भर्खरै :

चीनमा फेब्रुअरीमा सवारी साधनको बिक्री ७९ प्रतिशत घट्यो

बेइजिङ, २९ फागुन
(एएफपी) । कोरोना भाइरसको त्रासदीका कारण मागमा कमी आएपछि चीनमा सवारी साधनको बिक्रीमा गत फेब्रुअरी महिनामा ७९ प्रतिशतले घटेको छ । चीनमा एकै महिनामा यति ठूलो गिरावट आएको पहिलोपटक हो ।
चिनियाँ अटोमोबाइल उत्पादक सङ्घ (काम) अनुसार यस वर्षको फेब्रुअरीमा सवारी साधनको बिक्री न्यून भएर तीन लाख १० हजारमा सीमित भएको छ । सङ्घले चीनमा सवारी साधनको बिक्रीमा कमी आएको यो लगातार २० औँ महिना हो ।
सङ्घका वरिष्ठ अधिकारी चेन शिहुवाले नयाँ विद्युतीय कारको बिक्रीमा कमी आएको बताउनुभयो । विद्युतीय कारको बिक्रीमा लगातार आठ महिनादेखि कमी हुँदै आएको छ ।
सङ्घका अधिकारीले यस वर्षको पहिलो ६ महिनामा १० प्रतिशतभन्दा बढीले घट्ने देखिएको बताएका छन् । अप्रिल अघि चीनमा कोरोना भाइरसलाई प्रभावकारीरूपमा नियन्त्रण गर्न सकिए पनि वर्षभर करिब पाँच प्रतिशतले कमी आउने छ ।
कार उत्पादनको प्रमुख केन्द्रका रूपमा रहेको हुबे प्रान्तमा रहेका सबैजसो कार निर्माता कम्पनीले उत्पादनमा ढिलाइ गर्ने बताएका छन् । हुबेमा डोङफेङ मोटर ग्रुप कम्पनी र यसका साझेदार कम्पनी होन्डा मोटर, रेनल्ट एसए र प्युजेट एसएका कारखाना रहेका छन् ।
शाङ्घाइमा रहेको टेस्लाको उत्पादन र वितरण पनि प्रभावित भएको छ । तर, हुबे प्रान्तको राजधानी उहानका सरकारी अधिकारीले कोरोना भाइरसको त्रास कम भएको जनाउँदै उद्योग, कलकारखाना खोल्न अनुमति दिएको छ । यहाँ होन्डाले आफ्नो कारप्लान्ट सुरु गरेको छ ।
निस्सान मोटरले पनि हुबेकै अर्को सहर सियानग्याङस्थित कारखानाबाट आंशिक उत्पादन थालेको छ भने हेनानको झेङझाउ प्लान्ट सुरु गर्ने योजना अघि बढाएको छ ।
संयुक्तराज्य अमेरिकासँगको व्यापार तनावका कारण पनि चीनको कार बजारमा असर परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *