भर्खरै :

टोखामा नेमकिपाको जनसभा

काठमाडौं बैशाख २६ गते । नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले देशको सार्वभौमिकता र स्वतन्त्रताको लागि भारतीय एकाधिकार पुँजी र भारतीय नाकाबन्दीविरुद्ध भारतीय विस्तारवादबाट भएको सीमा अतिक्रमण र नेपाली भूमि डुवानमा पर्ने गरी बनाएका बाँध र तटबन्ध भत्काउनको लागि, साम्प्रदायिकताविरुद्ध सामाजिक एकताको लागि मादल चिन्हमा छाप लगाउन आग्रह गनुभयो ।
नेपाल मजदुर किसान पार्टी काठमाडौं जिल्लाको टोखा नगरपालिका निर्वाचन परिचालन समितिद्धारा आयोजित घरदैलो कार्यक्रम र जनसभामा सम्बोधन गर्दै सचिव सुवालले भारतीय दलालहरुलाई हराउन मादल चिन्हमा छाप लगाउनु पर्ने आवश्यकता औंल्याउनुभयो ।
सचिव सुवालले कोशी, गण्डक, महाकाली, माथिल्लो कर्णाली, अरुण तेस्रोलगायत जलस्रोत भारतीय विस्तारवादलाई दिने सरकार र तिनका पार्टीहरुलाई पराजित गर्न नसके देश सिक्किम बन्ने खतरा भएको उल्लेख गर्नुभयो ।
नेकांको सरकार पंचायतकै निरन्तरता भएको र एमाले र माओवादीको सरकार नेकांकै बाटोमा गएको हुँदा प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको अनुभव नेपाली जनताले गर्न नपाएको उल्लेख गर्दै सचिब सुवालले राप्रपाको राजतन्त्र पुनःस्थापना गर्ने घोषणा म्याद नाघेको औषधी भएको र यसले जनताको रोगको उपचार नहुने बताउनुभयो ।
भारतीय सहयोग नभए नेकां, एमाले, ओरालो लाग्ने र एनजिओ आइएनजिओ नभए एमाले सुन्य हुने उल्लेख गर्दै सचिव सुवालले माओवादी भारतको ट्रोजन हर्स भएको बताउनुभयो ।
नेकां, एमाले ,माओवादी र राप्रपाले निर्वाचनमा पैसा खर्च गरी झुठा आश्वासन, भोज भतेर र सामान नबाँडे देशभरि नेमकिपाका उम्मेदवारहरुको जीत हुने उल्लेख गर्दै सचिव सुवालले भारतको निर्देशनमा संविधान संशोधन गर्ने पार्टीहरु देशभक्त हुन नसक्ने स्पष्ट पार्नुभयो ।
सभामा पार्टीका बैकल्पिक केन्द्रीय सदस्य राजबीर डंगोल, जिल्ला सदस्य बीरबहादुर डंगोल, नगर समिति अध्यक्ष कृष्णमान श्रेष्ठ, प्रमुख उम्मेदवार मदन श्रेष्ठ, उपप्रमुख उम्मेदवार रेविना डंगोल, वडा नं.२ का वडाध्यक्ष उम्मेदवार शोभलाल श्रेष्ठ,वडा नं.३ का वडाध्यक्ष उम्मेदवार सानुबाबु श्रेष्ठले पनि मादल चिन्हमा छाप लगाई जनताका उम्मेदवारहरुलाई जिताउन आग्रह गर्नुभयो ।
घरदैलो र जनसभामा पार्टीको वडा नं. १ का अध्यक्ष उम्मेदवार सुनिल, वडा नं. ९ का अध्यक्ष उम्मेदवार चेतकुमारी(पुजा) बलम्पाकी र अन्य वडा सदस्यहरुको सहभागिता थियो ।

काठमाडौंको तारकेश्वर नगरपालिकामा पनि पार्टीको उम्मेदवारहरुसहित घरदैलो कार्यक्रम र सभा सम्पन्न भयो । मनमैजूमा भएको सभामा पार्टीका केन्द्रीय सदस्य एवं नेपाल क्रान्तिकारी महिला संघका अध्यक्ष अनुराधा थापामगरले नेकां सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनमा सर्वोच्च अदालतका प्रधानन्याधीश सुशीला कार्कीविरुद्ध संसदमा दर्ता गरेको महाभियोग प्रस्ताव सर्वोच्च अदालतबाट खारेज गरी कार्कीलाई पुनर्बहाली गरेको हुँदा देउवा र दाहालले पार्टी नेतृत्व, प्रधानमन्त्री पद र सांसदबाट राजिनामा गर्नुपर्ने बताउनुभयो ।
दुई चरणको चुनाववीच संसदमा बजेट पेश गर्न नहुने हुँदा दोस्रो चरणको चुनाव जेठ १५ गते अगावै सम्पन्न गर्नुपर्ने विचार राख्दै सांसद थापामगरले निर्वाचनको नजिक प्रधानमन्त्री दाहालले उपप्रधानमन्त्रीसहित मन्त्रीहरु नियुक्ति गरेको निर्वाचन आचारसंहिता विपरित भएको हु“दा निर्वाचन आयोगको ध्यानाकर्षण गराउनुभयो ।
सांसद थापामगरले स्थानीय तहमा जनताको सेवा गर्न समर्पित नेपाल मजदुर किसान पार्टीका उम्मेदवारहरुलाई मादल चिन्हमा छाप लगाई विजयी गराउन आग्रह गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *