भर्खरै :

युरोपमा अझै नियन्त्रण बाहिर


रोम
कोरोना भाइरसको महामारीले युरोपलाई सजिलै छोड्ने छाँटकाँट छैन । मंगलबारसम्म युरोपमा भाइरसबाट संक्रमितको संख्या दुई लाख नाघेको छ । संसारमा कूल संक्रमितको संख्यामध्ये आधा संख्या युरोपमा केन्द्रित छ ।
मंगलबार साँझसम्ममा संसारभर कोरोना भाइरस संक्रमितको संख्या चार लाख नाघेको छ । संरा अमेरिकी जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्कअनुसार मंगलबारसम्ममा मर्नेको संख्या १७ हजार ४५४ पुगेको छ ।
पाँच दिनभित्रै युरोपमा भाइरस संक्रमितको संख्या एक लाखबाट दुई लाख पुगेको छ । युरोपेली देशहरूमध्ये सबभन्दा बढी प्रभावित चार वटा देशहरू इटाली, स्पेन, जर्मनी र फ्रान्समा संक्रमितको जम्मा संख्या १ लाख ५० हजार नाघेको छ ।
इटालीको अवस्था
मंगलबार इटालीमा नयाँ संक्रमित र मर्ने दुवैको संख्या बढेको छ । दैनिक सञ्चारकर्मी भेटघाटमा नागरिक सुरक्षा विभागका प्रमुख एन्जेलो बोरेलीले इटालीमा बितेका चौबीस घण्टामा कोरोना भाइरसका नयाँ संक्रमितको संख्या ५ हजार २४९ र मर्नेको संख्या ७४३ जनाले बढेको बताउनुभएको छ ।
बितेका पाँच दिनमा ओरालो लागेको नयाँ संक्रमितको संख्या सोमबार एकाएक ४ हजार ७८९ ले बढेको थियो ।
भाइरसको कारण इटालीमा गत आइतबार ६५० जना र सोमबार ६०२ जनाको निधन भएको थियो । फेब्रुअरी २१ मा उत्तरी इटालीबाट संक्रमण सुरु भए यता गत शनिबार सबभन्दा बढी ७९३ जना मानिसको निधन भएको थियो ।
कोरोना भाइरसको कारण मंगलबार साँझसम्ममा इटालीमा मर्नेको संख्या ६ हजार ८२० पुगेको छ । महामारीको कारण सबभन्दा ठूलो मानवीय क्षति भोगेको देश इटाली बनेको छ ।
भाइरसबाट संक्रमितको कुल संख्या मंगलबार साँझसम्म ६९ हजार १७६ पुगेको छ । चीनबाहेक सबभन्दा बढी संक्रमित भएको देश इटाली बनेको छ । हाल इटालीमा ५४ हजार ०३० मानिस भाइरस संक्रमित छन् ।
इटालीको यस्तो भयावह अवस्थाबीच मंगलबारको नियमित रिपोर्टमा विश्व स्वास्थ्य संगठनले बितेका केही दिन यता नयाँ संक्रमण घटेबाट इटालीको लागि केही सकारात्मक लक्षण पनि देखिएको बताएको छ । तथापि प्रभावको गति उल्टिन भने अझै समय लाग्ने र आगामी दिनको अवस्थालाई गम्भीरतापूर्वक नियाल्नुपर्ने उसले बताएको छ ।
स्पेन र फ्रान्सको खराब अवस्था
युरोपेली देशमध्ये इटाली पछि भाइरसको कारण सबभन्दा प्रभावित देश स्पेन हो । मंगलबारसम्ममा स्पेनमा संक्रमितको संख्या ३९ हजार ३७३ पुगेको छ । तीमध्ये ५ हजार ४ सय स्वास्थ्यकर्मी मात्र छन् । बितेका चौबीस घण्टामा स्पेनमा मर्नेको कुल संख्या २ हजार ६९६ पुगेको छ ।
अर्को युरोपेली देश फ्रान्समा भाइरसको कारण बितेका चौबीस घण्टामा मर्नेको संख्या २४० ले बढेको छ । हालसम्म फ्रान्समा मृतकको संख्या १ हजार १ सय पुगेको छ । भाइरसको कार(ा सबभन्दा बढी मानवीय क्षति भोग्ने देशमध्ये फ्रान्स चौथो नम्बरमा परेको छ ।
फ्रान्समा सोमबार यता नयाँ संक्रमणको संख्या २ हजार १५३ पुगेको छ । अहिलेसम्म त्यहाँ संक्रमितको संख्या २२ हजार ३०२ पुगेको स्वास्थ्यका महानिर्देशक जेरोमी सालोमनले भन्नुभयो ।
फ्रान्समा जम्मा १० हजार १७६ जना मानिस अस्पतालमा भर्ना भए । तीमध्ये २ हजार ५१६ जना सघन उपचार एकाईमा भर्ना छन् । सालोमनलले भन्नुभयो,“हामी अझै पनि खराब अवस्थातिर उन्मुख छौं ।”
जर्मनीमा बितेका चौबीस घण्टामा संक्रमितको संख्या ४ हजार ७६४ ले बढेको छ । त्यहाँ संक्रमितको कुल संख्या २७ हजार ४३६ पुगेको छ ।  एक हजारभन्दा बढी संक्रमितको संख्या भएका देशहरूमा स्वीट्जरल्यान्ड, बेलायत,  नेदरल्यान्ड, अस्टे«या, बेल्जियम, नर्वे, पोर्चुगल, डेनमार्क, चेक गणतन्त्र, आयरल्यान्ड र लक्सम्बर्ग हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *