भर्खरै :

पूर्वमध्यकालिक नेपालबारे ओजिलो कृति

नीरज
नेपाल र एसियाली अनुसन्धान केन्द्र ( सिनास) ले २०५४ सालमा प्रकाशन गरेको प्रयागराज शर्माले लेख्नुभएको पुस्तक ‘कुल, भूमि र राज्यः नेपाल उपत्यकाको पूर्वमध्यकालिक सामाजिक अध्ययन’ ले अध्ययन गरेको परिधि इतिहासको पूर्वमध्यकालिक कालखण्डमा मात्र सीमित छैन । खासमा यो पुस्तकले काठमाडौँ उपत्यकाको सामाजिक र सांस्कृतिक आयामको विहङ्गम अध्ययन गरेको छ । काठमाडौँ उपत्यकाको नेवार समुदायका आजका चालचलन, संस्कृति, रीतिरिवाज, भाषा–संस्कृति समयक्रममा काठमाडौँ उपत्यकामा मिल्न आएका धेरै सांस्कृतिक, राजनीतिक, आर्थिक र सामाजिक भङ्गालाको समष्टि हो । तर, यसको जग भने प्राचीन र मध्यकालमा बसेको थियो । इतिहासकारहरूले लिच्छविकालदेखि जयस्थिति मल्लको शासनसम्मलाई नेपालको पूर्वमध्यकालीन इतिहास मानेका छन् । तथापि लेखक शर्माले तत्कालीन मल्ल राज्य विभाजित हुनुभन्दा अघिसम्मको अवधि अर्थात् राजा यक्ष मल्लको शासनकालको समाप्तिसम्मलाई पूर्वमध्यकालको सिमाना कोरेर अध्ययन गरेका छन् ।
इतिहास भन्नासाथ राजा–महाराज र दरबारका गतिविधिको चौघेरामा सीमित हुने गरेको छ । कुन राजापछि कसले शासन चलायो, को–को राजा र भारदारबीच के कस्ता मनमुटाव र शक्ति सङ्घर्ष भए, कुन राजाका कति रानी थिए आदि प्रश्नकै वरिपरि इतिहास लेख्ने परिपाटीले जनताको कुरा सधैं ओझेलमा पर्ने गरेको छ । प्रयागराज शर्माको प्रस्तुत पुस्तक त्यसमानेमा एउटा फरक पुस्तक हो । इतिहासको निश्चित कालखण्डबारे लेखिएको यो पुस्तक एउटा समाजशास्त्रीय अध्ययन हो । राजा–महाराजाका नाम र तिथि–मितिको परिधि नाघेर यो पुस्तकमा जनताको संस्कृति, रीतिरिवाज, भाषा–संस्कृतिको अध्ययन गरिएको छ ।
प्राचीन र मध्यकालीन नेपालको इतिहास भन्नासाथ मूलतः काठमाडौँ उपत्यकाको ऐतिहासिक अध्ययनमा सीमित छ । इतिहासको अध्ययनलाई फराकिलो बनाउन हिजोआज धेरैथरी साना–ठूला प्रयास जारी छन् । तथापि, स्रोतसाधन र प्रमाणको मनग्यताको आधारमा काठमाडौँ उपत्यकाको इतिहास नै नेपालको इतिहास मान्नुपर्ने कैयन बाध्यता अझ बाँकी छन् । लेखक शर्माले पनि आफ्नो पुस्तकलाई काठमाडौँ उपत्यकाको नेवार समुदायको सामाजिक र सांस्कृतिक अध्ययनमा केन्द्रित गर्नुभएको छ ।
समयक्रममा विभिन्न सभ्यता र संस्कृतिको धारा काठमाडौँ उपत्यकामा समाहित भए । चारै दिशाबाट आएका सबै ‘विदेशी’ संस्कृति र सभ्यताका बीउलाई काठमाडौँले अङ्गीकार मात्र गरेको छैन, बरु तिनलाई यहाँ स्थानीयकरण पनि गरेको लेखक शर्माको अध्ययन छ । नेपालभाषा अर्थात् नेवारी भाषा यसको ज्वलन्त प्रमाण हो । नेपालभाषा भोटबर्मेली भाषा समूहअन्तर्गत मानिन्छ । तर, नेपालभाषामा प्रयोग शब्द र ऐतिहासिक अभिलेखका विभिन्न शब्दावलीका आधारमा नेवारी भाषाले एकै दिशाका भाषा र शब्दलाई मात्र अङ्गीकार गरेको देखिंदैन ।
शर्माले पुस्तकमा नेवार समुदायको विकासक्रमबारे अध्ययन गर्दा वास्तवमा मूल नेवार समुदाय को थिए भन्ने कुरा पहिल्याउन सजिलो नभएको लेख्नुभएको छ । ‘नेवार जातिमा मूल नेवार को हो भनेर कुनै पनि एक जाति वा वर्गलाई औंल्याउन आज हामी सक्दैनौं । वास्तवमा नेवारको मूल जातिको खोजी भनेको प्याज छोडाएजस्तो अनुभव हो । जति छोडाए पनि पत्रै पत्र आउँछ, चुरो कहिल्यै भेटिंदैन ।’ तर, इतिहास अध्ययनको अन्त्यहीन सिलसिलाको क्रममा कुनै दिन त्यो प्राचीन इतिहासको भेद पनि पहिल्याउन मानिस सफल हुने आशा गर्न सकिन्छ । इतिहास र सम्पदा अध्ययनसँग आजभोलि गाँसिएर आउने विज्ञान प्रविधिले पक्कै पनि यसमा योगदान गर्नेछ ।
शर्माले ‘नेवार’ शब्दको मूल स्रोत ‘नेपाल’ शब्द नै हुनसक्ने अड्कल गर्नुभएको छ । ‘नेपाल’ मा बस्ने समुदायलाई ‘नेवार’ भनियो वा ‘नेवार’ बस्ने भूगोल भएकोले देशको नाम ‘नेपाल’ रहन गयो भन्ने छलफलमा उहाँ प्रष्ट लेख्नुहुन्छ, “नेपालका प्राचीन बासिन्दालाई जातिवाचक अर्थमा ‘नेपाल’ अथवा ‘नेवार’ अथवा ‘नेपार’ नामले वा कुनै पनि अन्य उच्चारण भेदलाई प्रयोग गरेर भनेको प्राचीनतम उल्लेख आजसम्म केही भेटिएको छैन । यसबाट ‘नेपाल’ शब्दको प्रथम व्युत्पत्ति देशार्थ नै हुनुपर्दछ र कालान्तरमा त्यसैको उच्चारण भेदका रूपमा त्यहाँका बासिन्दालाई जातिवाचक अर्थमा भन्दा पनि ‘नेपाल’ को रूपान्तरणबाट ‘नेवाल’ अथवा ‘नेवार’ बन्न गएको होला भन्ने अनुमान हुन्छ । तर, ‘नेपाल’ शब्दको प्राचीन व्युत्पत्ति के अर्थबाट आएको होला भन्ने कुरा चाहिँ अझै अड्कलकै विषय हुन्छ ।”
पुस्तकमा काठमाडौँ उपत्यकामा बौद्ध र हिन्दु धर्मका अनुयायीको उपस्थिति र उनीहरूभित्रका एकअर्कासँग मिसमास भएका तर अलग–अलग संस्कृति र रीतिरिवाजको अध्ययन गरिएको छ । काठमाडौँ उपत्यकाभित्रका बज्राचार्य, शाक्य र तुलाधारबीचको सम्बन्ध यसमा छलफल गरिएको छ । त्यस्तै, यता हिन्दु वर्णाश्रमअनुसार नेवार समुदायको वर्गीकरण र सामाजिक तह विभाजनको चर्चाले नेवार समुदाय तत्कालीन अवस्थामा एउटा पूर्ण समाज भएको अनुभव हुन्छ ।

पुस्तकले मध्यकालिक नेपाल (काठमाडौँ उपत्यका) को अध्ययनलाई आफ्नो सीमितता कोरे पनि यसमा नेवार समुदायले अवलम्बन गर्दै आएको विभिन्न चालचलन र परम्पराबारे फराकिलो अध्ययन गरिएको छ । नेवार समुदायमा विभिन्न सामाजिक परम्परा जस्तै कय्तापुजा, इहीं, बारा आदिबारे पुस्तकमा गरिएको अध्ययनले नेवार सभ्यता पहिल्याउन यो पुस्तक बलियो आधार हुनसक्छ । त्यसकारण प्रयागराज शर्माको यो पुस्तक इतिहास लेखनको परियोजनाअन्तर्गत लेखिएको भए पनि यसले समाजशास्त्रको गहिराइ नापेको छ ।

नेवार समाजमा हरेक नाता–सम्बन्धको आफ्नै भूमिका र अलग–अलग गहिराइ छन् । त्यस्ता सम्बन्धलाई के कस्ता व्यवहार वा प्रतीकबाट सङ्केत गरिएको हुन्छ भन्ने विषयमा शर्माको अध्ययन निकै रोचक र जानकारीमूलक छ । नेवार समुदायको एउटा बलियो सामाजिक आधार गुठी हो । गुठीका आ–आफ्ना प्रकृति र प्रकार छन् । त्यस्ता गुठीले नेवार समुदायलाई कसरी एकगठ बनाएको छ, गुठीको सदस्य प्रणालीदेखि भूमिकासम्मका मिहिन अध्ययन पुस्तकमा गरिएको छ । गुठीको विकासक्रम र त्यसको सामाजिक–आर्थिक भूमिकाले नेवार समुदायको विस्तृत अध्ययनको लागि आधार निर्माण गर्न सक्छ । समाजमा गुठीको भूमिका धेरै कोणबाट आजभोलि क्षीण बन्दै गएको हो भन्ने भान पर्छ । तथापि विशेषतः काठमाडौँ उपत्यकाभित्रका नेवार समुदायमा गुठी अझ पनि एउटा बलियो सामाजिक सङ्गठन छँदैछ । कतिपय अल्पसङ्ख्यक जातको लागि गुठी एउटा जात सङ्गठन पनि हुने गरेको लेखकको दाबी मनासिब छ ।
पूर्वमध्यकालीन नेपालमा भूमि वितरणको सम्बन्धित लेखकको अध्ययनले पुस्तकलाई ओजिलो बनाएको छ । पञ्चाली, देवकुल, गोष्ठिक आदि भूमिअनुसारको विभिन्न थरी समुदाय अथवा ग्राम र द्रोङले तत्कालीन भूमि व्यवस्थाको संरचना बुझ्न सकिन्छ । दरबारको सेवा गर्ने विभिन्न पेशा र थरका मानिसले सेवाबापत पाएको जग्गा–जमिन किसानलाई गराएर त्यसको आयस्ताबाट जीविकोपार्जन गर्ने चलन राणाकालसम्म पनि चालु थियो । त्यसरी कसैको जमिनमा कृषि पेशा अपनाएर जीविकोपार्जन गर्ने वर्ग काठमाडौँ उपत्यकाका ज्यापु वर्ग हुन् । यो वर्ग नै वास्तविक श्रमजीवि वर्ग थिए । त्यस्तै विभिन्न सीप र शिल्पको सेवा दिएर समाजको सेवा गर्ने तहकरणमा सीमान्तकृत समुदाय पनि श्रमजीवि वर्ग हुन् ।
पुस्तकले मध्यकालिक नेपाल (काठमाडौँ उपत्यका) को अध्ययनलाई आफ्नो सीमितता कोरे पनि यसमा नेवार समुदायले अवलम्बन गर्दै आएको विभिन्न चालचलन र परम्पराबारे फराकिलो अध्ययन गरिएको छ । नेवार समुदायमा विभिन्न सामाजिक परम्परा जस्तै कय्तापुजा, इहीं, बारा आदिबारे पुस्तकमा गरिएको अध्ययनले नेवार सभ्यता पहिल्याउन यो पुस्तक बलियो आधार हुनसक्छ । त्यसकारण प्रयागराज शर्माको यो पुस्तक इतिहास लेखनको परियोजनाअन्तर्गत लेखिएको भए पनि यसले समाजशास्त्रको गहिराइ नापेको छ ।
प्राध्यापक माधवराज पाण्डे र कुमार श्री खड्गविक्रम शाह सिनासमा कार्यकारी निर्देशक रहेको बखत २०१९ सालसम्मको नेपालको इतिहास लेख्ने ‘राष्ट्रिय इतिहास परियोजना’ को परिकल्पना गरी कार्यान्वयन पनि सुरु भएको थियो । सोको लागि इतिहासको कालखण्ड विभाजन गरी अध्ययन–अनुसन्धानको जिम्मेवारी विभाजनसमेत भएको थियो । तर, त्यो परियोजनाले परिकल्पना गरेजस्तै सो अवधिको इतिहास तयार हुन सकेन । अध्येताहरूले निकै मिहिनेतले तयार गरेका अध्ययन सिनासको भण्डार कक्षको बन्द दराजमा सीमित थियो । लामो समय यत्तिकै रहेका ती अध्ययनलाई पुस्तकाकार दिने काम सिनासका कार्यकारी निर्देशक डा।प्रेमकुमार खत्रीले गर्नुभयो । सो क्रममा त्यत्तिबेला प्रकाशित विभिन्न पुस्तकमध्ये प्रयागराज शर्माको यो पुस्तक पनि एउटा अंश हो । लगभग सिनासको कोठामा कैद यति महत्वपूर्ण कृतिलाई जीवन दिने विद्वान् प्राध्यापकहरू आभारका पात्र हुनुहुन्छ । प्रयागराज शर्माको विद्वता पुष्टि गर्न यही एउटा कृति नै मनग्य छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *