भर्खरै :

पाकिस्तानका अधिकांश भूभाग लक डाउनमा

इस्लामाबाद, २४ मार्च । दक्षिण एसियाली देश पाकिस्तानमा कोभिड–१९ को संक्रमण हुने मानिसको सङ्ख्या ८ सयभन्दा नाघे पछि पूर्वी पाकिस्तानी क्षेत्र पूर्णतः बन्द गरेको छ । दक्षिणी सिन्ध प्रान्त यसअघि नै बन्द गरिएको थियो ।
पञ्जाब सरकारले तरकारी, खाद्यान्न र औषधि पसलबाहेक सबै बजार मार्च २४ देखि अप्रिल ६ सम्म बन्द गर्ने सरकारले घोषणा गरेको छ ।
सिन्ध क्षेत्र पनि सोमबारबाट पन्ध्र दिनको लागि बन्द गरिएको थियो । सरकारले मानिसको आवतजावत बन्द गर्नुका साथै अन्तरप्रादेशिक यात्रा र कुनै पनि खालका भेला बन्द गर्न सूचना जारी गरेको छ ।
बन्दले कोभिड–१९ नियन्त्रणमा विशेष मद्दत पुग्ने आशा गरिएको छ ।
पाकिस्तान सरकारले सामाजिक पृथकता कायम राख्न जारी गरेको सूचना पालना नभए देशका अन्य भूभागमा पनि यस्ता बन्द हुन सक्ने बताएको छ ।
सरकारको निर्णय पालनामा सहयोग गर्न सेनालाई पनि निर्देशन जारी गरेको छ ।
पाकिस्तानमा कोभिड–१९ भाइरसको संक्रमण भेटिएका अधिकांश मानिस इरानमा तीर्थयात्रा सकेर आएका मानिसहरू छन् । संक्रमित तीर्थालु पहिचान गर्न पाकिस्तान सरकारले इरानबाट फर्केका सबैलाई क्वारेन्टिनमा राख्ने निर्णय गरेको छ । उनीहरूलाई दुई साता क्वारेन्टिनमा राखिने छ । बितेका दुई साता यता कोभिड–१९ को पोजेटिभ आउनेको सङ्ख्या अझ बढेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *