भर्खरै :

अब त्रिविको सेक्युरिटी फिचरसहितको ट्रान्सक्रिप्ट

शरद शर्मा
काठमाडौँ, २८ फागुन
(रासस) । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले अब विद्यार्थीलाई ‘सेक्युरिटी फिचर’ सहितको ट्रान्सक्रिप्ट उपलब्ध गराउने भएको छ ।
नक्कली रोक्न र सबैलाई एउटै किसिमको ट्रान्सक्रिप्ट उपलब्ध गराउनका लागि सेक्युरिटी फिचरसहितको ट्रान्सक्रिप्ट त्रिविले उपलब्ध गराउने भएको हो । त्रिवि परीक्षा नियन्त्रण कार्यालय (पनिका) का परीक्षा नियन्त्रक पुष्पराज जोशीले त्रिवि प्राज्ञिक परिषद्बाट निर्णय गरी उक्त ट्रान्सक्रिप्ट बनाउने प्रक्रिया सुरु गरिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार उक्त ट्रान्सक्रिप्ट सक्कली हो वा होइन भनेर जाँच गर्न पनि सकिने छ । ट्रान्सक्रिप्टको बीचमा छापसहितको सात प्रकारका विभिन्न फिचरको ढाँचा रहेको हुन्छ । जसलाई ‘गुलुची’ भनिन्छ । त्यसैको आधारमा नै ट्रान्सक्रिप्ट सक्कली हो वा होइन भनेर पत्ता लगाइन्छ । “अहिले बजारमा त्रिविकै नक्कली ट्रान्सक्रिप्ट बनाउने गरिएको छ”, परीक्षा नियन्त्रक जोशीले भन्नुभयो, “त्यसलाई रोक्न सेक्युरिटी फिचर भएको ल्याउन लागिएको हो ।”
उक्त ट्रान्सक्रिप्ट पानीमा नभिज्ने र नच्यातिने हुन्छ । सबैलाई एउटै किसिमको दिइने ती ट्रान्सक्रिप्टको बाहिर गाता भने ५ किसिमका छन् । अहिले वितरण हुने ट्रान्सक्रिप्ट समान छैनन् । अन्य सङ्कात्न्दा चिकित्सा र इञ्जिनियरिङ विषयका भने फरक–फरक ट्रान्सक्रिप्ट छन् । सबैलाई समान खालको ट्रान्सक्रिप्ट दिन सेक्युरिटी फिचरसहितको ट्रान्सक्रिप्ट दिन लागिएको हो ।
परीक्षा नियन्त्रक जोशीले विसं २०७७ बाट परीक्षा दिने विद्यार्थीलाई उक्त ट्रान्सक्रिप्ट वितरण गरिने जानकारी दिनुभयो । “ट्रान्सक्रिप्टको ढाँचा तयारी गरिएको छ” उहाँले भन्नुभयो, “अब केही दिनमा बोलपत्र आह्वान गर्ने तयारीमा रहेका छाँै ।” ट्रान्सक्रिप्टमा सम्बन्धित विद्यार्थीको फोटो हुन्छ । विसं २०१६ मा स्थापित त्रिविले विसं २०५४ बाट मात्र छापेर ट्रान्सक्रिप्ट दिन थालेको हो । नयाँ ट्रान्सक्रिप्टलाई हालको भन्दा बढी शुल्क तिर्नुपर्ने हुन्छ । बाक्लो गाता (फोल्डर) मा प्रोभिजनल सटिर्फिकेटसहित दिइने उक्त ट्रान्सक्रिप्ट अहिलेको भन्दा पाँच गुणा बढी शुल्क लाग्ने परीक्षा नियन्त्रक जोशीले बताउनुभयो ।
पनिकाले तह अनुसारका रातो, हरियो, निलो, खैरो र बैजनी रङ्गका पाँच प्रकारका फोल्डरभित्र ट्रान्सक्रिप्ट र प्रोभिजन सर्टिफिकेट राखेर दिने छ । उहाँका अनुसार प्रविणता प्रमाणपत्र तहको लागि रु. दुई हजार, स्नातकको रु. दुई हजार २००, स्नातकोत्तर तह र एमफिललाई रु. दुई हजार ५०० र विद्यावारिधिका लागि रु. तीन हजार तोकिएको छ । अहिले त्रिविले स्नातक तहलाई रु. ४५० र स्नातकोत्तर तहलाई रु. ५०० शुल्क लिर्दै आएको छ ।
यसैगरी त्रिविले चैत १५ गतेदेखि अब सबै सङ्कायका ट्रान्सक्रिप्ट २४ घण्टाभित्र उपलब्ध गराउने भएको छ । अहिले मानविकी र शिक्षाशास्त्र सङ्कायका ट्रान्सक्रिप्ट २४ घण्टामा उपलब्ध गराउँदै आएको परीक्षा नियन्त्रण कार्यालय अब सबै सङ्कायको ट्रान्सक्रिप्ट फाराम भरेको २४ घण्टाभित्र विद्यार्थीलाई ट्रान्सक्रिप्ट उपलब्ध गराउने भएकाले परीक्षा नियन्त्रक जोशीले बताउनुभयो ।
त्रिविले विसं २०७५ बाट त्रिवि परीक्षा व्यवस्थापन सूचना प्रणाली लागू गरेर मानविकी र शिक्षाशास्त्र सङ्कायको ट्रान्सक्रिप्ट दिँदै आएको छ ।रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *