भर्खरै :

राज्यलाई नेतृत्वविहीन छोड्ने प्रम ओलीको गलत अभ्यास

– सुरजसिंह
प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गाैला प्रत्यारोपण सफल भएको बताइएको छ । उहाँलाई शीघ्र स्वास्थ्य लाभको कामना । प्रधानमन्त्री ओली बिरामी छन् । अझै केही समय उनी उपचारमा सजग भएर रहनुपर्छ । सानातिना त्रुटिले जोखिम ल्याउने खतरा सधैँ हुने भएकाले सावधान रहनैपर्छ । प्रधानमन्त्री ओलीको बलियो आत्मविश्वासका कारण छोटो समयमै स्वास्थ्य अवस्था स्थिरबाट सुधारतिर लागिरहेको खबर सुखदै हो तर त्यही आत्मविश्वासका कारण राज्य नेतृत्वविहीन अवस्थामा पुग्नु र प्रत्येक हप्ता हुनुपर्ने मन्त्रिपरिषद्को बैठक हुन नसक्नु आपत्तिजनक विषय हो । राजनीतिमा एउटा भनाइ प्रचलित छ – राजा मर्छ तर राजसिंहासन कहिल्यै खाली हुँदैन । राज्यको कार्यकारिणी अधिकार कहिल्यै निष्कृय हुन नहुने त्यस भनाइको आशय हो ।
नेपालको आजको राजनीतिक प्रणालीअनुसार कार्यकारिणी अधिकार संसद्बाट निर्वाचित प्रधानमन्त्रीमा निहीत छ । त्यसै भएर नेपालको संविधान २०७२ मा कुनै विधिले पनि प्रधानमन्त्रीको पद रिक्त भएमा अर्को मन्त्रिपरिषद् गठन नभएसम्म सोही मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्ने तथा प्रधानमन्त्रीको मृत्यु भएमा अर्को प्रधानमन्त्री नियुक्ति नभएसम्मको लागि वरिष्ठतम् मन्त्रीले प्रधानमन्त्रीको रूपमा कार्य सञ्चालन गर्ने बन्दाबस्त गरिएको छ । मन्त्रिपरिषद् सञ्चालनसम्बन्धी कार्यविधिमा समेत प्रधानमन्त्रीको विदेश भ्रमणलगायत लामो समयको अनुपस्थितिमा मन्त्रीहरूमध्ये वरिष्ठतम्लाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकेर जानुपर्ने व्यवस्था छ । प्रधानमन्त्री ओलीले आफ्नो मृगौला प्रत्यारोपणका लागि बेहोस हुनुभन्दा पहिले नै उपप्रधानमन्त्रीलाई कार्यवाहक दिएर जानुपर्ने थियो, जुन नगरी प्रम ओलीले संवैधानिक र राजकाजको अभ्यासलाई तोडेर गलत अभ्यासको नजीर बनाउनुभएको छ । आजको युगमा एकाएक कुनै देशले हमला गर्ला त भन्न सकिंदैन तर देशमा अनेकरूपका सङ्कट आउन सक्छन् । कार्यकारिणी अधिकार सम्पन्नको अनुपस्थितिमा अप्ठेराहरू आउनसक्छन् । चीनबाट सुरु भएको कोभिड–१९ ले आज विश्वभर आतङ्क फैलाइसकेको छ । त्यो भाइरस नेपाल नभित्रिएला भन्ने कुरा भएन । प्रधानमन्त्री बिरामी हुनुको अर्थ देशै बिरामी हुनु होइन । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *