भर्खरै :

के सङ्कट पर्दा मात्र सार्क चाहिने हो ?

–प्रकाश
विश्वमा नै नोबेल कोरोना भाइरसको सङ्क्रमणको आतङ्क फैलिएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार एक ट्विट गर्दै दक्षिण एसियाली सहयोग सङ्गठन (सार्क) का नेताहरूसमक्ष कोरोना सङ्क्रमण (कोभिड–१९) सँग लड्न बलियो रणनीतिक योजना बनाउने प्रस्ताव अघि सारेका छन् । भारत र पाकिस्तानबीचको विवादलाई लिएर सार्क निष्क्रिय बनाएको देश मोदीले राखेको प्रस्तावले सङ्कटका बीच यो क्षेत्रीय सङ्गठनले पुनर्जीवन पाउने आशा पलाएको छ । भारतीय प्रधानमन्त्री मोदीले सार्कलाई मुलुकका नागरिकलाई स्वस्थ राख्ने विषयमा यस सङ्गठनका सदस्य मुलुकका नेताहरूसँग भिडियो कन्फरेन्समार्फत छलफल गर्न सकिने बताएका छन् ।
सार्कको वर्तमान अध्यक्ष राष्ट्रका तर्फबाट नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले ट्विटमार्फत मोदीको प्रस्तावको स्वागत गरेका छन् । त्यस्तै श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापाक्ष, भुटानका प्रधानमन्त्री लोटे छिरिङ्ग, माल्दिभ्सका राष्ट्रपति इब्राहिम मोहम्मद सालिहले मोदी सन्देशलाई सकारात्मक रूपमा लिएको बताएका छन् । पाकिस्तान र बङ्गलादेशले भने प्रतिक्रिया दिन हतार गरेका छैनन् । आफ्नो देशमा सार्कको शिखर सम्मेलन नै रोक्न लगाएको र निरन्तर विवाद भइरहेकोले पाकिस्तानले मोदीको सन्देशको सकारात्मक प्रतिक्रिया जनाउनेमा शङ्का नै छ । यसैबीच एउटा प्रश्न भने सर्वत्र उठेको छ –के भारत एक्लैले समाधान गर्न नसक्ने सङ्कट आएपछि मात्र सार्क चाहिने हो ? सीमा विवाद र काश्मीर समस्यालाई लिएर भारतले सार्क सम्मेलन स्थगित गराएको थियो । पाकिस्तानसित मात्र होइन, भारतको नेपाल, बङ्गलादेश र चीनसँग पनि सीमा विवाद छ । नेपालको लिपुलेक–कालापानी– लिम्पियाधुरा क्षेत्र भारतले कब्जामा राखेको छ । द्विपक्षीय विवादका कैयौं मुद्दा होलान् ती सबैलाई थाती राखेर सहमतिका कार्यक्रमहरू अघि बढाएर यस क्षेत्रको विकासको निम्ति सहकार्य हुनुपथ्र्यो । तर, भारतको मोदी सरकार त्यसमा बाधक बनेको थियो । सबै देशले भारतको मोदी सरकारले जस्तो व्यवहार प्रदर्शन गर्ने हो भने सार्क सम्मेलन कहिल्यै सम्भव हुने थिएन र हुने छैन । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *