नेपालीहरू भारतविरोधी होइनन् – १
- कार्तिक ११, २०८३
–प्रकाश
कोभिड– १९ नाम दिइएको कोरोना भाइरसका कारण यतिबेला विश्व नै आक्रान्त बन्न पुगेको छ । कोरोनाको सङ्क्रमण अब विश्वका १ सय १५ देशमा फैलिसकेको समाचार छ । मानिसहरू आवतजावत गर्न छाडेपछि, कतिपय अवस्थामा रोक लगाइएपछि अन्तर्राष्ट्रिय उडानहरू धमाधम रद्द हुँदैछन् । सरकार र राष्ट्रप्रमुखका भ्रमणहरू स्थगित भएका छन् । औपचारिक कार्यक्रमहरू रद्द भएका छन् । कोरोनाले विश्वमा आर्थिक मन्दीको अवस्था सिर्जना हुने लक्षण देखा परिसकेको छ । कोरोनाको उत्पत्तिस्थल मानिएको चीनको उहानमा यसको सङ्क्रमण दर क्रमशः घट्दै गइरहेको छ, तर इटाली, जर्मनीलगायत युरोपेली देशहरू र बाँकी विश्वमा फैलिने क्रममा छ । नेपाली जनता पनि कोरोना सङ्क्रमण हुने हो कि भनी सजग साथै निकै सशङ्कित छन् । यस्तैमा मङ्गलबार राष्ट्रिय युवासङ्घ नेपालको ध्यानाकर्षण पत्र बुझ्दै मन्त्रालयमा स्वास्थ्य मन्त्री भानुभक्त ढकालले भने– ‘चीनबाट ल्याइएकालाई जस्तो व्यवस्था गर्न सरकारले सक्दैन, सेल्फ क्वारेन्टाइनमा बस्नुस् ।’ जोखिमको यस्तो बेलामा मन्त्रीले यस्तो अभिव्यक्ति दिनु गैरजिम्मेवारीको पराकाष्ठा हो । सरकारले अन्य क्षेत्रको बजेट रकमान्तर गरेर पनि चीनमा जस्तै अस्थायी अस्पताल र क्वारेन्टाइन स्थलको बन्दोबस्त गर्नुपर्छ ।
स्वास्थ्य मन्त्रीको यो बोली नै नेपाल सरकारको आधिकारिक धारणा हो भने यो आपत्तिजनक विषय हो । अन्यथा यस्तो गैरजिम्मेवार अभिव्यक्ति दिने मन्त्रीमाथि प्रधानमन्त्रीले कारबाही गर्नुपर्छ । जनस्वास्थ्यमा यो हदसम्मको खेलबाड गर्न किमार्थ मिल्दैन । चरम घमण्डी स्वभावका मन्त्री ढकालको यो भनाइले कोरोनाको सन्त्रासमा रहेका नागरिकलाई थप आहत बनाएको छ । मन्त्रीको भनाइलाई अनुसरण गरेर बिरामीहरू अब घरमै बस्नुपर्ने भयो । कोरोना पुष्टि हुने बेलासम्म अरू कति जनामा फैलिने हो, त्यसको लेखाजोखा कसले गर्ने ? सरकारले कोरोनाको सम्भावित सङ्क्रमण रोक्न र सङ्क्रमितहरूको उपचारका निम्ति गरेको तयारीबारे सूचना सार्वजनिक नगरेको आधारमा सरकारले जनता तर्साउने गरी विज्ञप्ति निकाल्नेबाहेक खासै केही तयारी नगरेको नै साबित हुन्छ । नाका नाकामा ज्वरो नाप्ने सामान्य यन्त्र र सिटामोल र रुघाको औषधिसमेत नभएका बिजोगपूर्ण हेल्थडेस्कहरूको अवस्थाले नेपाल सरकार कतिको सजग र सक्रिय छ भनी उदाङ्गो पारिदिएको छ । अब स्वास्थ्य विज्ञहरूको सल्लाह सुझावअनुसार नेपाली जनताले आपैmले बन्दोबस्त गर्नुपर्ने दिन पनि आउनसक्छ भनी मनमा लिनुपर्छ ।
Leave a Reply