको दङ्गामा पनि यी सबै चरित्र निहित छन् । तथापि साम्प्रदायिक हिंसाका अन्य ऐतिहासिक घटनाभन्दा फरक गएको महिनाको घटनामा एउटा फरक कुरा छ । सिख नरसंहार र गुजरात दङ्गा दुवै लक्षित समुदायका सदस्यले गरेको कुनै काम वापत थालिएका थिए । तर, गएको महिना दिल्लीमा मुसलमानविरुद्ध भएको हिंसा भने कुनै घटनाको बदलामा भएको थिएन । बहुसङ्ख्यक हिन्दूहरूमाथि भएको कुनै घटनावापत सो घटना भएको थिएन । मुसलमान समुदायले बदला लिनुपर्ने केही पनि काम गरेको थिएन । उनीहरूले केही गरेका थिए भने विभेदकारी नागरिकता संशोधन ऐनको विरोधमा शान्तिपूर्वक प्रदर्शन गरेका थिए । सन् १९८४ र २००२ को घटनामा जस्तै यो पटक हिंसाको लागि कुनै बहाना वा कारण थिएन ।
यो पटक मुसलमानहरूलाई मुसलमान भएकोले र भारतीय हुन पाऊँ भनी आग्रह गरे वापत सजाय दिइएको छ ।
त्यसकारण गएको महिना भारतीय इतिहासमा एउटा नयाँ र त्रासद अध्यायको आरम्भ भनेको छ । हिन्दू राष्ट्रवादी केन्द्रीय सरकारको टेवा पाएका हिन्दू भीडलाई अल्पसङ्ख्यकमाथि हमला गर्न केही कारण चाहिएन । यसले भारतका अल्पसङ्ख्यकहरूको भविष्य अँध्यारो बनेको र आगामी दिनमा थप त्रासद हुने सङ्केत गरेको छ ।
लेखक भारतका पत्रकार र राजनीतिक टिप्पणीकार हुनुहुन्छ ।
स्रोतः अल जजीरा
नेपाली अनुवादः अनिरव