भर्खरै :

नीलबाराही र चाँगुमा पहिरो र यसका दोषीहरूमाथि कारबाही

नीलबाराही र चाँगुमा पहिरो र यसका दोषीहरूमाथि कारबाही

भक्तपुरको एउटा प्राकृतिक र सांस्कृतिकस्थल मध्यपुर थिमि नगरपालिकास्थित नीलबाराही स्थान यतिखेर पहिरोको चपेटाबाट उठ्न खोज्दै छ । धेरै जनताको श्रमदानमा यसको संरक्षणको काम अघि बढेपछि अहिले सरकारको बजेट पनि परेको छ । यो क्षेत्रको बसपार्कदेखि मन्दिरसम्मको सडक बने पनि पहिरो खतरामुक्त भएको छैन ।
नीलबाराहीको मन्दिर नै खस्ने गरी वरिपरि पहिरो जानुको मुख्य कारण बालुवा उत्खनन् नै हो । यही अवस्था चाँगुनारायण मन्दिरको पनि हुने खतरा बढ्दो छ । चाँगुनारायण मन्दिर वरिपरि बालुवा उत्खनन् धेरै भयो, अझ पूर्ण नियन्त्रण भएको छैन ।
नेपाल मजदुर किसान पार्टीका जनप्रतिनिधिहरू, श्रद्धेय नेता नारायणमान बिजुक्छेँ (रोहित) लगायतले चाँगुनारायण मन्दिर र नीलबाराही मन्दिर वरिपरि बालुवा उत्खनन् रोक लगाउन धेरै पटक संसद्मा आवाज राख्नुभयो । शासक दल र तिनका नेताहरू उत्खनन्मा प्रत्यक्ष वा परोक्ष संलग्न हुँदा उत्खनन् रोकिएन । नीलबाराहीको पहिरो जोखिम सामना गरेको भक्तपुरका जनता चाँगुनारायण मन्दिर रहेको ढिस्को पनि पहिरोमा पर्नेबारे चिन्तित छन् ।
नीलबाराही र चाँगुनारायण मन्दिर रहेको ढिस्को वरिपरि बालुवा उत्खनन् गराउने सरकारी पदाधिकारी र ठेकेदार को को हुन् ? यी सबैको लगत जनताले राख्नु जरूरी छ । नीलबाराही परिसरजस्तै चाँगुनारायण परिसर पनि पहिरोमा परे सम्बन्धित अधिकारी र ठेकेदारलाई जवाफदेही बनाउनु जरूरी छ ।
नीलबाराहीको पर्यावरण पनि असन्तुलित भएको यथार्थ त्यहाँ यसअघि वन्यजन्तु बाँदर चारसय हाराहारी पुगेको अहिले ६०–७० मात्र बाँकी रहेको स्थानीयले बताएका छन् । पर्यावरणीय सन्तुलन कायम गर्नेतर्फ पनि सरकारको ध्यान जानु जरूरी छ ।
– अर्जुन थापा, भक्तपुर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *