भर्खरै :

रौतहटमा कोभिड–१९ को प्रतिरोध

–कुसुम
रौतहट, ११ चैत । विश्वभरि महामारीको रूपमा फैलिएको कोरोना भाइसबाट बच्न उच्च सतर्कता अपनाउन नेपालीहरूले विभिन्न सुरक्षाका उपायहरू अपनाइरहेका छन् ।
तराई क्षेत्रका अधिकांश युवा–पिँढीहरू रोजगारीको लागि नेपाल र भारतका विभिन्न ठाउँमा छन् । कोरोना भाइरस सहर–बजारमा तुरून्तै फैलिने सम्भावना भएकोले ती ठाउँमा गएका अधिकांश युवाहरू आ–आफ्नो गाउँ–ठाउँमा फर्केका छन् । गाउँ–घरमा स्वच्छ हावापानी, ताजा खाना र भीड कम हुने भएकोले ती युवाहरूले सुरक्षाको लागि आफ्नो गाउँ–घरलाई बसाइ रोजेका हुन् ।
स्थानीय सञ्चारमाध्यमले बेला–बेलामा कोरोना भाइरससम्बन्धी जनचेतनामूलक सन्देशहरू सञ्चारमाध्यमबाट दिइरहेकोले यहाँका अधिकांश जनताले सावधानी अपनाइरहेका छन् ।
बच्चादेखि उमेर पुगेका नागरिकहरूले माक्स प्रयोग गर्ने गरेका छन् भने नियमित साबुन–पानीले हात धोई व्यक्तिगत सरसफाइमा ध्यान दिएका छन् ।
सोमबारसम्म जिल्लाका अधिकांश ठाउँहरूमा हातबजार लागे पनि विगतको तुलनामा मान्छेहरूको भीड कम देखिएको छ । तरकारीलगायत दैनिक उपभोग्य सामानहरूको मूल्यमा वृद्धि भएको छ ।
सरकारले मंगलबार देखि देशव्यापीरूपमा लक डाउन गर्ने निर्णयसँगै मंगलबार देखि जिल्लाका अधिकांश विभिन्न ठाउँमा लाग्ने हातबजारहरू पूर्णरूपमा बन्द हुनुको साथै सार्वजनिक तथा निजी सवारी साधनहरू पूर्णरूपमा बन्द भए । हातबजारहरू बन्द भएपश्चात् यहाँका स्थानीय भट्टी पसलमा मान्छेहरू जान पनि छोडेका छन् । कोरोना भाइरसबाट बच्न-बचाउन यहाँका स्थानीय तह र स्थानीय प्रहरी प्रशासनले प्रचारप्रसारका गतिविधिहरू गरिरहेका छन् भने दैनिक उपभोग्य सामानहरूमा भएको कालोबजारीतर्फ स्थानीय प्रशासन र स्थानीय जनप्रतिनिधिहरूबाट कुनै प्रकारको कदम चालेको देखिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *