मस्को, २८ मार्च । संरा अमेरिकाले भेनेजुयलाका राष्ट्रपति निकोलस माडुरोमाथि लगाएको ‘लागूऔषध आतङ्कवादी’ को आरोप खेदजनक भएको बताएको छ । विश्वव्यापी महामारीको समयमा कराकसको समयमा नाकाबन्दी थोपर्नु ‘मानव संहारको हतियार’ भएको बताएको छ ।
संरा अमेरिकाले गत बिहीबार भेनेजुयलाका नेता निकोलस माडुरो र अन्य दर्जनभन्दा बढी भेनेजुयाली अधिकारीलाई ‘लागू औषध आतङ्कवादी’ को आरोप लगाएको थियो । भेनेजुयाली नेता माडुरोलाई सत्ताच्युत गर्ने ट्रम्प सरकारको पछिल्लो सिलसिलाअन्तर्गत यस्तो आरोप लगाएको हो ।
माडुरो सरकारलाई लामो समयदेखि सहयोग गर्दैै आएको रुसले अमेरिकाको यस्तो आरोपलाई ‘हाँस्यास्पद’ र ‘जङ्गली’ भएको प्रतिक्रिया दिएको छ । कोरोना भाइरसविरुद्ध संसार लडिरहेको समयमा माडुरो र भेनेजुयाली नेताहरूविरुद्ध यस्तो आरोपप्रति रुसले कडा टिप्पणी गरेको हो ।
“अहिलेको महामारीको समयमा नरसंहारको हतियार बनेको एकपक्षीय अन्यायपूर्ण नाकाबन्दी तत्काल हटाउन हाम्रो मागलाई हामीले पुग्दो दबाब दिन सकेनौं”, रुसी विदेशमन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले भन्नुभयो ।
उहाँले भेनेजुयलालाई कोभिड– १९ को महामारीविरुद्ध लड्न रुसले मद्दत गर्ने बताउनुभयो । भेनेजुयलामा हालसम्म १०७ वटा सङ्क्रमणको केस फेला परेको छ । मस्कोले कराकसलाई कोरोना भाइरस सङ्क्रमण रोक्न मद्दत गर्ने विदेशमन्त्रालयका प्रवक्ताले बताउनुभयो ।
गत साता राष्ट्रपति निकोलस माडुरोले सिङ्गो देशलाई क्वारेन्टिनको घोषणा गर्नुभएको थियो । उहाँले महामारीविरुद्ध प्रतिरोध गर्न अन्तर्राष्ट्रिय मुद्रा कोषबाट आपत्कालीन ऋण लिन संरा अमेरिकी नाकाबन्दी फिर्ता गर्न माग गर्नुभएको थियो ।
कुनै बेला तेलखानीमा निकै धनी भेनेजुयलाको स्वास्थ्य प्रणाली निकै कमजोर छ । हाल त्यहाँ कोभिड– १९ भाइरसको परीक्षण किट र अन्य अत्यावश्यक वस्तुको अभाव भएको देखिएको छ । सबै अस्पतालमा विद्युत् आपूर्ति गर्न भेनेजुयलाले सकेको छैन ।
भेनेजुयला लामो समयदेखि आर्थिक र व्यापारिक नाकाबन्दी झेल्दै आएको छ ।
रुससँगै चीनले पनि भेनेजुयलामा हालसम्म चार हजार वटा परीक्षण किट सहयोग गरेको छ । भेनेजुयला सरकारले तीन लाख भेनेजुयाली जनताको परीक्षण गर्नुपर्ने बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *