भर्खरै :

शत्रुको प्रहारले नेमकिपालाई झन बलियो बनाउनेछ ।

(बैशाख २६ गते दत्तात्रयमा आयोजित नेपाल मजदुर किसान पार्टीको चुनावी जनसभामा पार्टीका कार्यवाहक भक्तपुर जिल्ला अध्यक्ष सुरेन्द्रराज गोसाईले दिनुभएको मन्तव्य सार यहाँ प्रस्तुत छ – सम्पादक)
वास्तविकतालाई छोपेर नेमकिपाले विकास गरेन भन्नु फट्याइँ हो, ढाँट हो ।

  • पुर्खाले छोडेर गएका मठ–मन्दिर, पाटी–पौवा, सत्तल, सम्पदा जगेर्ना गर्नु विकास नभई के हो ?
  • पचपन्न झ्याले दरबार, भैरवनाथ मन्दिर, ङातापोल, सिद्धपोखरी आदि जिर्णोद्धार गर्नु विकास नभए के ?
  • झौरवही, प्रशन्नशील, चतुर्ब्रम्ह, आदिपद्म महाविहारहरु जिर्णोद्धार विकास नभए के ?
  • शिक्षाको व्यापक प्रचार गरी शिशुस्याहार केन्द्र, विद्यालय, कलेज खोल्नु र देशका ७४ जिल्लाका दाजुभाइ–दिदीबहिनीहरुलाई सेवा प्रदान गर्नु कुन आँखाले दूर्गति देख्छ ?
  • व्यवस्थित वस्ती विस्तार गर्न टाउन प्लानिङ गर्नु विकासको पाइला होइन ?
  • जनतालाई तुलनात्मकरुपमा सस्तोमा स्वास्थ्य सेवा दिनु के हो ?
  • परम्परागत बाजागाजा, नाचगान र चिजबिजहरु जोगाएर आधुनिक जीवनको सेवा गर्नु के उपलब्धि होइन ?
  • यी सच्चाइ, वास्तविकता र तथ्यलाई छोपेर नेमकिपाले विकास गरेन भन्नु फट्याइँ हो, ढाँट हो र जनतालाई मूर्ख बनाउने कुचेष्टा मात्र हो ।
  • विकास भन्नाले भौतिक विकासमात्र होइन चेतनाको विकास स्वयम् विकास मध्येको उत्कृष्ट विकास हो ।
  • जसले जेसुकै भने पनि नेमकिपाले जनताको चेतना स्तर विकास गर्न छोड्ने छैन, राजनैतिक चेतको विकास गर्न रोक्ने छैन र सु–संस्कृत एवं सभ्य समाज निर्माण गर्ने हाम्रो लामो अभियान चालू रहनेछ ।
  • विकासको नाउँमा पक्षपात, भागबण्डा चाहेको हो भने, व्यक्तिगत स्वार्थ र दलगत नाफा खोजेको हो भने, सार्वजनिक सम्पत्तिमाथि लूटपाट गर्न चाहेको हो भने हामी ठाडै अस्वीकार गर्छौं, प्रतिकार गर्छौ र त्यसविरुद्ध निरन्तर संघर्ष गर्छौं ।
  • ध्वंशकारी, भ्रष्टाचारी र लुटेराहरुले विकास नदेख्नु र तिनीहरुको चिच्याहट त ब्वाँसाहरुको ‘चिल आयो, चिल आयो’ को धूत्र्याइँ सिवाय केही होइन ।
  • हामीलाई पूर्ण विश्वास छ, ठग र छलीहरुको पछाडि जनता कहिल्यै लाग्ने छैनन् ।
  • हामी हाँक दिन्छौं, शासक दलहरु आफू क्रियाशील गाउँ, नगर, जिल्लामा आफ्नै पहल र अगुवाइमा गरेका विकास र परिवर्तनको नमूना या प्रमाण पेश गरुन् र पक्षपातपूर्ण ढ·मा सरकारी बजेटको दुरुपयोग, एनजीओ–आइएनजीओको डलर कुम्ल्याउनेबाहेक, तीन पुस्तालाई पुग्ने गरी भ्रष्टाचार गरी सम्पत्ति जोड्नेबाहेक समाजमा तात्विक परिवर्तन ल्याउन तिनीहरुले सिन्को भाँचेनन् । यो जगजाहेर छ ।
  • शासक दलहरुको नालायकीपनकै कारण झण्डै ६० लाख नेपाली युवाहरु विदेशमा कठिनाइपूर्वक पसिना बगाउँदैछन्, नेपाली जमिन बाँझो छ, उद्योग धराशायी भएका छन् । त्यस्ता नालायकहरु नेमकिपालाई विकासविरोधी देखिरहेछन् !
  • बहुदलीय व्यवस्था स्थापनापश्चात्का २५ वर्ष देशलाई आर्थिकरुपमा ध्वस्त र सामाजिकरुपमा पतनउन्मूख बनाउनेहरुको विकासको नारा गफादीको गफ हो, बकम्फुसे नारा हो ।

घनघोर जातिवादीहरु नेमकिपालाई सङ्कीर्ण देख्छन्

  • घनघोर जातिवादीहरु नेमकिपालाई सङ्कीर्ण देख्छन् ।
  • नेमकिपाले विश्वको सबैभन्दा आधुनिक तथा वैज्ञानिक विचार बोकेको छ । वैज्ञानिक साम्यवादलाई अन्तिम गन्तव्य बनाएको छ । आफ्नो उद्देश्यप्रति नेमकिपा कहिल्यै विचलित भएन । सिद्धान्त र उद्देश्यमा एक दिन पनि टिक्न नसक्ने अवसरवादीहरु नेमकिपालाई संकीर्णको आरोप लगाउँदैछन् । चोरले अरुलाई चोर देख्नु भनेको यही हो ।
  • नेमकिपा विचार, सिद्धान्त, नैतिकता र इमानदारीको राजनीति गर्छ र सबैलाई यही बाटो देखाउँछ । सत्ताको वरपर झि·ाझैं भन्किरहनेहरु, झुम्मिरहनेहरुले नेमकिपालाई संकीर्ण देख्नु भनेको आफ्नो कमजोरी र कर्तूत छोप्ने दुष्प्रयाश मात्रै हो । झि·ाको सरापले डिंगा डग्दैनन् ।
  • जातीय, क्षेत्रीय र धर्मको राजनीति गर्नेहरुले नेमकिपालाई संकीर्ण देख्नु भनेको अत्यन्तै हास्यास्पद कुरा हो, राजनीतिक केटाकेटीपन हो, नकच्चरोपन हो ।
  • नेमकिपा आमूल परिवर्तनको निम्ति संघर्षरत छ । क्रान्तिका पक्षपातीहरु कहिल्यै संकीर्ण हुने गर्दैन । बरु अवसरवादी, आत्मसमर्पणवादीहरु, विश्वासघातीहरु संकीर्ण हुन् । कम्युनिष्ट भन्दै सैद्धान्तिकरुपमा गद्दारी गर्नेहरु संकीर्ण हुन् ।
  • आजभन्दा १५–१६ वर्ष अगाडि नै नेमकिपाले ‘एक घर एक स्नातक’, ‘समाजको बुद्धिजीवीकरण’, ‘भ्रष्टाचारमुक्त सहर’ र ‘आदर्श नगर’को परिकल्पना अगाडि सा¥यो र त्यसलाई अभियानको रुपमा अगाडि लग्यो । यस्तो दूरदृष्टि र फराकिलो सोच भएको पार्टीलाई संकीर्ण देख्नेहरुले कि त आत्मालोचना गर्नुपर्छ होइन भने मगजको उपचार गर्नुपर्ने हुन्छ ।
  • जातीय अहंकार देखाउने, वडाराष्ट्र अहंकारवादी, सामन्ती प्रवृत्तिका शासक दलहरु र तिनका नेताहरु नै संकीर्ण हुन् ।
  • थ्रेसहोल्ड लगाई नयाँ विचारको हत्या गर्न खोज्ने, विपक्षी दलहरुमाथि निर्मम दमन गरी प्रजातन्त्रलाई शूलीमा चढाउने शासक दल र तिनका युद्ध सरदारजस्ता नेताहरु संकीर्ण हुन् ।

नेमकिपालाई कसैले सहिष्णुताको पाठ नसिकाए हुन्छ ।

  • नेमकिपाका नेता–कार्यकर्तालाई सहिष्णुताको पाठ कसैले सिकाउन आवश्यक छैन ।
  • शिक्षकलाई सिधै गोली ठोक्नेहरुले, एक छाक भात खान बन्दूक देखाउनेहरुले, एक रात बास बस्न वस्तीलाई नै आतङ्कित पार्नेहरुले नेमकिपालाई सहिष्णुताको पाठ सिकाउने ?!
  • चैते माओवादी, चैते एमाले र कांग्रेसलाई हामी भन्छौं – तिमीहरु जहाँ जहाँ छौ भक्तपुरमा जस्तो सहनशीलताको संस्कार, राजनीतिक संस्कार सुरु गर देशकै राजनीति बदलिनेछ ।
  • जसका पार्टीमा गुण्डा, लुटेरा, विदेशी दलालहरुको हालीमुहाली छ, जुन पार्टी गुटभन्दा बढी गिरोहले चलाइरहेको छ र राजनीतिलाई जो डकैती बनाइरहेछन् । आज तिनीहरु नेमकिपालाई असहिष्णु भनिरहेछन् । कमसेकम अलिकति विश्वास गर्न सानो आधार हुने त कुरा गर्नुपर्छ । सिंहमर्मरलाई हिलो छ्याप्नुको कुनै अर्थ रहँदैन ।

नेमकिपाविरुद्ध चलाइएको तरवारले तिनीहरु स्वयंकै शीर छेदन गर्नेछ ।

  • जुन पार्टी लूट, ब्रम्हलूट गरी कमाएको सम्पत्तिको आधारमा चलिरहेको छ, जुन पार्टी एसियाकै भ्रष्टमा गनिन्छ, जुन पार्टी एनजीओ, आईएनजीओको बजेटमा आधारित छ र जुन पार्टी विदेशी दूतावासबाट पठाइएको बजेटमा आधारित छ र जुन पार्टी विदेशी दूतावासबाट ल्याएको ब्रिफकेशको भरमा चल्छ, जुन पार्टी कार्यकर्ता पाल्नकै निम्ति सत्ताको भ¥याङ चढ्छ त्यस्ता दल र तिनका नेता कार्यकर्ताले नेमकिपालाई पारदर्शिताको हाँक दिने !
  • हामी दावाका साथ भन्छौं नेमकिपा र नेमकिपाका गतिविधि जति पारदर्शी नेपालका अन्य दलहरु भएको भए नेपाल भ्रष्टाचारको निम्ति यति बद्नाम हुने नै थिएन ।
  • माओवादी, एमाले र कांग्रेस पार्टी तिनका नेताहरु कति भ्रष्ट छन् भन्ने कुरा त तिनीहरु भित्रका आ–आफ्ना गूटलाई प्रष्ट थाहा छ । तिनीहरुकै पार्टीभित्रका नेताहरुले लेखेका पुस्तक, लेख–रचना, भाषण त्यसका प्रमाण हुन् ।
  • नेमकिपाको स्वच्छ छवि, इमानदारी, राजनीतिक अडान, दागरहित चिनारीबाट तिर्मिराएकाहरु आज हावामा तरवार चलाइरहेका छन् । त्यो तरवारले हाम्रो होइन उनीहरुको आफ्नै शीर छेदन गर्नेछ । तिनीहरु आकाशतिर हेरेर निर्लज्जतापूर्वक थुकिरहेछन् र तिनीहरुको थुक तिनीहरुकै मुखमा पर्नेछ । तिनीहरु जनतासामू गाइजात्रे पात्र सावित भइरहेका छन् ।
  • शत्रुका हरेक हाँकलाई स्वीकार्दै नेमकिपा र बफादार कार्यकर्ता हिजोभन्दा अझ बलियो हुँदै संघर्षमा होमिनेछौं र जनताको सेवाकार्यमा अहोरात्र निः स्वार्थपूर्वक खट्नेछौं ।

जनताको प्रजातन्त्रको पक्षमा, सेवा तथा समर्पणको राजनीतिको पक्षमा देश र जनताको पक्षमा मादल चिह्नमा मतदान गरी नेपाल मजदुर किसान पार्टीका उम्मेदवारहरुलाई अत्यधिक मतले विजयी बनाऔं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *