– राकस्था
देश लक डाउनमा छ । जताततै सन्त्रास देखिन्छ, कतै नेपालले इटाली, स्पेनका नागरिकको नियति त भोग्नुपर्ने होइन ! कहिले कता के हुने, कताबाट कुन अशुभ समाचार सुन्नुपर्ने हो भन्दै खुइय् गर्दै गरेका मानिस धेरै भेटिएलान् खोजिपस्ने हो भने । सामाजिक सञ्जालमा थुप्रै मानिसका सुस्केराहरू छरपस्ट छन् । सञ्जालहरूमा सावधानीका सन्देशले भरिभराउ छन् । कसैलाई ज्वरो आयो भन्दा पनि कान ठाडा हुने र त्यो कुरा एक कान दोकान हुँदै मैदान हुने दिन पनि आए । ज्वरोको मतलबै नगरी हिँड्ने नेपालीलाई त्यही शब्दले पनि पिरोल्न पो थाल्यो त ! ‘मान्छेदेखि मान्छे डराउनुपर्ने, सशङ्कित हुनुपर्ने ! यो के बेला आयो !’ यी सुस्केराहरू बेतुकका होइनन् । फेरि प्रश्न उठेको छ, सामाजिक प्राणी कतै असामाजिक त बन्दै छैन ? आफूमात्र बाँच्ने, असक्त वा कमजोर जेसुकै होस् भन्ने वातावरण त बनिरहेको छैन ? एउटा रोगले के मानिसको चिन्तन प्रणालीमा यत्रो परिवर्तन
गर्नसक्छ ?
मृत्यु सबभन्दा भयङ्कर हुँदोरहेछ । सोच्दै छु, उपचारको निम्ति तड्पिइरहेका इटालीका मानिसको चिच्याहट कस्तो होला ¤ बाँच्ने आशा भएकाको मात्र उपचार गर्ने निर्णय गर्न विवश चिकित्सकको मनोदशा कस्तो होला ¤ युरोपले कुनै महामारी फैलिने कहिल्यै कल्पना गरेको थिएन सायद । विकास र सभ्यताको निर्यात गर्ने युरोपले कुनै सरुवा रोगको यति भयङ्कर सङ्क्रमण फैलिने सायद कल्पना पनि गरेको थिएन । सरुवा रोग त एसिया वा अफ्रिकाका निर्धन देशका मात्र विषय भनी आँखा चिम्लिरहेका युरोपेलीको निद्रा भङ्ग भएको छ । यतिखेर एकजनाको व्यक्तिगत जीवनले समग्र समाजसमेत कति प्रभावित हुँदोरहेछ भन्ने सायद अहिले बढ्ता हृदयङ्गम गर्दै छन्, युरोपेलीहरू । व्यक्तिगत स्वतन्त्रता नै मुख्य भन्दै मनलागी गर्न खोज्दा समाजले कति धेरै मुल्य चुकाउनु पर्दोरहेछ भन्ने पनि बिस्तारै आत्मसात गर्दै होलान् पश्चिमी समाज । आफ्नो आँखा अगाडि आफ्ना प्रियजन गुम्दा पनि निरीह भई बस्नु पर्दाको चोट कस्तो हुन्छ भन्ने कोरोना भाइरसले ताण्डव मच्चाएका मुलुकका नागरिकसँग सोध्दा होला ।
केटाकेटी छँदा एचआइभी भाइरसको कुरा पहिलो पटक सुनेका थियौँ । एचआइभी भाइरससँगै हामीले भाइरस शब्दको परिचय पाएको भन्दा फरक पर्दैन । एचआइभीबाट एड्स हुने र त्यस रोगको कुनै उपचार नभएको कुरा शिक्षकबाटै पहिलो पटक सुनेका थियौं हामीले । एड्स एउटा प्राणै लिने रोग भन्ने बुझेपछि डर नलाग्ने कुरो भएन । त्यतिबेला पत्रिकाको पनि त्यति चल्ति थिएन, न त रेडियो, टीभी वा अन्य सञ्चारमाध्यम । इन्टरनेटको त कल्पना पनि थिएन । शिक्षक नै हाम्रो सूचनाको मुख्य बाहक हुन्थे । आज एउटा समाचार क्षणभरमै डढेलोजस्तो फैलिन सक्छ, जसरी कोरोना भाइरसले केही दिनमै हजारौँ मानिसलाई सङ्क्रमित बनाउँदै छ । एड्सबारे हामीलाई त्यति चिन्ता लाग्दैनथ्यो, किनभने त्यो असुरक्षित यौन सम्पर्कबाटमात्र सर्ने कुरा गुरुहरूले बताउनुभएको थियो । त्यतिबेला त्यति गहिरो कुरा बुझ्ने उमेरका थिएनौँ हामी । जे होस् हामीलाई लाग्ने रोग रहेनछ भनी हामी आश्वस्त बनेका थियौँ । तर, कोभिड–१९ त्यसो भएन । कोभिड–१९ स्वासप्रस्वासबाट फैलिने रोग भएकैले यति विद्रुप भएर प्रस्तुत भइरहेको छ ।

जस्तै धनी मानिस पनि कीराजस्तै मर्न थालेपछि जीवन के हो भन्ने चिन्तन गर्न मानिसलाई विवश बनाएको छ । कुनै पनि बेला समाप्त हुने जीवनमा लोभ, पाप, ठगी, ढाँट, छल किन गर्नु ! अर्कालाई ठगेर बनाएको सम्पत्ति नै छाति पोल्ने कारक पो बन्ने हो कि भन्ने चिन्तन आउनु पनि सकारात्मक मान्न सकिन्छ ।

आज देश शान्त छ एक मानेमा । मुर्दा शान्ति भन्न त्यति सुहाउँदैन तर मानिस आफू इच्छाअनुकूल चलफिर गर्न पाइरहेका छैनन् । कतिको रोजगारी गुमेको छ, दैनिक श्रमगरि गुजारा चलाउनेका हातगोडा बाँधिएकोजस्तो अनुभव भएको होला । कतिलाई उकुसमुकुस, इन्तुनचिन्तुको अनुभव भइरहेको होला । कतै खाने, बस्ने, सुत्ने वा पिउने काम बढी भएको भन्ने कुरामा घरमा कचकच पनि भएको होला । कतै अब कसरी पेटमा चारो हाल्ने भनी चिन्ता होला । कतिजना तास खेलेर समय मार्दै होलान् । इन्टरनेटको अत्यधिक प्रयोगको कारण इन्टरनेट सुविधा प्रदायकहरूमा भार बढी परेको छ । एक किसिमले भन्नुपर्दा मानिस इन्टरनेटको काल्पनिक दुनियाँमा रमाउन विवश पनि छन् ।
अघिपछि वातावरणमा धुलो र धुवाँमा भने कमी आएको छ । सडकमा सार्वजनिक र निजी गाडी पनि गुड्न छोड्दा सडक फराकिलो भएको जस्तो अनुभव हुन्छ । एम्बुलेन्सलाई समेत कुनै साइरन बजाउन नपर्नेगरी बाटो खुला छन् । नेपाल बन्द वा आम हड्तालमा पनि यति शान्ति छाएको पाइन्नथ्यो । अन्य बेला कुनै राजनीतिक पार्टीले बन्दको आह्वान गरेको हुन्थ्यो भने अहिले सरकार स्वयम् देश बन्दाबन्दी गर्ने आह्वान गरिरहेको छ । नागरिक स्वयम् आफ्नो स्वास्थ्यको निम्ति भन्दै स्वएकान्तवासमा बसेका छन् । सरकारलाई साथ दिनु आफू सुरक्षित हुनुको सन्देश प्रवाह भइरहेका छन् । चिकित्सक तथा नर्सहरू ‘तपाईँ घर बस्नुस् हाम्रो लागि’ भन्नेजस्ता अनुरोधहरू गरिरहेका छन् । बिरामी नभई अस्पताल जानु कसैको निम्ति रहरको विषय होइन । अस्पतालमा बिरामी थेगिनसक्नु होला भन्ने चिन्ता एकातिर छ भने अर्कोतिर चिकित्सकहरू आफैँ पनि सुरक्षित अनुभव गरिरहेका भेटिन्नन् । बाध्यतामा अस्पताल आउने बिरामीलाई हृदयदेखि स्वागत गर्ने र आत्मियता प्रकट गर्ने वातावरण बनाउने त राज्यले नै हो ।
काठमाडौँको हावा केही दिनमै धेरै सुद्ध भएको हुनुपर्छ । लक डाउनको कारण लाखौं सवारीसाधनले उत्सर्जन गर्ने कालो धुवाँको मुस्लो बन्द हुँदा काठमाडौँको वायुले केही क्षतिपूर्ति पाएको हुनुपर्छ । यता केही दिनदेखि ध्वनी प्रदूषण पनि छैन । गाडीको कर्कश आवाजले ध्यान भङ्ग गर्न छोडेको छ । बाटोमा धुलो पनि उड्न छोडेको छ । घण्टाघण्टामा पुछपाछ वा पोछा लगाउनुपर्ने बाध्यताबाट केही राहत अनुभव भएको हुनुपर्छ सडक छेउछाउका घरधनी वा डेरावालहरूलाई । पर कतै हाँगोमा बसेको आफ्नो साथीलाई बोलाउँदै गरेको धोविनी चरीको आवाज दिउँसै प्रस्ट सुनिन्छ । जुरेली, माटीकोरे, काग, भँगेरा, परेवा, सुगा, बकुल्ला सबैका आवाज कोठाबाटै सुन्न सकिने शान्ति छाएको छ ।
लामो समयदेखि फुर्सदमा पढौँला भनी थन्किएका पुस्तकका पानाहरू विस्तारै पल्टिईंदै होलान् धेरैको । कति नलेखिएका मनोभावहरू कविता बनेर प्रस्फुरित हुँदै छन् । कतिजनाको नकोरिएका चित्रहरू सृजना बनेर प्रकट भइरहेका छन् । आखिर फुर्सतमै त सृजनाको मूल फुट्ने हो । हातमुख जोड्ने दौडधुपमा लागेका हातगोडाहरू साहित्य बनून्, कला बनून्, सङ्गीत नै बनून् ! सन्तोषको वृष्टि गर्ने सृजनाका फूलहरू फुलून् । भान्छा सफा गर्न, कपडा धुन, भुइँमा पोछा लगाउन सपरिवार लागेका दृश्यहरू पनि सामाजिक सञ्जालमा टाँगिएका देखिए, यसले अरूलाई पनि त्यसो गर्न उत्साहित गरिरहेको हुनुपर्छ ।
विश्वभर हजारौँ मानिसको मृत्यु भइरहेको छ । मृत्युलाई कसैले सहजै स्वीकार गर्नसक्दैन । भनिन्छ, ब्रह्मनालमा पल्टिएको लासलाई ‘पानी खुवाउँदा’ को प्रणमात्र मानिसलाई आफ्नै जीवनको क्षणभङ्गुरता बोध गराउँछ । ‘मर्छु भन्ने ख्याल नगर्दा मेरो जीवनका सबै सपना अधुरा भए’ भन्ने बिचार मृत्यशैय्यामा सास फेर्दै गरेको मान्छेको मृत्युचेतकै उपज हुनुपर्छ । मृत्यु स्वाभाविक प्रक्रिया हो, तर असामयिक मृत्युदेखिको डर पनि स्वाभाविक हो । मृत्युसँग सामना गर्ने साहसले भने फरक पार्दछ । आत्मविश्वास र धैर्यले मृत्युलाई पनि जितेका कैयौँ उदाहरण छन् । कोरोना भाइरस सङ्क्रमित हुँदैमा रोग लाग्छ नै र मरिहाल्छ भन्ने होइन । यो रोगले दरो मन गर्न मानिसलाई प्रेरित पो गरिरहेको छ ।
जस्तै धनी मानिस पनि कीराजस्तै मर्न थालेपछि जीवन के हो भन्ने चिन्तन गर्न मानिसलाई विवश बनाएको छ । कुनै पनि बेला समाप्त हुने जीवनमा लोभ, पाप, ठगी, ढाँट, छल किन गर्नु ! अर्कालाई ठगेर बनाएको सम्पत्ति नै छाति पोल्ने कारक पो बन्ने हो कि भन्ने चिन्तन आउनु पनि सकारात्मक मान्न सकिन्छ । आफू राम्रो भएर पुग्दैन, सबैको जीवन सबैसँग जोडिएको पो रहेछ भन्ने यथार्थबोध गर्न सकिए मानिसको अबको समाज सुन्दर हुनेछ । नभए कुनै पनि क्षण बितिजाने जीवनलाई सार्थक बनाउनुबाहेक मानिससँग कुनै उचित उपाय अरु छैन भन्ने चेत सदा साथै राखौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *