भर्खरै :

सरकारबाटै आचारसंहिता उल्लंघन हुनु गलत

भक्तपुर, २६ बैशाख । नेपाल मजदुर किसान पार्टीले मंगलबार भक्तपुरको दत्तात्रयमा चुनावी जनसभाको आयोजना गरेको छ । सभालाई सम्बोधन गर्नुहुँदै पार्टी अध्यक्ष नारायणमान बिजुक्छे (रोहित)ले सरकार आफैले निर्वाचनअघि उपप्रधानमन्त्री र मन्त्रीहरु नियुक्त गरेर निर्वाचन आचारसंहिता उल्लंघन गरेकोमा सरकारको आलोचना गर्नुभयो । आचारसंहिताअनुसार निर्वाचनअघि कुनैपनि सरकारी कर्मचारीहरुको नियुक्ति र सरुवा गरिँदा निर्वाचन धाँधलीपूर्ण हुने सम्भावनालाई बढाउने भएको हुँदा त्यसो गर्नु गलत भएको बताउनुभयो । उहाँले निर्वाचन अगाडि बजेट प्रस्तुत गरिए बजेट विनियोजनको प्रलोभन देखाई निर्वाचनमा धाँधली हुन सक्ने बताउँदै निर्वाचन सकिएपछिमात्र बजेट प्रस्तुत हुनुपर्ने विचार व्यक्त गर्नुभयो । भ्रष्टाचारीहरुलाई कारबाहीको दायरामा ल्याउँदा प्रधानन्यायाधीशमाथि नै प्रचण्ड र देउवाले महाभियोग लगाउन खोजेको बताउँदै प्रधानन्यायाधीशले उपराष्ट्रपति, प्रधानमन्त्रीलाई भेट्न अस्वीकार गर्नुले न्यायालयको मर्यादा राखेको विचार व्यक्त गर्नुभयो । भक्तपुर नगरपालिकामा पार्टीका उम्मेदवारहरुलाई शुभकामना दिनुहुँदै उहाँले हरेक उम्मेदवारले पार्टीको घोषणा पत्रअनुसार काम गर्न निर्देशन दिनुभयो ।
सभालाई सम्बोधन गर्नुहुँदै नेमकिपा केन्द्रीय सचिव एवं भक्तपुर नगरपालिकाका पूर्वमेयर प्रेम सुवालले भारतीय विस्तारवाद र नाकाबन्दीकोविरुद्ध नेमकिपाले मात्रै संसद र सडकमा आन्दोलन गरेको बताउनुहुँदै ठूला पार्टीहरु भारतीय शासक वर्गको इशारामा चलेको बताउनुभयो । भक्तपुर नगरपालिकाले नगरका विभिन्न स्थानहरुमा ७ वटा शैक्षिक संस्थाहरु सञ्चालन गर्दै आएको बताउँदै अब चाँडै नै ख्वप विश्वविद्यालय स्थापना गरी जनताको सेवा गर्ने बताउनुभयो । उहाँले विगतमा पनि भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, पर्यटन, संस्कृति, सम्पदा संरक्षणको क्षेत्रमा उल्लेखनीय काम गरेको बताउँदै युनेस्कोबाट सन् १९९८ मा भक्तपुरलाई सरसफाई र सम्पदा संरक्षणमा पुरस्कृत गर्नु गौरवको विषय भएको बताउनुभयो ।
त्यस्तै नेमकिपाकोतर्फबाट भक्तपुर नगरपालिकाको प्रमुख पदका उम्मेदवार सुनिल प्रजापतिले ख्वप विश्वविद्यालय स्थापनासंगै भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्रको रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । भक्तपुरमा सुविधासम्पन्न अस्पतालको आवश्यकता औंल्याउँदै उहाँले निकट भविष्यमै नगरपालिकाले २५ शैयाको अस्पताल स्थापना गर्ने बताउनुभयो ।
नेमकिपा भक्तपुर जिल्ला समितिका कार्यवाहक अध्यक्ष सुरेन्द्रराज गोसाईले नेमकिपाले १५ वर्ष अगाडी नै स्थानीय तहको चुनाव गर्न माग गरेको स्मरण गर्नुभयो । ठूला दलहरुमा राजनैतिक संस्कार र नैतिकता नभएको बताउँदै उहाँले सम्पदा जगेर्ना गर्नु आफैमा पनि विकास भएको बताउनुभयो । उहाँले कम्युनिष्टको नाम जपेर सिद्धान्त छोड्नु संकिर्णता भएको बताउँदै नेमकिपाको इतिहास पारदर्शिताको इतिहास हो भन्नुभयो ।
पार्टीकातर्फबाट भक्तपुर नगरका उपप्रमुखका उम्मेदवार रजनी जोशीले स्थानिय तह प्रजातन्त्रको जग भएको हुँदा घोषणा पत्रअनुसार काम गर्ने पार्टी र उम्मेदवारहरुलाई मत दिन आग्रह गर्नुभयो ।
भनपा वडा नं ९ का वडा अध्यक्ष उम्मेदवार रवीन्द्र ज्याख्वले नेमकिपाले सधैं जनताको पक्षमा काम गरेको बताउँदै ०५६ साल मै भनपाले कलेजहरु खोलेर जनताका छोराछोरीहरुलाई सस्तोमा शिक्षा प्रदान गरेको बताउनुभयो ।
कार्यक्रममा विभिन्न वडाका अध्यक्ष उम्मेदवारहरुले आ–आफ्नो प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । नेमकिपा भक्तपुर नगरका अध्यक्ष रवीन्द्र खर्बुजाको सभापतित्वमा सम्पन्न कार्यक्रममा नीरज लवजूले पनि बोल्नुभएको थियो ।
फोटोः बालकृष्ण बनमाला




Leave a Reply

Your email address will not be published. Required fields are marked *