भर्खरै :

यसरी चकनाचुर भयो ट्रम्पको घमण्ड

काठमाडौं, १४ चैत ।
केही दिनसम्म संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कोभिड–१९ भाइरसलाई ‘चिनियां भाइरस’ भनेर थाकेका थिएनन् । विश्व स्वास्थ्य संगठनले नोवेल कोरोना भाइरसलाई औपचारिकरूपमा कोभिड–१९ भनी नामकरण गर्दा पनि उनले सो भाइरसलाई ‘चाइनिज भाइरस’ भन्ने जिद्दी छोडेका थिएनन् । कोभिड–१९ को सङ्क्रमणको लागि चीन दोषी भएको देखाउने उनको उद्देश्य प्रस्ट थियो । ट्रम्पको नियमित पत्रकार भेटघाटमा केही पत्रकारले उनलाई ‘कोभिड–१९ भाइरसलाई चाइनिज भाइरस भन्नु जातिवादी भएको र यसले युरोप र संरा अमेरिकामा एसियाली मूल, विशेषतः चिनियां मूलका मानिसमाथि जातीय घृणामा आधारित हमला हुन थालेको थियो सो शब्दावलीलाई निरन्तरता किन दिएको भनी प्रश्न गर्दा अमेरिकी राष्ट्रपतिले हचुवा जवाफ दिए । चीनबाट सङ्क्रमण सुरु भएको भाइरस भएकोले यसलाई चाइनिज भाइरस भनेको भन्ने ट्रम्पको जवाफ वास्तवमा अराजनीतिक र अशिष्ट थियो ।
चिनियाँ मिडियाले ट्रम्पको सो उत्तरको प्रतिउत्तरमा यदि चीनबाट फैलिएकोले कोभिड–१९ लाई चाइनिज भाइरस भन्न मिल्छ भने एचआइभी/एड्सलाई अमेरिकी भाइरस भन्नुपर्ने भने । एचआईभी/एड्स भाइरसको सङ्क्रमण सबभन्दा पहिले अमेरिकामा सङ्क्रमण भएको थियो ।
अन्ततः संरा अमेरिकी राष्ट्रपति आफ्नो जिद्दीबाट फिर्ता हुन बाध्य भएका छन् । शुक्रबार उनले गरेको ट्वीटले अमेरिकी साम्राज्यवादी घमण्ड चकनाचुर भएको पुष्टि गरेको छ । कोभिड–१९ भाइरसलाई केही दिनअघि चाइनिज भाइरसको रटान लगाइरहेका उनले सो ट्वीटमार्फत कोभिड–१९ को प्रतिरोध लडाइं चीनसंगको सहकार्यबिना जित्न असम्भव भएको प्रस्ट सङ्केत गरेका छन् । ट्वीटमा उनले लेखेका छन्,“चीनका राष्ट्रपति सीसंग भर्खरै निकै राम्रो कुराकानी भयो । हाम्रो ग्रहको ठूलो हिस्सालाई आक्रान्त बनाएको कोरोना भाइरसको विषयमा विस्तारमा छलफल भयो । चीनले यसबाट धेरै हदसम्म पार पाइसकेको छ र भाइरसबारे बलियो बुझाइ विकास गरिसकेको छ । हामीसंगै काम गरिरहेका छौं । हार्दिक सम्मान ।”
उनले ट्वीटमा कोभिड–१९ भाइरसलाई यसअघिका ट्वीटमा जस्तो चाइनिज भाइरस, विदेशी भाइरस वा लुकेको शत्रुमात्र नभनेको होइन, बरु उनले कोभिड–१९ विरुद्ध चीनले हासिल गरेका अनुभव र सफलताको समेत प्रशंसा गरेका छन् ।
संरा अमेरिकामा कोभिड–१९ भाइरस सङ्क्रमितको सङ्ख्या सबभन्दा बढी भएको संरा अमेरिकी जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्क सार्वजनिक भएकै दिन ट्रम्पले चिनियां राष्ट्रपति सीसंग फोन वार्ता गरेका छन् । कोभिड–१९ को सङ्क्रमण यता संसारको नियमित अभिलेख राख्दै आएको जोन्स हप्किन्स विश्वविद्यालयअन्तर्गतको विज्ञान र इन्जिनियरिङ प्रणाली केन्द्रले बिहीबारबाट सङ्क्रमितको सङ्ख्यामा सबभन्दा अग्रभागमा संरा अमेरिका आएको देखिएको छ । संरा अमेरिकामा हाल ८६ हजार ०४३ मानिसमा भाइरसको सङ्क्रमण देखिएको छ ।
चिनियां मिडिया सिन्ह्वाले जनाएअनुसार ट्रम्पसंगको फोन वार्तामा सीले कोभिड–१९ को सङ्क्रमण भएयता चीनले सोसम्बन्धी सूचना समयमै सम्प्रेषण गरेको बताउनुभयो । उहांले हाल चीनले सो भाइरसको सङ्क्रमण रोकथाम, नियन्त्रण र उपचारबारे आफूसंग भएको जानकारी निःशर्त सबैलाई बांडिरहेको बताउनुभयो ।
सीले कोभिड–१९ विरुद्ध लडिरहेका देशलाई आवश्यक परे चीनले आफू सक्दो सहयोग गर्दै आएको बताउनुभयो ।
उहांले विश्वव्यापी महामारीविरुद्ध चीनले हाल गर्दै आएका कामलाई निरन्तरता दिने र अन्तर्राष्ट्रिय समुदायसंग सहकार्य गर्ने बताउनुभयो ।
सीले महामारीले कुनै राष्ट्रिय सिमाना वा जाति नचिन्ने, बरु यो सम्पूर्ण मानव जातिको साझा शत्रु भएको चर्चा गर्दै सबैको साझा प्रयासबाट मात्र अन्तर्राष्ट्रिय समुदायलाई पराजित गर्न सकिने बताउनुभयो । उहांले विश्व स्वास्थ्य संगठनलाई अझ प्रभावकारी भूमिका खेल्न सक्षम बनाउन चीन संरा अमेरिका र अन्य देशसंग काम गर्न तयार रहेको बताउनुभयो ।
सीले महामारी नियन्त्रण र रोकथामसम्बन्धी सूचना र अनुभव आदानप्रदान सशक्त बनाउन, वैज्ञानिक अनुसन्धानको गति तीव्र बनाउन र विश्वव्यापी स्वास्थ्य व्यवस्थामा सुधार गर्न चीन सबैसंग सहकार्य गर्न चाहेको प्रस्ट पार्नुभयो ।
वार्तालापमा कोभिड–१९ विरुद्ध संरा अमेरिकी प्रतिरोध सङ्घर्षमा चीनले संरा अमेरिकालाई आफूले सक्दो सहयोग गर्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *