भर्खरै :

सात भोट मादलमा 

– अस्वत्थामा
मौसम निर्वाचनको हो । अल्पकालिन रणनीतिको रूपमा होस् वा दिर्घकालिन कार्यनीतिको रूपमा, लोकतन्त्रको अभ्यासमा छिरिसकेपछि चुनावी मौसमले नरंगिनुको विकल्प या त ‘विप्लव राजनीति’ हुन्छ या त कुत्सित स्वार्थधारी ‘मधेसवादी’ । विडम्बना यी दुवैको केन्द्र एउटै विन्दुमा छ भन्ने फेरी अर्को पुष्टि हुनेवाला छ यदि चुनाव भएन भने । पहिलो चरणको चुनाव भइसकेपछि दोस्रो चुनाव भएन भने । अथवा पहिलो चरणको चुनाव पछि संविधान संशोधनको बखेडा पारित नहुँदासम्म चुनावमा जान्न भन्ने घुर्की लागिरह्यो भने । सम्भावना पहिलोमा भन्दा दोस्रो र तेस्रोमा बढी छ ।
विप्लव राजनीति र मधेसवादी नबनेकाले मात्र होइन, मेरो गाउँ टोल र क्षेत्र-देश बनाउने जिम्मा पनि मेरै हो भन्ने सामान्य राजनीतिक चेत छ भने कसैमा, उ स्थानिय तह  निर्वाचनको मौसममा नभिजी सुखै छैन ।
झण्डा बोक्ने हो वा थपडी बजाउने । किनारमा उभिने वा मझधारमा उर्लिने । वैयक्तिक स्वतन्त्रता हो । तर, राम्रोलाई राम्रो भन्दा नराम्रोले स्थान पाउने सम्भावना कमजोर बनिदिन्छ । नराम्रोलाई पछि पार्न पनि राम्रो अघि लाग्नुपर्छ । यो अर्को सामान्य चेत हो ।
सोधियो – भोट कसलाई ? किन ?
निर्धक्क भनियो – नेमकिपाका उम्मेदवारलाई । मादलमै । सातै भोट केवल मादलमै ।
चुनावी प्रचारजस्तो लाग्न सक्छ यो लेखोट । प्रचार कम अभिमत बढी ठानौं । त्यसो त नदीनेर उभिएपछि कि वारी हुन्छ कि पारी । चुनाव हो बोलेपछि कसैको समर्थन हुन्छ नबोल्दा पनि कम्तिमा चुनाव विरोधीको समर्थन हुन्छ । गोप्य मतदान अधिकार हो, कर्तव्य पनि ठाने हुन्छ । तर कसैले यदि खुलेरै भन्छ यो चिन्हमा भोट हाल्छु भने, निर्धक्क कारण र तर्क खोजेहुन्छ ।
यहाँ सात भोटका सात कारण छन् । चित्त नबुझे सामाजिक सञ्जालमा सोधेहुन्छ ।
भोट १ – जनमतको सुनिश्चतता
राष्ट्रपति रामवरण यादवले चुरे संरक्षण कार्यक्रममा जोड दिनुभन्दा पहिले नै देशमा दोहन शुरू भइसकेको थियो । चुरे उद्गम भएर बहने खोलानदीका गिट्टी, बालुवा सीमापार गराउनकै लागि स्थानीय ठेकेदारहरू लागिपरेका थिए । संरक्षण थियो तिनीहरूलाई राजनीतिक दलहरूको, जो जिल्लामा बलिया ठानिन्थे । काँग्रेस र एमाले नै थिए जसका जिल्ला तहका नेताका आसेपासेहरू क्रसर मिल चलाउँथे । नेपालको गिट्टी र गिट्टीको ट्रकमा चुनढुंगा राखेर भारत पठाउँथे । तिनै ठेकेदारको झुण्डको स्वार्थ रक्षामा परिचालित छन् यी दल । जसमा पछि थपियो माओवादी पनि । जिल्ला विकास समितिको सर्वदलीय संयन्त्रमा गिट्टी बालुवा निकासी कुनै हालतमा पनि बन्द गर्नुपर्ने आवाज उठाउने जो थिए, तिनको चुनाव चिन्ह अहिले मादल हो ।
– ठेकेदारको स्वार्थ रक्षाका लागि देशको प्राकृतिक स्रोतको अत्याधिक दोहन जसले गर्यो, गरिरहेछ ।
– चुरेका डाँडाहरू जसले नाँगै बनायो, बनाइरहेछ ।
– पानीका मुहानहरू जसले सुकायो र अहिले खानेपानीको नारा दिइरहेछ ।
के त्यसले कुनै जवाफ दिनुपर्दैन ?
विमानस्थल बन्दैछ सिमानामा । लगानी छ कुनै पूर्व प्रधानमन्त्रीको छोराको नाममा । पैसा हो कुनै अन्तर्राष्ट्रिय डनको । अर्थात् ठेकेदारी र आर्थिक चलखेल केन्द्रबाटै स्थापित छ । र, त्यसले तल्लो तहसम्म जरा गाडेको छ ।
केन्द्रका दुई/चार नेताको झुण्ड त्यसलाई चलाउने ठेकेदार समूह । स्थानीय स्तरमा त्यस्तै झुण्ड त्यसलाई चलाउने अर्को ठेकेदार समूह । केन्द्रको झुण्ड र स्थानीय झुण्डबीचको तालमेल । क्याम्पसको सटर भाडादेखी नदीनाला दोहनसम्म जसले ठेकेदारहरूको स्वार्थ रक्षा गर्न मरिहत्ते गर्छ । त्यो कसरी जनमतको कदर हुन्छ ?
जबकि नेमकिपा मात्रै त्यो दल बन्यो, जसले ठेकेदारी प्रणालीकै विरोध गर्यो । सडक निर्माणदेखि सरसफाइसम्म जसले कमिसन आधारित ठेकेदारी स्वीकारेन के त्यो जनमतको सुरक्षा होइन ? जसले जनमतलाई ठेकेदारीतन्त्रको पर्यायवाची बनाएको छ । त्यसको विकल्प नेमकिपा कसरी होइन ?
यो एक दशकमा त्यो ठेकेदारीविरूद्ध जो उभियो त्यो मादल चुनाव चिन्ह लिएर आएको छ । उसलाई नदिए कसलाई दिने मत ?
भोट २ – साँचो शहरीकरण
‘मेट्रो ट्रेन चलाउँछु’ । स्रोत खोइ? व्यवस्थापन खोइ ? कहाँ चलाउने ? कसको जग्गा मासेर ?
‘ठूला-ठूला सपिङ मल बनाउँछु’ । लगानी कसको ?
‘राजधानीको छेवैमा भएरपनि विकास भएन ।’
पख्नुस् महाशय तपाईको आरोपले विकास चिन्तनकै छलफल माग्छ ।
विकास त्यो शब्द हो जसको पहिलो प्रयोग गरेका थिए अमेरिकी राष्ट्रपति हेनरी ट्रुम्यानले । हेनरीको ‘विकास’को अर्थ थियो अमेरिकाजस्तै बन्नु । अमेरिकी संस्कृति, अमेरिकी जीवनपद्धति, अमेरिकी शैलीको घर, अमेरिकी शैलीको चिन्तन भए विकास नभए अविकास । विकसित र अविकसितको घेरा यसरी नै छुट्याएका थिए उनले । त्यसोभए के पहिलो विश्वयुद्ध हुनुभन्दा पहिले नै बनेका शहरहरू अविकसित थिए ?
त्यसोभए स्थानीय समुदायमा आधारित सिँचाइ प्रणाली विकास गर्ने स्थानीय थारू समुदाय अझै पनि पछौटे छ ?
गलत । विकासको ट्रुम्यान चिन्तन नै गलत छ ।
हो, सडक चाहिएको छ ट्राफिक जाम नहुने । हो, अस्पताल चाहिएको छ गुणस्तर युक्त । हो, शिक्षा चाहिएको छ प्रभावकारि र सुलभ सकेसम्म निःशुल्क ।
तर, जब असनका गल्लीहरूमा मोटरबाइक र कारहरूसँगै ठोकिएर हिँडुनपर्छ । जब इन्द्रचोकदेखि न्यूरोडसम्म ट्राफिकजाम दिनहुँ देख्नुपर्छ । र जब अव्यवस्थति बसोबासका अनेकन् पीडा भोग्नुपर्छ काठमाडौं महानगरपालिकाको विकास देखेर दिक्क लाग्छ ।
विकासको साँचो अर्थ ट्रुम्यानको परिभाषा त्यागेर भन्ने हो भने जीवननिर्वाहका आधारभूत आवश्यकता, आत्मसम्मान र स्वतन्त्रताको सुनिश्चतता हो । जो भागबण्डाको बन्दि बनेको छ कसरी यो सुनिश्चत गर्नसक्छ ?
जबकि शहर-सभ्यता नबुझेकाहरू नै शहरीकरणको नारा लगाइरहेछन् ।
शहर भनेपछि बाटो देखे प्रतिक्षालय वा चौपारी मासे ।
शहर भनेपछि बस्ती देखे पार्क मासे ।
शहर भनेपछि हार्डवेयर र दारू पसल देखे वाचनालय र पुस्तकालय मासे ।
यो एक दशकमा दलीय भागबण्डाको नाममा देशैभर कति सार्वजनिक जग्गा दलहरूको नाममा बाँडियो, हिसाबै गरेर हेर्ने हो भने एक रजिस्टर भरिनेछ सायद । राम्रोसँग लेन्स लगाएर हेरे हुन्छ भागबण्डाको नाममा सार्वजनिक जग्गा खाने लिस्टमा जुन पार्टी छैन त्यो अहिले मादल चुनाव चिन्ह लिएर आएको छ ।
अनि सोधे हुन्छ ति ‘विकासे’हरूलाई देशैभर दमकल पनि घुमाउन नमिल्नेगरी जग्गा मिचेर घर बनाउनेहरूको रक्षा कुन दलले गरेको हो ? नाजवाफ हुनेछन् ती । अनि थाहा हुनेछ ‘विकास’को बकम्फुसे नारा पनि ।
जहाँसम्म काठमाडौंको शहरीकरणको ‘अनुपम उदाहरण’ छ दुइ आना जग्गामा पनि कुनै ज्यामितिय आकार नभएका सलाइ बट्टे घरहरूलाइ नै विकास भन्ने हो भने त्यो विकास नभएकै राम्रो ।
हो, सञ्चारसँगै संस्कृति फराकिलो छ । तर म नेपाली शैलीकै घरमा बसेर एक हातमा क्यापुचिनो र अर्को हातमा चटामरी लिन चाहन्छु । मेरो विकासमा मलाई मेरै गन्ध चाहिन्छ । जुन गन्ध बोकेर आउने मादल हो । त्यसैले दोस्रो भोट पनि उसैलाई ।
भोट ३ – मौलिकताको निरन्तरता
‘इन्द्रजात्रा मनाइयो अमेरिकामा पनि ।’ समाचार आयो ।
जबकि मनाउनेमा अधिकांश काठमाडौंका रैथाने नेवार थिएनन् । तर बाँधेको थियो माटोको मायाले । त्यो मौलिकताको सुवास हो । नभए त पिज्जा वा बर्गर भोजको समाचार बनथ्यो ।
जब पाटनको दरबार पेटीमा बसेर सन्ध्याकालिन समय हेर्छु हरेकपटक आँखा अगाडिका सलाइ बट्टे घरमा ठोकिन्छन् । विरक्त छुटेपछि क्वाठण्डुमा पुगेर कालीमाटीकी महर्जन दिदीको हातको चटामरी वा बारा खाएर चित्त बुझाउँछु ।
भक्तपुरको दरबार स्क्वायरमा बसेर त्यहाँका मन्दिरमा कुँदिएका कलाको अर्थ खोज्न थालेको कतिपय भयो आफैलाई थाहा छैन ।
यद्यपि मौलिकता केवल मन्दिरको बुनोटमा हुँदैन । समाजको बुनोटमा पनि उत्तिकै हुनछ । हरेक समाजले आफ्नो निर्माण क्रममा पारिवारिक-सामाजिक बुनोट बनाएको हुन्छ । जसले उसलाई निरन्तरतामा रहन सिकाउँछ । यही बुनोटमै उ सुरक्षित र शक्तिशाली अनुभव गर्छ ।
त्यो मौलिकता केवल भक्तपुरको मात्र होइन जुम्लाको वा दैलेखको पनि उत्तिकै हो । प्रजातन्त्रपछिका दुइ दशकमा यो मौलिकताको रक्षा जसले गर्यो त्यो केवल मादल चुनाव चिन्हवाला हो । अनि अरूलाइ किन दिने भोट ?
 
भोट ४ – रोजगार, शिक्षा र स्वास्थ्य
 
नेमकिपा नै थियो त्यो जसले नयाँ संविधानमा रोजगारीको ग्यारेण्टी, निःशुल्क शिक्षा र निःशुल्क स्वास्थ्य लेखाउन अन्तिमसम्म लडिरह्यो । संविधानमा संशोधन नै हाल्यो । तर तथाकथित समृद्धिको नारा दिनेहरूले उपहास गरिरहे ।
युवालाइ विदेश पठाउनेहरूको जसले तिव्र विरोध गर्यो अझै गरिरहेछ । कसरी उसले रोजगारीको सिर्जना गर्न सक्दैन भनेर विश्वास नगर्ने ? र, जसले देशैभर म्यानपावर कम्पनीको सञ्जाल बनाएका छन् तिनले रोजगार सुनिश्चित गर्छन् भनेर विश्वास गर्ने ?
जो स्वदेशमै रोजगारको सुनिश्चतताको निम्ति लडिरहेछ, त्यसको चुनाव चिन्ह मादल हो । अनि मादलमा नदिए केमा दिने भोट ?
नेपालमा त्यो मात्र एउटा नगरपालिका हो, जसले झण्डै विश्व विद्यालको प्रारूप निर्माण गरिसकेछ । के कसैले सोचेको थियो, एउटा सानो आकारको नगरपालिका आफैले यत्रो शैक्षिक संस्था निर्माण र सञ्चालन गर्नसक्छ ?
जबकि दुइ-दुइवटा औद्योगिक क्षेत्र भएको नगरपालिकाले पनि आँट गरेको छैन । किनभने नेमकिपा बाहेक अरू सबै राजनीतिक दलको लागि शिक्षा व्यापारको अखडा हो । नपत्याए राजधानीका नामी विद्यालय, क्याम्पस देखि मोफसलका कलेज, बोर्डिङ स्कुलसम्मको सञ्चालक समितिको सूची हेरेहुन्छ ।
‘एउटा मेडिकल कलेज’ । उसले वर्षौंदेखि स्थापना गर्न चाहेको हो । समुदायमा आधारित । नगरपालिका मातहतकै । तर, स्वास्थ्य-शिक्षालाइ व्यापार बनाउनेहरूले सिन्डिकेट बनाए । गुणस्तरमा मोलमोलाइ गरेर भएपनि नाफा कुम्ल्याइरहेछ । विडम्बना त्यो बुढो डाक्टर पटकपटक भोक हड्तालमा बसिरहे ।
समुदायमा आधारित, सेयरमा होइन, नगरपालिका सञ्चालित अस्पताल र मेडिकल शिक्षा जसले बनाइरहेछ त्यसलाइ दिने भोटको चिन्ह मादल नै हो ।
भोट ५ – लैंगिक समानता
प्रत्येक वडामा शिशुस्याहार केन्द्र र बालोद्यान ताकि महिलालाई चुलोचौकोबाट बाहिर ल्याउन सकियोस् । कामकाजी बनाउन सकियोस् । आर्थिक सक्षमता नै महिला मुक्तिको पहिलो आधार हो । यो उसको अहिलेको नारा होइन । संविधानमै लेखाउन संघर्ष गरेको हो । अनि कसरी विश्वास नगर्ने लैंगिक समानता उसको मुद्धा हो भनेर ?
अर्को भोट पनि उसैलाई ।
भोट ६ – लोकतन्त्रको निरन्तरता
आवधिक निर्वाचनमार्फत् जनप्रतिनिधिको छनौट लोकतन्त्रको न्यूनतम आधार हो । स्थानिय सरकार लोकतन्त्रको जग हो । स्थानिय सरकारलाई १५ वर्ष कसले कर्मचारीको हातमा पार्यो ? के कसैले जवाफ दिनुपर्दैन ?
राज्य पुनःसंरचनाको नाममा भागबण्डाको राजनीति शुरू गरेर केन्द्रदेखि स्थानिय तहसम्म दलभित्रका केही झुण्डको शासन चलाएर लोकतन्त्रको हुर्मत लिने को हो ? माओवादी, एमाले, काँग्रेस, मधेसवादी ।
जबकि नेमकिपामात्र त्यो दल हो जसले नया संरचना नबन्दा पुरानैमा भएपनि चुनावको माग गर्यो । नभए पुरानो स्थानिय निकायको पुनःस्थापना गरी माओवादीलाइ समावेश गर्ने प्रस्ताव गर्यो । तर, झुण्डको स्वार्थ रक्षालाई लोकतन्त्र ठान्नेहरूले मानेनन् । निर्वाचन हुन दिएनन् । जसले लोकतन्त्रको हत्यामा स्वार्थ रक्षा भेट्छन् के ती लोकतन्त्रको हिमायती हुनसक्छन् ?
त्यसैले मादलमा एउटा भोट लोकतन्त्रको निरन्तरताको लागि पनि हो ।
भोट ७ – निर्माणको निरन्तरता, विध्वंसको विकल्प
भक्तपुरमा उसले निर्माण गर्यो । पुराना वैभवको जिर्णोद्वार देखि नव निर्माणसम्म । निर्माण अब उसको अनुभव भइसकेको छ । त्यसैले मादलमा भोट हाल्नुको अर्थ भक्तपुरमा निर्माणको निरन्तरता हो ।
भक्तपुर बाहिर जहाँ आजसम्म अरू दलले हालीमुहाली गरे सिन्डिकेट र ठेकेदारी हावी गराए, मौलिकता मासे, शिक्षा र स्वास्थ्यलाई व्यापार बनाए । प्राकृतिक स्रोतलाइ कमाइखाने भाँडो बनाए । सार्वजनिक सम्पतिको लुछाचुँडी गरे । त्यहाँ अब विकल्पको आवश्यक छ । त्यो विध्वसंको विकल्प निर्माण हो । निर्माणको चिन्ह मादल हो । अनि मादलमा नहाने केमा हाल्ने भोट ? किन हाल्ने भोट ?
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *