भर्खरै :

कोरोना नियन्त्रण गर्न सिमानामा आवतजावत बन्द गर्नुपर्छ

काठमाडौं, २९ फागुन । नेपाल मजदुर किसान पार्टीका सचिव तथा प्रतिनिधि सभाका सदस्य प्रेम सुवालले बिहीबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा कोरोना भाइरस नियन्त्रणको लागि नेपाल–भारत खुला सीमामा आवतजावत हुनेहरूको लगत राख्ने र अत्यावश्यक मान्छे मात्र प्रवेश गराउने बन्दोबस्त हुनुपर्ने बताउनुभएको छ ।
उहाँले भन्नुभयो, “अहिले सरकारले भारतसँग खुला सीमाको ४१ ठाउँमा हेल्पडेस्क राखेको भए पनि टनकपुर बाँध र शारदा बाँधबाट आवतजावत खुल्ला भइरहेको छ, कुनै रेकर्ड राखिएको छैन । पूर्वको पशुपति नगर काँकडभिट्टा, जोगवनी र जलेश्वरलगायतका नाकामा पनि कुनै चेकजाँच नभएको हुँदा सरकारको ध्यानाकर्षण गर्दछु ।”
विशेष समयमा उहाँले भन्नुभयो, “महाकाली नदीमा बनाइएको शारदा बाँधमा पनि नेपालीको भूमि प्रयोग भएको हो । त्यसबेला भारतले नेपाललाई ५० हजार रूपैयाँ क्षतिपूर्ति दिएको थियो । ७० वर्षपछि उक्त बाँधको म्याद सकिने र नेपालकै भूमि हुनुपर्नेमा अहिले नेपालीले बाँध हेर्नसमेत भारतीय एसएसबीलाई गाडीको नम्बर र चालकको नाम टिपाएर मात्र जान पाउने अवस्था छ । तर भारतीयहरू आफ्नो गाडी नम्बर र चालकको नाम नटिपाई खुरुखुरु नेपालतिर पस्छन् । के यो दुई देशको समानता हो ? नेपाल सरकार के गर्दै छ ?”
बिहीबार प्रतिनिधिसभाको बैठकमा धित्तोपत्र विधेयकबारे धारणा राख्दै सांसद सुवालले संविधानमा लेखिएको समाजवादउन्मुख प्रावधानअनुसार यो विधेयकको उद्देश्यमा लेखिएको पुँजीबजारको विषय उपयुक्त नहुने बताउनुभयो ।
उहाँले भन्नुभयो, “केही समय अगाडि पत्रिकामा प्रकाशित भयो, नेपालको पुँजी त १० जना धनीको हातमा छ । समाजवादउन्मुख प्रावधानअनुसार सबै जनताको हातमा पुँजी बजार हुनुपर्ने हो । अहिले धितोपत्र खरिद गर्ने हैसियत मुठ्ठीभर व्यक्तिको हातमा छ । यो विषय अर्थमन्त्रीलाई जानकारी छैन र ? विधेयकअनुसारको पुँजी बजारमा सबैले धितोपत्र किन्न सक्ने अवस्था छैन । सरकारले केही पुँजीपतिको लागि विधेयक ल्याउने कि सबै जनताको निम्ति समाजवादउन्मुख विधेयक ल्याउने ?”
प्रस्तुत विधेयक संविधानको भावनाविपरीत भएको चर्चा गर्दै सांसद सुवालले भन्नुभयो, “सरकारमा जाने पार्टीका नेताहरूले पुँजीवादी क्रान्ति गर्ने बताएको हुँदा तिनका पार्टीका कार्यकर्ताहरू लुटपाट गरेर खल्ती भर्दैछन ।” सरकारमा जाने नेताहरूले कार्यकर्ताहरूलाई औद्योगिक विकास गर्न उत्साहित गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले भन्नुभयो, “पुँजीवादी क्रान्तिको अर्थ शोषणलाई कानुनी बनाउने र दिउँसै डकैती गर्ने हो ।”
त्यस्तै बिहीबारमा पार्लेमो अभिसन्धिमाथि भएको छलफलमा भाग लिंदै सांसद सुवालले संसारका स्वार्थी नेताहरूले हतियार उत्पादन गरी बिक्री गर्दै सङ्गठित अपराधहरू बढाएको चर्चा गर्नुभयो । उहाँले भन्नुभयो, “देश राम्रो हुनलाई नेता राम्रो, जनतालाई शिक्षित र निर्वाचन स्वस्थ हुनु आवश्यक छ ।” सांसद सुवालले भन्नुभयो,“सङ्गठित अपराधबाट नेपाललाई मुक्त बनाउन सरकारले नयाँ पुस्तालाई १२ कक्षासम्म अनिवार्य र निःशुल्क शिक्षाको बन्दोबस्त गर्नु आवश्यक छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *